रत्नशमशेर थापाको रंगीन मिजास र मेरो बाफिएको हृदय

लेखक निर्मलकुमार थापाको पुस्तक विमोचन कार्यक्रममा गीतकार रत्नशमशेर थापा, लेखक कुमार नगरकोटीलगायत।

लकडाउनको समय चल्दो छ। नेपाली राजनीतिको मिलेमतोको मडारिइरहेको दुषित नेतृत्वले यसरी सास्ती दिइरहेको छ कि त्यसको पीडालाई घरमै सुकाउनुबाहेक अरु हामीसँग कुनै उपाय छैन। सरकारको कथित बन्दाबन्दीको शिकार हामी यसरी भयौँ कि बिना तयारी, हातमा भएको समय पनि ख्यालख्यालैमा सकाएर संक्रमण बृद्धिका सन्देशहरु पढिरहन बाध्य भएका छौँ।

जीवनमा कहिल्यै महामारी जस्तो नामबाट संकुचित भएर अंकगणितमा आत्मसाथ गरिरहेको मृत्युको भयावह अवस्था प्रविधिमैत्री पुस्ताको लागि पहिलो अनुभव हो जुन बिल्कुलै कुरुप ढंगले बढिरहेको छ। यस्तो उपायहीन निस्क्रिय दिनहरुसँग जुझिरहेकाबखत सर्जक रत्नशमशेर थापाको दुःखद् समाचार पाउँदा संवेदना हराएको अनुभूति भइरहेको छ। बिदेशी वाद अंगालेर नक्कली राष्ट्रवादको मुखेलो लाउने नेताहरुले हजारौं पल्ट सुनेरपनि सुर पचाएको, धुन पचाएको अमर गीत ‘जाग लम्क चम्क हे नौजवान हो आफ्नै ढंगले नयाँ रंगले देश सिगार्न यो …’ ले नेपाली भूमिका नेपाली मात्र नभई सारा संसारभरि छरिएर रहेका नेपालीभाषीलाई एकताको सुत्रमा बाँध्ने यस गीतका रचनाकार थापाले हामीलाई छोडेर गएका छन्।

देशको सीमामा छिमेकीले कब्जा जमाएको छ। देश कोरोनाग्रस्त छ तर पनि हरेक नेपालीभित्र देशभक्तिको यो गीत ढुकढुकी बनेर शिर उँचो बनाइरहेको छ। हरेक पल्ट सुन्दा नयाँ तरंग दिएर जाने यो गीत, के पुराना के नयाँ पुस्ता सबैको प्रिय गीत हो। यस्तै प्रिय गीतका रचनाकार रत्नशमशेर थापाको गीति, काव्य लेखन र साहित्यका विभिन्न आयामहरुमा चलाएको मसिरंग हामीले पढेका छौँ, सुनेका छौँ।

सर्जक थापासँगको साइनो थापा थर भएकै कारणले भने होइन तर त्यसको समान संगीतका कारण धेरैपल्ट धेरै ठाउँमा प्रष्ट्याउनुपरेको छ। साहित्यको नेक्सस साँघुरो नेपालमा निकै चौडा छ तर ती नेक्ससहरुको शिकार कहिल्यै भइन र ती मण्डलहरुमा सरिक हुने हुल्लडका साथहरु छोड्दै आएको थिएँ। रत्नशमशेर थापा पनि खाँटी त्यही स्वभावको। कुनै समूहमा नजाने, राजनीतिको कोलाहलदेखि सधैँ टाढा, कार्यक्रमको गरिमा र महत्व हेरेर सहभागी हुने, निश्चित व्यक्तिहरुसँग खुलेर कुरा गर्ने। सधै एकनासको व्यवहार देखाउने र त्यही सक्कली व्यवहारको आवश्यकता दोस्रो व्यक्तिबाट गर्ने उहाँको स्वभाव हो। त्यही क्रममा रत्नशमशेर थापासँग भेट भएको थियो। प्रिय रत्नशमशेर थापालाई कहिलेकाहिँ मैले रत्न दाइ र उहाँले पनि भाइ सम्वोधन गरेको भए पनि उमेरको आँकडा र उहाँको विनोदप्रियताले गर्दा म सधैँ सरसम्बोधनमा सहजता पाउँथे।

