प्रदेश-२ मा सुरक्षामा खटेका करिब दुई दर्जन सुरक्षाकर्मीमा कोरोना संक्रमण

जनकपुरधाम-पछिल्लो समय प्रदेश-२ मा कोरोना संक्रमण बढेसँगै सुरक्षाकर्मीहरुमा समेत यसको प्रभाव परेको छ। प्रदेश नम्बर २ मा अहिले सम्ममा एक दर्जन भन्दा बढी सुरक्षाकर्मी संक्रमितब भएका छन्।

कोरोनाको महामारीको समय अग्रमोर्चामा खटेका अहिले सम्ममा १५ जना प्रहरी कर्मचारी संक्रमित भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

संक्रमितमा सबैभन्दा बढी बारामा सुरक्षाकर्मी संक्रमित भएका छन्। बारामा प्रहरी निरक्षक एकजना, सई एकजना, प्रहरी हवल्दार १ जना र चारजना प्रहरी जवान गरी ७ जना संक्रमित रहेको बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

त्यस्तै धनुषामा २ जना प्रहरी कोरोना संक्रमित भएका छन्। धनुषामा एकजना असई र १ जना प्रहरी जवान संक्रमित भएका छन्। त्यस्तै सिरहामा प्रहरी उपरीक्षक उमाप्रसाद चतुरवेदीका सुरक्षागार्ड र ड्राइभर गरी दुईजना प्रहरी हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको छ। सप्तरीमा २ जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।

सप्तरीमा आज मात्र बोदे बरसाइन नगरपालिका स्थित चन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस भन्दा पहिले एक जना प्रहरी जवान संक्रमित भएका थिए।

कोरोना भाइरसको महामारीको समय प्रदेशभरमा करिब ८ हजार सुरक्षाकर्मी दिनहु १८ घण्टासम्म सुरक्षामा खटेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सापकोटाले जानकारी दिए। सिमित स्रोतसाधनको बिच यस्तो प्रस्थितिमा सुरक्षाकर्मी सुरक्षाको काम गरीरहेको सापकोटाले बताए। उनका अनुसार प्रहरी सुरक्षाकर्मीहरु विभिन्न संघ संस्थाद्वारा प्राप्त मास्क, पंजा लगायतका सुरक्षासामग्री प्रयोग गरेर फिल्डमा खटेका छन्।

प्रदेशभरमा अहिले सम्म १५ जनामा नेपाल प्रहरीका कर्मचारी संक्रमित भएका छन् भने प्रदेश २ मा अहिले सम्म चार जना नेपाली सेनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। महोत्तरीमा नेपाली सेनाका पृतनपति र एक जना चिकित्सक सहित दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै बारामा समेत २ जना नेपाली सेनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यता सशस्त्र प्रहरीका २ नम्बर प्रदेशका प्रमुख राजु अर्यालले अहिले सम्ममा सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि नभएको बताए।उनले भने, ‘अहिले सशस्त्र प्रहरीको परीक्षण भएको छैन् अब दुई तिनदिनमा सशस्त्र प्रहरीको जाँचको लागि व्यवस्था गर्दैछौँ।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्