बजेटबाट उद्योगी व्यवसायी खुशी

काठमाडौँ – उद्योगी व्यवसायीहरुले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अधयक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागत योग्य भएको बताए।

उत्पादनका लागि आउनुपर्ने आर्यक्रम भने अपेक्षाअनुसार आउन नसकेको उनले बताए। यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझै पनि आशंका गर्ने ठाउँ रहेको उल्लेख गरे।

तर कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको रकम ५० अर्ब रकम न्यून भएको उनले बताए। कोरोनाबाट भएको क्षति कम गर्न सबै क्षेत्रलाई समेटेको छ तर विनियोजन गरेको बजेट अझै अपुग हुने लागेको उनले बताए।

श्रेष्ठले उद्योगी व्यवसायीको सुझाव अनुसार विद्युतमा छुट दिइएको उल्लेख गरे। स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोले स्वागत योग्य भएको उनको भनाइ छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रीत भएको बताए। रोजगारी सिर्जनाका लागि लगानी बढाउने विषयमा आएका विषयहरु राम्रो भएको उल्लेख गरे।

बाहिरबाट आउने व्यक्तिहरुलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकिकरण गर्ने, स्वास्थ्य क्षेत्रमा कसरी अगाडी बढने विषय समेत प्रष्टसँग समेटिएकाले राम्रो भएको दाबी गरे।

होटल संघका पूर्व अध्यक्ष विनायक शाहले कोरोना भाइरसका कारण सबैभन्दा बढी संकटमा परेको पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले उपयुक्त कार्यक्रम ल्याएको बताए।

होटल क्षेत्रमालगायत समग्र पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले धेरै कुरा समेटेको भन्दै खुशी व्यक्त गरे। व्यवसायीहरुको ऋणको ब्याज र साँवा तिर्नका लागि ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी ५० अर्बको पुर्नरुत्थान कोष र एक खर्बको पुर्नसंरचना कोष ल्याउनु सकारात्मक भएको बताए।

यस्तै उद्योग तथा प्रतिस्ठानमा काम गर्ने कर्मचारीको लागि समेत उचित व्यवस्था गरिएको बताए। कर र महसुल छुटका कुरा पनि सकारात्मक रहेको उल्लेख गरे।

आन्तरिक पर्यटन विकासका लागि देश दर्शनको कार्यक्रम ल्याएको छ, एयरपोर्टको स्तरउन्नती गर्ने, पर्यटनका नयाँ गन्तव्य विकास गर्ने लगायतका कुरा आएकाले बजेट स्वागत योग्य छ।

नीति कार्यक्रमहरु राम्रो आएको तर कार्यान्वयन पक्षमा चुनौति रहेको उनले बताए।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्