‘जातीयताको नाममा ज्यान गुमाउने कहिलेसम्म?’

दाङ– रुकुम पश्चिम सोती घटनाका दोषीहरु पत्ता लगाएर कारबाहीको माग राख्दै देशभर प्रदर्शन भइरहेकाे छ। दाङमा पनि दलित अधिकारकर्मीहरुको नेतृत्वमा हरेक दिन जसो प्रदर्शन हुन थालेको हो।

घटनालाई राजनीतिक रुपमा तोडमोड गरेर वास्तविक दोषी उम्काउने प्रयास हुन थालेको भन्दै शुक्रबार लमहीमा प्रदर्शन गरिएको छ। दलित सचेतना अभियानको नेतृत्वमा प्रदर्शन गरिएको हो।

लमहीको सार्वजनिक बगैंचाबाट शुरु भएको प्रदर्शनले बजार परिक्रमा गरेको थियो

‘अझैं पनि जातका आधारमा विभेद गर्ने, हत्या हिंसा गर्ने प्रवृत्ति छ। यसको विरोधमा हामी सडमा आउन बाध्य भयौँ’, दलित सचेतना अयिभानका अध्यक्ष शशीराम नेपालीले भने, ‘सोती घटनाका दोषीहरु उम्कनु भएन। सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नु पर्‍यो।’

दलित सचेतना अभियानका पूर्व अध्यक्ष गोपाल विश्वकर्माले जाजरकोटका नवराज विक र उनका साथीहरुको योजनाबद्ध रुपमा हत्या गरिएको आरोप लगाए।

‘आफ्नो प्रेमिका लिन गएका जाजरकोटका नवराज बिक लगायत अन्य युवाहरुलाई लखेटी लखेटी हत्या गरिएको देखिन्छ’, उनले भने, ‘देशमा गणतन्त्र आइसक्दा पनि जातियताको नाममा ज्यान गुमाउने कहिलेसम्म?’

सोती घटनाकाे विरोध गर्दै दलित सचेतना अभियानले प्रेस विज्ञप्ति समेत निकालेको छ।

अभियानका अध्यक्ष शशीराम नेपालीले जारी गरेको विज्ञप्तिमा सबै राजनीतिक दल सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन हुनु पर्ने, जातिय भेदवाद तथा छुवाछुत गर्नेलाई संविधान र कानुनले तोके बमोजिम हदैसम्मको कारबाही हुनु पर्ने, ज्यान मार्ने र आपराधिक घटना घटाउने व्यक्ति पहिचान गरी आजीवन कारावास हुनुपर्ने, कसैको प्रभाव र दवाबमा नपरी निष्पक्ष अनुसन्धानको माग गरिएको छ।

जेठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्