महिनावारी चेतनाको सुरुवात आफ्नै घरबाट गरौँ

-बसन्त शर्मा

जो महिला र युवतीहरू हफ्तौँदेखि पैदल हिँडिरेका छन्, नाका र सीमामा अलपत्र परेका छन्। कत्तिको त महिनावारी चलिरहेको होला यस बखत। कत्तिको अचानक सुरु भएको नि होला या सुरू हुनै लागेको होला।

यसरी थकाइलाग्दो सफ़रमा अचानक सुरू भएको महिनावारीले गर्दा आफूसँग हिँडिरहेकालाई कसरी पर्खिन या रोकिन भन्न सक्छे र ऊ ? त्यही भएर महिनावारी मा ऊ केही नभनी,आफ्नो दर्दलाई थाँती राखी घर फर्किने आशामा सिमानाको कुनै ठाउँबाट या त छिर्ने प्रयास गरिरहेकी होली या त कुनै अस्तव्यस्त क्वारेन्निनमा ३०-४० पुरूषहरूको नजरबाट जोगिएर महिनावारीसँग जुधिरहेकी होलिन्। यसरी यदि पुरूषहरूको हूलैहूलमा कुनै महिलाको महिनावारी शुरू भइदियो भने, तब ऊस्ले के गरेकी होली!

कसरी म्यानेज गरेको होला ?

खाने र कोखमा काखे बच्चालाई बोकेकी ऊ। खाना र दूध किन्ने पैसा समेत नभएकी उसले प्याड त झन कसरी पो किन्न सक्थिन् र! कुनै कपड़ा भएको भए पनि त लगातार र हफ़्तौँ पैदल हिँड्दा प्रयोग भएको होला, हुलमा बस्दा कहाँ धोएको होला र कसरी सुकाएको होला ? कहिले सोचेको छ ?

यतिका दिन गर्मी र पसिनाले गर्दा झन समस्या माथि समस्या थपिदिएको हुँदो हो, पिल्सिएर, कास लागेर, एलर्जि भएर !

केही मजदूर महिलाहरू सायद गर्भवती पनि थिए होलान्। हाम्रा घरका गर्भवतीलाई थोरै पनि पीडा भयो भने पनि अस्पताल लिएर दगुरिहाल्छौँ । ऊनीहरूले आफ्नो पीडा त्यो हूलमा कस्लाई सुनाएका होलान् र सुनाए पनि उनीहरूको सहायता कस्ले कसरी गरेको पनि होला या नहोला ?

उसको श्रीमानले पनि त्यो बखत़ आफूलाई कति धेरै बेसहारा र निरीह महसुस गरेको होला जो चाहेर पनि केही गर्न सकिरहेको हुँदैन।

एकजना महिलालाई हिँड्दाहिँड्दै सुत्केरी बेथा लाग्छ। उसले बाटोमा नै बच्चालाई जन्म दिन्छिन्। बच्चाको नाल जसोतसो काटिन्छ र २-३ घण्टापछि ऊ फेरि हिँड्न थाल्छिन्, यसरी कि मानौँ उस्लाई केही भएकै थिएन।

हाम्रो घरको सुत्केरी हो भने उसलाई पोषणयुक्त र स्वास्थ्यवर्धक खानेकूराहरू खूवाइन्छ, हेरचाह गरिन्छ। यो त सोच्न पनि सकिन्न कि त्यो महिलामाथि त्यस्तो समयमा, खुला आकाशमुनि त्यस्तो भइदिँदा कति धेरै पीडा र दुखको बाढी एकसाथ आइलागेको होला।

कयौँ महिलाहरूमा यसरी नै महिनावारी सम्बन्धी धेरै समस्या भइसकेको होला र कयौँको कोरोनाको कारणले भन्दा पनि इन्फेक्शन र संक्रमणले गर्दा ज्यान गुमाउनुपर्ने स्थिति समेत नआउला भन्न सकिन्न। त्यसैले महिनावारी भएका किशोरी तथा महिलाका लागि आवश्यक स्वास्थ्य सुविधा यस प्रकारमा ठाउँमा अहिलेको अवस्थामा पुऱ्याउन जरूरी छ।

जुन व्यक्तिको परिवार हूँदैन, ऊ उती संवेदनशील हु्ँदैन यो विषयमा। ऊ दर्द पढ़न र सुन्न त सक्छ तर महसूस भने गर्न सक्दैन। यस्तो महामारीको अवस्थामा महिनावारी स्वास्थ्यको दीर्घकालीन व्यवस्थापनमा सरकार र सरोकार वालाको ध्यान जान अत्यत्न आवश्यक छ।

सानो र सामान्य जस्तो लाग्ने विषय तर यसलाई गहिरिएर अध्ययन गर्ने हो भने यो विषय निकै नै संवेदनशिल छ ।महिलामाथि हुने विभेदको प्रमुख विषय बन्ने गरेको छ। थोरै बोलिने र कम चर्चामा आउने विषय हो तर यही विषयले महिला माथि हिँसा हुने गरेको छ, विभेद भएको छ र कतिपय अवस्थामा महिलाको मृत्युको कारण बन्न पुगेको छ।

यो त केवल एक प्रतिनिधि अवस्था मात्र हो अहिलेको महामारीमा महिनावारी सम्बन्धी समस्या जोडिएको। यस्ता कयौँ अवस्थाहरू छन् जाहाँ एउटा सामान्य चेतना र ज्ञान को अभावमा ज्यान गुमाउनु परेको हुन्छ ।

तसर्थ केवल पात्रोमा मात्र ‘महिनावारी सरसफाइ दिवस’ लाई सीमित नराखेर यसलाई सालभर र हरेक महिलाहरूको पहुँच हुने गरी महिनावारीको बेला ‘महिनावारी सरसफाइसम्बन्धी जनचेतना’ बढाई लागू गर्न अति आवश्यक छ, र सुरूवात आफ्नै घरबाट गर्न जरूरी छ।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्