होटलमा २२ वर्षीया स्वास्थ्यकर्मीद्वारा आत्महत्या: दुई श्रीमतीका श्रीमानसँग प्रेम सम्बन्धमा थिइन्

सांकेतिक तस्बिर।

काठमाडौं- तेह्रथुमको म्याङलुङ नगरपालिका- १ बसपार्कस्थित सन्तोषी होटलमा गत मंगलबार अपरान्ह २२ वर्षीया युवती झुन्डिएको अवस्थामा फेला परिन्।

नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ चार दिनयता बसिरहेको होटलको कोठामा ती युवती मृत अवस्थामा भेटिएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती जेठ १२ गत त्यहाँ बस्न आएको पाइएको छ।

मोरङको उर्लाबारी घर भएकी ती युवती अविवाहित हुन्। उनी तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा काम गर्दै आएकी थिइन् डेढ वर्षयता। अनुसन्धानमा तामाङ ठेक्केदार रहेको र उनीपनि सोही स्वास्थ्यचौकीको निर्माण सम्बन्धी काममा संलग्न रहेको पाइएको छ।

तेह्रथुम प्रहरी प्रमुख नवीन प्रधानले तामाङ र ती युवती एक वर्षयता प्रेम सम्बन्धमा रहेको र श्रीमान-श्रीमती जसरी बसिरहेको पाइएको बताए। उनले भने- म्याङलुङमा कोठा लिएर बस्ने तयारीसमेत भएको रहेछ। कोठासमेत खोजी गरिरहेका रहेछन्।

उनले ती युवतीले आत्महत्या नै गरेको तर त्यसको कारण भने खुल्न नसकेको बताए। उनले भने- तामाङले त्यस्तो कुनैपनि विवाद र सम्बन्ध बिग्रिएको अवस्था नभएको बताएका छन्। म्याङलुङबाट एक घण्टाको बस यात्रापछि मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकी पुगिन्छ। ती युवती स्वास्थ्यचौकीमै रहेको क्वाटरमा बस्दै आएकी थिइन्।

अनुसन्धानका क्रममा ३८ वर्षीया तामाङका दुई वटा श्रीमती रहेको पाइएको छ। उनका दुवै श्रीमती नुवाकोटमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले आत्महत्या दुरुत्साहन कसुरमा तामाङमाथि अनुसन्धान अगाडि बढाएको छ।

जेठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्