कहिल्यै कक्षाकोठामा उहाँको पाठ पढ्न नपाएको म कुराकानीका क्रममा ‘रत्न सर’ भनेरै श्रवणकुमारको रुपमा पछिल्लो दुई दशकको दौरानमा सयौंपल्ट भेटेर एकल तथा सामूहिक कक्षा लिएको छु। हरेक भेटमा म आफूलाई विद्यार्थी महसुस गर्थेँ र उहाँका कालजयी अनुभवयात्राका वर्णनलाई सुनिरहन्थेँ। उहाँका जीवनका धेरै अन्तरंगी घटनाहरुको संग्रह मभित्र छ, सायद मेरो जस्तो मनोदशा उहाँलाई नियमित भेट्ने साहित्य, संगीतका अनुरागी धेरैसँग होला। कतिपय अवस्थामा त घटनाहरुको पुनरावृत्ति हुँदा सुरुवाती उठानपछिको अन्तरालाई जोड्नुपर्दाको हास्य प्रसंग पनि धेरै पल्ट दोहोरिएका छन्। मलाई लाग्छ, ८२ पारको यो बेलामा पनि रंगिन मिजास र फ्रेस मेमोरी लिएर घण्टौंसम्म कुराकानीमा बस्नसक्ने थोरै व्यक्तिहरुमा उहाँलाई भेटेको छु।

कहिल्यै कक्षाकोठामा उहाँको पाठ पढ्न नपाएको म कुराकानीका क्रममा ‘रत्न सर’ भनेरै श्रवणकुमारको रुपमा पछिल्लो दुई दशकको दौरानमा सयौंपल्ट भेटेर एकल तथा सामूहिक कक्षा लिएको छु। हरेक भेटमा म आफूलाई विद्यार्थी महसुस गर्थेँ र उहाँका कालजयी अनुभवयात्राका वर्णनलाई सुनिरहन्थेँ।

नियमित हिंडाइ, चिन्तन–मनन् र सिर्जनाका कारण पनि होला, रत्नसरको सक्रियता मैले भेटेको सुरुका दिनदेखि पछिल्लो भेटसम्म एउटै रह्यो। बरु मेरो समानतामा गडबडीमा आयो होला, मनोदशामा उतारचढाव आयो होला तर उहाँको ठेट शैली ठोसरुपमा प्रस्तुत भएपनि रसादीकारुपमा भित्री आँतले ग्रहण गर्दथ्यो। सृजनाका लामा कुरा, नारायण गोपालले त्रिचन्द्र कलेजको कक्षाकोठामा बेन्च ठटाएर गीत गाएका कुरा, पहिलो खेपमा उनले रत्नसरका गाएरै प्रकाशमा आएका कुरा, अम्बर गुरुङसँग बसेर क्वाएर लेखेका कुरा, शंकर लामिछानेसँगको उठबस, सिउँडी साहित्यिक पत्रिकाको प्रकाशन ताका समकालीन् मित्र द्वारिका श्रेष्ठले हाँकेको लम्पाटा मोटरसाइकलमा बसेको वा बिग्रँदा धकेल्नुपर्दाको रमाइलो, गायक ईश्वर बल्लभको गीत चिन्न र छाम्न सक्ने क्षमता, उक्लँदै गरेका दीप श्रेष्ठको तारिफ, कति हो कति सम्झनाका चाङमा रत्नसरको कमाण्डिङ आवाज पाउँन पर्खिरहेका ऐतिहासिक तथ्यहरु अहिले कतै पर्खेर बसिरहका होलान् भन्ने भान मलाई भइरहेको छ। गोपाल योञ्जनले लेखेका पत्रहरुको संग्रहदेखि भूपि शेरचनसँगका रश्मी रेष्टुराका यादहरु भारतमा उपचार गर्ने क्रममा यंयोगले एउटै अस्पतालमा भेट हुँदा गम्भीर बिमारलाई बिर्साउने हाँसोका छर्राहरु अस्पतालको बेडबाट उडेर सीमा नाघेर नेपालसम्म आई मजस्तै कयौँलाई साहित्यको व्यवहारिक पक्षतर्फ घोत्लन बाध्य बनाएको थियो। सर्जक वास्तवमै व्यहारमा सिर्जनशील हुनसक्यो भने उसको सृजनाले अर्थ राख्छ भन्ने मान्यता रत्न सरको थियो। त्यही कालमा चर्चा पाएका भूपि, शंकर, नारायण गोपाल, अम्बर गुरुङ, गोपाल योञ्जन आदिहरुसँगका अन्तरंगले त्यही संकेत गर्दथ्यो। ती तमाम् मुर्धन्य स्रष्टाहरुसँग बिताएका पलहरुको व्यख्या सुनिरहँदा घण्टौ बितेको पत्तै हुन्थेन। तीन चार घण्टा त यसरी बित्थ्यो, मानौं हामी भर्खर कुरा गर्न बसेका छौँ।

