रत्नशमशेर थापालाई प्रेमध्वज प्रधानको श्रद्धाञ्जलि, ‘लकडाउनले अन्तिम बिदाइ गर्न जान सकिनँ’

काठमाडौँ– वरिष्ठ गीतकार, साहित्यकार रत्नशमशेर थापा विहीबार, जेठ १५ गते संसारबाट बिदा भए। छातीमा समस्या आएपछि नर्भिक अस्पतालमा उपचार गरिरहेका थापाको ८१ वर्षको उमेरमा निधन भएको हो।

आफ्नो जीवनको ६ दशकभन्दा बढी समय गीत लेखनमा बिताएका उनले यो कर्मलाई जीवनको हिस्सा मानेका थिए। साहित्यका धेरै विधामा कलम चलाएका उनले विभिन्न अन्तर्वार्तामा भनेका छन्, ‘लेख्दा लेख्दै रात बित्थे, लेख्दा अचम्मको आनन्द आउँछ।’

मानविकीमा स्नातकोत्तर पढेका थापाले नातिकाजी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नारायण गोपाललगायत थुप्रै स्रष्टाहरुसँग काम गरेका छन्। उनी लिखित ‘स्वर्गकी रानी’ स्वरसम्राट नारायण गोपालले स्वर भरेका थिए, धेरै चर्चित थियो। यो बाहेक उनले लेखेका घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, विछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो, पन्छीमा राम्रो डाँफे, जाग लम्क चम्क हे, गोरेटो त्यो गाउँको लगायतका गीतहरु अहिलेसम्म पनि चर्चित छन्।

उनका राम्रो संगतमा परेका गायक प्रेमध्वज प्रधान हुन्। उनीहरु एक समयमा जोडी समूह बनाएर गफिने टोली थिए। रत्नशमशेरको सम्झनामा प्रधान भन्छन्,

‘साल ठ्याक्कै भन्न सक्दिन, १०, १२ सालतिरको कुरा हो । हामी त्यतिबेला ४ जनाको समूह थियौँ। नारायण गोपाल, मणिकरत्न, म अनि रत्न। हाम्रो जमघट हुन्थ्यो, संगीतको बारेमा कुराकानी हुन्थ्यो।

उहाँ मेरो साथी हो,

त्यो बेलामा मनोरञ्जनको लागि केही अरु सामग्री थिएनन्। रेडियो नेपाल मात्र थियो। गीत कम्पोज गर्‍यो भने उहाँले शब्द लेख्नुहुन्थ्यो। मैले रत्नले लेखेको पहिलो गीत ‘गोरेटो त्यो गाउँको’ गाएको हुँ, यो गीत गाएर म प्रतियोगितामा प्रथम पनि भएको थिए। उहाँले नै लेखेको अर्को गीत ‘घुम्तीमा नआऊ है’ पनि चर्चित भयो, जम्मा मैले २०, २२ ओटा गीत उहाँसँग मिलेर गाए होला।

उहाँ मुक्तक वाचक, कवि हो। उहाँले आफूले लेखेको सिर्जना मनबाटै भन्नुहुन्थ्यो, कापी हेर्नु पर्दैनथ्यो। उहाँको स्मरण शक्ति राम्रो थियो, त्यो उहाँको खुबी हो। उहाँको अर्को खुबी भनेको उहाँ धुन सुनेर लेख्न सक्नुहुन्थ्यो। उहाँलाई संगीतको राम्रो ज्ञान थियो। परिवार पनि संगीतमा जानकार थियो।

दुई महिनाअगाडि उहाँलाई शिक्षण अस्पतालमा म भेट्न गएको थिएँ। उहाँलाई दाहिनेपट्टि ढाडमा समस्या थियो। मैले भेटेको ७ दिनपछि शल्यक्रिया भएको थियो। शल्यक्रिया अगाडि वर्षमा दुई, तीन पल्ट भेटघाट हुन्थ्यो। घर ल्याएपछि फोन गर्दा उहाँको श्रीमतीले घाम ताप्दै छौँ भन्नु भएको थियो। पहिला पनि उहाँको आँख्लामा दुख्ने समस्या थियो। म उहाँलाई नर्भिक लगिएको बारेमा पनि जानकार थिएँ। लकडाउनले भेट्न जान पाइएन। पछि उहाँ बितेको थाहा पाए।

हामी संगीतका माध्यमले जोडिएको थियौँ, सधै सँगै काम नगरे पनि साथी रहिरह्यौँ। गीत रेकर्डिङमा डिजिटल प्रविधि आइसकेपछि हामी यसको बारेमा कुराकानी पनि गथ्यौँ। हाम्रो पालाका प्रत्यक्ष रेकर्डिङ गथ्यौँ।

उहाँ प्रस्ट वक्ता पनि हो। नचाहिने कुरा गर्‍यो भने राम्ररी जवाफ दिनुहुन्थ्यो, मन्त्रीलाई पनि बाँकी राख्नुहुन्थेन, ‘फ्रयाँक’।

हामी कहिले घरमा नै जम्मा हुन्थ्यौँ। कति गफ हुन्थे, २० वर्ष अगाडिको समय, कुराकानी सम्झिँदा पनि आनन्द लाग्छ। तर धेरै साथीहरु सम्झनामा मात्रै छन् अब । अन्तिमपल्ट भेट्दा खुट्टामा मात्र समस्या थियो । अहिले केही होला भन्ने सोचेको थिइन।

लकडाउन छ, प्रहरीले हिँड्न दिँदैन, म उहाँलाई अन्तिम बिदाइ गर्न जान पाइन, निरीह भएर बसेको छु।’

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्