कोरोनाले सिकाउँदै छ नयाँ वैश्विक यात्रा

कोरोना संकटपछिको विश्वबारे मान्छेले मनमा धेरै थरि कुरा र तर्क विर्तकले डेरा जमाउन थालेको छ। हुन त यो महामारीको समाधान कहिले हुने र पुरानो सामान्य अवस्थामा फर्कने कहिले भन्ने प्रश्न अझै अनुत्तरित नै छ, तथापि विज्ञान प्रविधिले धेरै पक्षमा जितेको युगमा आशावादी हुने ठाउँहरु भने छन्।

कोरोनापछिको अर्थात पोष्ट कोरोना युगको प्रवेशसँगै विश्व व्यवस्था, विश्व गतिशीलता, विश्व सम्बन्ध र विश्व नायकत्वजस्ता विषयहरुमा के कस्ता परिर्वतन र सम्भावनाका लक्षण देखापर्ने छन् भनेबारे दिग्गज अन्तर्राष्ट्रिय सम्बन्ध शास्त्री, राजनीतिशास्त्री, अर्थशास्त्री, समाजशास्त्री र रणनीतिकारहरुले अध्ययन, अनुसन्धान, विश्लेषण थालिसकेका छन् पक्कै पनि। किनकी विश्वव्यापी महामारी र विश्व युद्ध जस्ता ठूला घटनाहरुले सिर्जना गर्ने, खोल्ने, देखाउने पक्षहरु विश्वव्यापी हुन्छन्, बहुपक्षीय र बहुकोणीय हुन्छन्। विगतमा पनि त्यो भएको छ र अहिलेको अति प्रतिस्पर्धात्मक, स्वार्थप्रेरित युगमा त झन् वृहत रुप र आकारमा यो हुने छ। अवश्य पनि भइरहेको सिद्धान्त, नीति व्यवहार, प्रचलन र व्यवस्था तथा सम्बन्धहरुमा वृहत बदलाव आउने छ। यो पुनःमूल्यांकन गर्ने, पुनःसंरचना गर्ने, सम्बन्ध र व्यवहारका आयामहरुमा विचार गर्ने बेला हुनेछ आ–आफ्ना दृष्टिकोण, बुझाइ र भोगाइका नियतहरुबाट पनि। भौतिक–आध्यात्मिक पक्ष, खानपान, जीवनशैलीजस्ता कुराहरुमा पनि कोरोना संकटले मानिसलाई सोच्न र बानी व्यहोरा बदल्न बाध्य पर्ने छ।

निकै लामो समयसम्म पृथ्वी र यसको वरिपरीको ब्रम्हाण्डले मानव अतिक्रमण, उग्र व्यवहार र दौडादौडको पिरलोबाट मुक्त भएर आफ्नो स्वभाविक र प्राकृतिक गतिमा एउटा समयपछिको स्थीरता र ठहरावको मौका मिलेको छ।

छोडिसकेका पुराना राम्रा कुरा र प्रणाली, व्यवहारलाई ग्रहण गर्न एकपटक सम्झाउने छ पुनः। निकै लामो समयसम्म पृथ्वी र यसको वरिपरीको ब्रम्हाण्डले मानव अतिक्रमण, उग्र व्यवहार र दौडादौडको पिरलोबाट मुक्त भएर आफ्नो स्वभाविक र प्राकृतिक गतिमा एउटा समयपछिको स्थीरता र ठहरावको मौका मिलेको छ। पृथ्वी, जल र स्वच्छ अन्तरिक्षमा समेत प्रदूषण जमेको छ र यो अवस्था पृथ्वी लगायत अन्तरिक्षको उर्जा र चेतनामा नयाँ ताजगी भर्ने मौकाका रुपमा आएको छ। मानिसहरुको पृथ्वीमा दोहन, खोदन र असन्तुलनको चरम सीमा नाघेका बेला पृथ्वी–प्रकृतिले भने एउटा निश्चल निरवता र प्रशान्तिको वातावरण रचना गरी नवीन युगका लागि ढोका खोल्न सक्ने अनुमान लगाउन सकिन्छ।

