विकास निर्माणका काम सञ्‍चालन हुने भएपछि हेलिकोप्टरबाट इन्धन ढुवानी सुरु

सिमकोट-दुई महिना लामो बन्दाबन्दीकाबीच विकास निर्माण कामहरु सञ्चालनमा आउने भएपछि निर्माण व्‍यव सायीहरुले हेलिकोप्टरबाट इन्धन ढुवानी सुरु गरेका छन्।

सम्झौता भएर पनि इन्धन अभाबले रोकिएका निर्माणका कार्यहरु सुचारु हुने हुदा महंगो हवाई ढुवानी तिरेर पनि इन्धनको व्‍यवस्था गर्नु परेको हो। बन्दाबन्दीमा काम सुचारु गर्नुपर्ने भएपछि मुगुको ताल्चाबाट हेलिकोप्टरमा इन्धन ढुवानी गर्न सुरु गरिएको निर्माण ब्यबसायी बुद्धि रोकायाले बताए।

यसअघि पैदल मार्गबाट मुगुको गमगढीबाट खच्चडमा इन्धन ढुवानी हुदै आएकोमा बन्दाबन्दीले रोकिए पछि मेशिनबाट काम अगाडी बढाउन नसकिने हुदा महंगो हवाई ढुवानी तिरेर इन्धन ओसार्नु परेको हो। इन्धन ढुवानी गर्नका लागि स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयको अनुमति आबश्यक पर्छ।

गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र अन्य बिकासे कार्यालयहरुको सहयोगमा सञ्चालन हुने दुई दर्जन योजनाहरु मेशिनबाट निर्माण गर्नुपर्ने र त्यसका लागि इन्धनको अभाब भएको बेला हेलिकोप्टरबाट ढुवानी सुरु गरिएको हो।

यसका लागि निर्माण ब्यबसायीले पहिले उडानको लागि पैसा जम्मा गर्नु पर्ने त्यसपछि हेलिकोप्टरले ढुवानी गर्ने गरेको छ। बिहीबार तीन फ्लाईटन हेलिकोप्टर इन्धन ढुवानी गरेको छ भने निर्माण ब्यबसायीले एक सय ब्यारेल इन्धन ढुवानी गर्ने तयारी गरि रहेका छन्।

एक फ्लाईटमा हेलिले तीन दशमलब तीन ब्यारेल इन्धन बोक्ने गर्छ । आर्थिक वर्ष सम्पन्न हुन केही समय बाँकी रहेका बेला निर्माण ब्यबसायीले बाध्य भएर हेलिकोप्टरबाट इन्धन ढुवानी गर्नु परेको जनाएका छन्।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्