स्वर्गकी रानी, गोरेटो त्यो गाउँको, घुम्तीमा नआऊ है, हे कान्छा ठट्टैमा बैँश जान थाल्यो, बिछोडको पिडा लगायत सैयौं गीतका सर्जक थापाले गायक नारायण गोपाल, नातीकाजी, योगेश वैद्य, प्रेमध्वज प्रधान, गोपाल योन्जनदेखि नयाँ पुस्ताका गायकहरुले कसरी गीतलाई लिन्छन् र गाउँछन् भन्ने बारेमा गीत लेखनको कथा देखि गायनपछि सार्वजनिक हुँदाको अवस्थासम्म आउँदाको प्रेरक स्मृतिका बारेमा बताउँदा लगभग पाँच मिनेटको गीतका पछाडीको संगीत भर्न देखि रेकर्ड हुँदासम्मको लामो यात्रालाई जान्ने अवसर प्राप्त धेरैपल्ट भएको थियो। ती प्रचारमा नआएका प्रसंगहरुका बारेमा अरु कुनै दिन चर्चा गरुँला तर जब नेपाली संगित तथा साहित्यको आधुनिक याम प्रारम्भ भयो रत्नशमशेर त्यही युगका धरोहर हुनुहुन्थ्यो र उहाँको सम्मुखमा बसेर रचनागर्भका बारेमा सुन्न पाउँदा म लगायत धेरै साहित्य तथा संगीतानुगीहरु धन्य भएका छौं।

प्राध्यापक दुर्गाप्रसाद भण्डारीले रत्नसरको दाँतलाई थोते भनेको प्रसंगमाथि स्वयं रत्नसरले भण्डारीसरसँगको रसिक प्रवृत्ति उपर गरेको टिप्पणी, ‘ओ मिस्टर थपघट नगर्नु जे हो त्यही भनेमा मलाई केही छैन, नत्र म खतरनाक मान्छे हो नि ! त्यो त भनिरहन पर्दैन।’ जवाफमा आएको लामो हाँसो र त्यस घटनाको बर्षौपछि सुनेर दंग भएका म–हरु जे हो त्यही भन्नुपर्छ अरु गफ दिने होइन्, रंगरोगन गर्ने होइन भन्ने रत्नसरको स्पष्टवादितादेखि निकै प्रभावित भएका थियौँ।

कविता, गीत, लेख, अन्तर्वार्ताका लागि अनुरोध गर्नेहरुका प्रसंगदेखि लिएर अनुवाद गर्ने चैतन्य उपाध्यायको रिफ्युजल टु दी सेलिब्रेट न्यूइयरको रचनागर्भका बारेमा धैर्यपूर्वक सुनेर नयाँबर्ष शुभकामना पस्कने रत्नसरको शैली देखेर चकित भएको थियो। चक्लाभरीको घाम, ताराका काँचा रंगदेखि अन्य सृजनाका बारेमा सुन्न जान्न पाउँदा नेपाली साहित्य तथा संगीतको ज्युँदो इतिहास बोलिरहेछ र म सुनिरहेछु भन्ने आभाष हुन्थ्यो। ती कुराहरु सुनेर होला, त्यसकालखण्डमा भए गरेका घटनाहरुको साक्षी म पनि एक हुँ भन्ने भ्रम बलियो हुँदै गएको थियो। हिमालयन जाफामा बसेर कफी पिउँदाको बबुरो म आफुलाई इतिहासको रश्मी रेष्टुरा वा पारस होटल वा रेगल टी रुममा बसेर रत्नसर, भूपिहरुका साथ चिया पिइरहेको छु र चुरोटको ठुटो हल्लाउँदै ठट्टा गरिरहेको छु जस्तो लाग्छ।

रत्नसरको ऊर्जामय साथ र सहयोग मैले निर्देशन गरेको, रंग नेपालले निर्माण गरेको नेपालको पहिलो काव्यविषयक वृतचित्रमा निर्माणका क्रममा नेपाली भाषाका अग्रणी कविहरुलाई समेटेर प्रविधिलाई आत्मसाथ गरीएको ‘कविताका रंगहरु’ को निर्माणक्रममा भएको बहुकवि संगोष्ठी भएको पनि लामो समय बितिसकेछ। त्यसपछि बिजौला उपन्यास र सोही उपन्यासको अर्को श्रृंखला युवक र कथासंग्रह एकालापको विमोचनका क्रममा रत्नसरको आतिथ्य दृष्य र मोहक मन्तव्यको सजिव सम्झना हल्लिरहेको छ।

जाने त गइगए, बाँच्नेलाई हुनसम्म भयो … को लय मेरो हृदयमा बाफिइरहेको छ यसबेला। मृत्युको सुरम्य भाकालाई रोकेर रोक्न सकिँदैन। हामी केवल बाँच्न सक्छौं, वा बाँच्न अभिसप्त छौं। यो बचाइँको कारण के हो? त्यही खोजौ र अर्थ, आकार वा गरिमा के दिन सक्छौं त्यही नै वास्तविक जीवन बचाइ हो सायद। नेपाली साहित्यका अमूल्य रत्नदाइलाई हार्दिक श्रद्धाञ्जली, शब्दाञ्जली।

अन्त्यमा रत्नशमशेरको रचना, नारायण गोपालको गायनले श्रवणलोकलाई आलोक पारीदीएको एउटा गीतको अंश:

श्रद्धाको फुल चढाइदिनू
आएर लासमा,
नपाए फूल भइगयो तिमी
रोइदिनू आसमा।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्