बजेटबारे विराटनगरमा उद्योगीको मिश्रित प्रतिक्रिया

विराटनगर – आर्थिक वर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्बको बजेटबारे मोरंगका उद्योगी व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। बिहीबार सार्वजनिक भएको बजेटले सबै क्षेत्रलाई मिलाउन खोजेको देखिए पनि लकडाउन तथा कोभिड १९ का कारण थला परेको उद्योग व्यवसायलाई पर्याप्त रुपमा उर्जा दिन नसकेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउतले बजेटले कोभिड १९ महामारीसँगै कृषि तथा स्वास्थ्य क्षेत्रलाई सम्बोधन गरेको बताए। ४० हजार बेरोजगारलाई रोजगारी उपलब्ध गराउने सरकारको घोषणालाई सकारात्मक रुपमा लिएका उपाध्यक्ष राउतले कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै बढावा दिने सरकारको भनाईबाट उद्योगीहरु समेत उत्साहित भएको बताए।

उद्योगीहरुले सामूहिक खेतीलाई प्रोत्साहन गर्न पटकपटक उठान गर्दै आएको बताएका राउतले यसपटक बजेटले सो विषयलाई सम्बोधन गर्नु सुखद भएको प्रस्टाए।

कोरोना प्रभावित उद्योग व्यवसायको पुनः उत्थानका लागि आयकर छुट दिने घोषणाले साना मझौला, होटल, तथा पर्यटन व्यवसाय लाभान्वित हुने उनको भनाई छ।

त्यसैगरि, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले समग्रमा बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। बजेट सुहाउँदो आएपनि कार्यान्वयन पक्ष कसरी अघि बढ्छ हेर्न बाँकी रहेको बताएका अध्यक्ष घिमिरेले उद्योगीहरुले दिएका धेरैजसो सुझाव बजेटमा समाहित भएको उल्लेख गरेका छन्।

अर्कोतर्फ मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाका अनुसार बजेटले राहत दिने अवस्था ल्याउन नसकेको प्रस्टाए। विगतझैँ बजेटमा आशा मात्रै देखाउने काम यसपटक पनि भएको बताएका उद्योगी सारडाले निजी क्षेत्रले अपेक्षा गरे अनुसार बजेट आउन नसकेको गुनासो गरे।

शिक्षा स्वास्थ्यका लागि बजेट सकारात्मक भएपनि उद्योगी व्यवसायीलाई भने सन्तुष्ट रहने स्थान सरकारले दिन नसकेको सारडाको भनाई छ।

उद्योगहरुलाई विद्युतीय शुल्कमा ५० प्रतिशत छुट दिने सरकारको बजेटको विषयमा सारडाले सरकारले आशा देखाउने कार्य मात्र भएको उल्लेख गरे।

कोरोना भाइरसका कारण दिनानुदिन उद्योग क्षेत्र फितलो बन्दै गइरहेको बताएका सारडाले निजी क्षेत्रलाई प्याकेज दिनुपर्ने त्यो नदेखिएको र यसबीच उद्योगीलाई मिनाह दिन नसकेको र कर बढाएको अवस्था पनि नदेखिएको प्रस्टाए।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कोरोनाले थला परेका उद्योग व्यवसायको पुनरुत्थानका कार्यक्रम प्रयाप्त नभएको गुनासो गरेका छन्। अध्यक्ष मुन्दडाले जीवनका लागि बजेट राम्रो भए पनि जीविकोपार्जनका लागि बजेटका कार्यक्रम प्रयाप्त नभएको प्रस्ट पारे।

अर्कोतर्फ, विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बजेटले साना उद्योगी ब्यवसायीको भावनालाई अंगिकार गर्न नसकेको गुनासो गरे।

कोभिड १९ का कारण साना व्यवसायी रुग्ण बनेको बताएका अध्यक्ष थापाले सुविधा कर्जाको विषय बजेटले छुन नसकेको गुनासो गरे।

लकडाउन खुल्ने बेला साना उद्योगी व्यवसायीलाई अवस्था सहज नहुने बताएका थापाले सहुलियत कर्जा आवश्यक हुँदै गर्दा पनि सरकारले कुनै चासो नदिएको बताए।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू