आगामी आर्थिक वर्षको बजेट संसदमा आज प्रस्तुत हुने

फाइल तस्बिर

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आउँदो आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै छन् । संसद बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७–७८ बजेट प्रस्तुत गर्नका लागि सबै तयारी पूरा भएको जनाइएको छ ।

मन्त्री खतिवडाले संघीय संसदको संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) बैठकमा बेलुका चार बजे बजेट प्रस्तुत गर्ने तायरी छ ।

आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना सुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चालु आर्थिक वर्षको भन्दा झण्डै ६ अर्ब कम हुने गरी ७५ अर्ब बराबरको बजेट सिलिङ तोकिएको छ ।

आगामी आर्थिक वर्षमा स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशीलगायतका केही महत्वपूर्ण आयोजना सम्पन्न हुने देखिएको छ ।

सरकारको नीति तथा कार्यक्रमका आधारमा केही महत्वपूर्ण र बहुउद्देश्यीय आयोजनालाई सरकारले विशेष ध्यान दिने भएको छ । लकडाउनका कारण केही निर्माणाधीन आयोजनामा समस्या परेको भए पनि त्यसलाई सम्पन्न गर्दै नयाँ परियोजना सुरु गर्ने लक्ष्यसाथ बजेट विनियोजन हुने विश्वास लिइएको छ ।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्