भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउने चीनको भन्दा धेरै

भारतमा बितेको २४ घण्टामा थप ७४६६ जना कोरोना संक्रमित थपिएका छन् । यो भारतमा एकै दिन संक्रमित पुष्टि भएको सबैभन्दा अधिक संख्या रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ४७०६ मानिसको मृत्यु भएको छ । ताजा तथ्याङ्क अनुसार अब भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चीनको भन्दा धेरै पुगेको छ ।

चीनमा कोभिड–१९ का कारण ४६३८ मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । भारतमा अहिलेसम्म एक लाख ६५ हजार ७९९ संक्रमित पुष्टि भएका छन् ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या बढेर ५८ लाख तीन हजार भन्दा धेरै पुगेको छ । कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ६० हजार पुगेको छ ।

अमेरिका विश्वकै सबैभन्दा धेरै प्रभावित देश हो । अमेरिकामा १७ लाख २० हजार भन्दा धेरै संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या एक लाख एक हजार भन्दा धेरै छ ।

संक्रमणका हिसाबले ब्राजिल दोस्रो धेरै प्रभावित देश हो । ब्राजिलमा ४ लाख ३८ हजार भन्दा धेरै संक्रमित छन् भने मृतकको संख्या २६ हजार भन्दा धेरै पुगेको छ ।

रुसमा ३ लाख ८० हजारको हाराहारीमा संक्रमित छन् भने ज्यान गुमाउनेहरु तुलनात्मक रुपमा कम छन् । रुसमा अहिलेसम्म चार हजार भन्दा केही धेरैले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

२ लाख ७० हजार भन्दा धेरै संक्रमित रहेको बेलायतमा ३८ हजार भन्दा धेरैको मृत्यु भएको छ। स्पेनमा २ लाख ३७ हजार स्रंक्रमित छन् भने त्यहाँ मृतकको संख्या २७ हजार भन्दा धेरै छ ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्