भारतबाट अर्घाखाँची जाने क्रममा मृत्यु भएका युवामा कोरोना पोजेटिभ

बुटवल- भारतबाट अर्घाखाँची जाने क्रममा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण भएको पाइएको छ।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनको भारतमै निधन भएको हो।

ती युवाको शव कपिलवस्तु ल्याएर पोस्टमार्टम गरिएको थियो र कपिलवस्तुबाटै स्वाब निकालेर परीक्षणका लागि पठा‍इएको थियो।

भैरहवा जनस्वास्थ्य प्रयोगशालामा उनको पिसीआर टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए।

उनको सन्धिखर्कमा अन्त्येष्टि गरिएको छ। उनीसँगै आएका व्यक्तिहरुको तथ्यांक संकलन सुरु गरिएको छ।

उनीहरू भूमिकास्थान नगरपालिकाको क्वारेन्टिनमा छन्। भारतको अहमदाबादबाट फर्किने क्रममा उनको डुम्रियागञ्ज भन्ने स्थानमा बसमै निधन भएको थियो। ३४ वर्षीय युवाको शव लिएर आएका तीन जना भूमिकास्थानको क्वारेन्टिनमा छन्। उनीहरुको पनि पिसिआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्