कोरोना संकटबाट मानिसले कहिले मुक्ति पाइएला भन्ने विषय त मानिसको विज्ञानी दिमागभन्दा ब्रम्हाण्डीय चेतनालाई नै थाहा होला, किनकी अरु प्राकृतिक विपतिभन्दा पृथक यो कोरोना महामारीले अरु प्रणालीलाई नचलाई, नछोई मानिसलाई मात्र दोषी करार गरी सजाय भागी बनाएको छ। भाइरसका म्युटेसनका रुप र प्रकारले मानिसको दिमागलाई चिन्ता र तनावमा पारिदिएको पनि छ। यो त्रासदीपूर्ण महामारीले ल्याउने बहुआयामिक परिवर्तन र समग्र समायोजनबारे धेरै भन्न नसके पनि केही कुराको अनुमान चाहिँ गर्न सकिन्छ। यसले आफू विदा हुँदा सम्भावना, समस्या, मौका, चुनौती सँगसँगै ल्याउने छ। कोरोनापछि शान्ति कि युद्ध, सहकार्य कि दुश्मनि र भ्रम कि स्पष्टता भन्ने विषयमा विश्व नै भ्रमित छ अहिले।

अबको दुनियाँमा विकास के हो? विकसित देश कुन हो? समृद्धि के हो? यी विषयलाई परिभाषित गर्न थप स्पष्ट हुन कोरोनाले सन्देश पनि दिएको छ। मिसाइल, बम, पनडुब्बी र विविध चमत्कार देखाउने देशमा मुख छोप्ने मास्क र सामान्य सिटामोलको अभाव हुँदा के कस्तो दिमाग खुल्यो? यो पनि अब सबैले बुझ्लान्। अत्यावश्यक वस्तुहरुमा परनिर्भरताको अवस्था मात्र होइन, आत्मनिर्भरता, परनिर्भता र सहनिर्भरता के हो भन्ने कुराको नयाँ परिभाषा, सोच र नयाँ आयामहरु अब देखा पर्ने छन्। अब तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताहरु पनि बदलिने छन् र विश्व व्यापार संगठन लगायतका अन्तर्राष्ट्रिय संगठनहरु पुनः कित्ताकाटमा पर्नेछन्।

उत्पादनका केन्दहरु र पुँजी प्रविधिको स्थान्तरणका सम्भावनाहरु देखा पर्ने छन् र यसले अर्थराजनीतिको नयाँ सोच र ठेगानाहरु बताउने छ। यसर्थ राजनीतिक, आर्थिक, सामाजिक प्रणालीहरु र मुख्य रुपमा उत्पादन र व्यापार क्षेत्रमा नयाँ सोच, समायोजन र सहकार्यका अध्यायहरु खुल्ने छन्।

विश्व शक्ति, क्षेत्रीय शक्ति, मित्र शक्ति, रणनीतिक शक्तिका रुप र सामर्थ्यहरु बदलिने छन्। भाइरस एउटा आँखाले नदेखिने र नचिनिने कण हो, तर कृत्य र परिणाम कति भयानक र भयावह छ मानवजातिका लागि भन्ने कुरा बुझ्न लायक छ। मान्छेले, समाजले र राष्ट्रले अनि विश्वले नै आफ्नो औकात, हैसियत, शक्ति र कमजोरीको जानकारी लिने एउटा अवसर पनि जुटाइदियो कोरोनाले।

नेपालको सन्दर्भ

नेपालमा कोरोना र करप्सनको मार सँगसँगै परेको छ। नेपालले आत्मनिर्भर उन्मुख रोजगारी उन्मुख, दक्षता र व्यवसायिकता उन्मुख अर्थव्यवस्था र सदाचारी, इमान्दारी र राजनीतिक र प्रशासनिक व्यवस्था र सक्षम नेतृत्वको लागि यो महामारीले थप बाध्यात्मक अवस्था सिर्जना गरेको छ। विद्यमान राजनीतिक संरचना र दिमागी क्षमताले यसलाई धान्न र ‘रेस्पोन्स’ गर्न सक्ला कि नसक्ला? तर नेपाली जनता चुप लागेर बस्ने चाहिँ छैनन् र निकास तय गर्ने छन्।

जेठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्