‘टिचिङ अस्पतालमा झुटो बोल्दै मप्रति अमानवीय व्यवहार गरियो’

तस्बिर: बर्षा शाह

‘मान्छेको चोलामा पनि मलाई मान्छेजस्तो व्यवहार गरिएन’, जेठ ३ गते कोभिड–१९ को संक्रमण पुष्टि भएका दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ३३ वर्षीय पुरुषले भने।

ज्वाईँ बिरामी भएपछि उपचारका लागि काठमाडौँ आउन थालेका बहिनी–ज्वाईँसँगै उनी पनि काठमाडौँ आउने भए। चैत २९ गते बहिनी ज्वाईँसँग काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगे। ज्वाईँको टाउकोमा समस्या थियो जसका कारण उनलाई न्यूरो वार्डमा भर्ना गरियो। भर्ना भएको ३ दिनपछि ज्वाईँको पहिलो शल्यक्रिया भयो। तर उनको टाउकोमा ट्यूमर भएका कारण पहिलो शल्यक्रिया भएको २५ दिनपछि ट्यूमरको शल्याक्रिया गरिएको थियो। शल्यक्रिया पश्चात उनका ज्वाईँलाई आईसीयू राखी न्यूरो वार्डमा सारिएको थियो।

ज्वाईँको कुरुवा बस्दै गर्दा डेढ महिना कसरी बित्यो उनले पत्तै पाएनन्। बिस्तारै शल्यक्रिया गरेका ज्वाईँ तङ्ग्रिदै थिए। उनी डिस्चार्ज हुने दिन पनि नजिकिँदै थियो। डाक्टरले १०/१२ दिनमा डिस्चार्ज गर्ने बताएका थिए। लामो समय अस्पतालमा दिन कटाइरहेका तीनै जना घर जाने दिन नजिकिँदै गर्दा एक अर्कासँग खुसी साटासाट गर्दै थिए। बिरामी भएर अस्पताल ल्याएका ज्वाईँलाई निको बनाएर घर लैजाने सपना बुन्दै थिए, उनी बहिनीसँग।

बहिनीसँगै देखेको उनको त्यो सपना पुरा हुन सकेन।

घाँटीमा समस्या भएपछि न्यूरो वार्डको छेउमै रहेको नाक, कान घाँटी वार्डमा कपिलवस्तुकी ६ वर्षिया बालिका भर्ना भइन्। उक्त बालिकाको कोभिड–१९ को आशंकामा नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो। न्यूरो वार्ड र नाक, कान, घाँटीको वार्ड फरक भए पनि भित्र जाने बाटो एउटै थियो।

जेठ १ गते बालिका संक्रमित भएको पुष्टि भएपछि अस्पतालले उनको सम्पर्कमा आएका चिकित्सक, नर्स, न्यूरो र नाक, कान घाँटी वार्डका विरामी, कुरुवा सबैलाई स्वाब संकलनका बोलायो।

उनी पनि गए। परीक्षणका लागि नमूना दिएका उनले स्वाब संकलन गरिरहेका स्वास्थ्यकर्मीलाई सोधे, ‘रिपोर्ट कहिले आउँछ सर?’

स्वास्थ्यकर्मीले जवाफ दिए, ‘भोलि (जेठ २ गते)।’

परीक्षणका लागि संकलन गरिएको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो। भोलि (जेठ २ गते) पल्ट साँझतिर अस्पतालले नमुना संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको बताउँदै भन्यो,‘तपाईहरुको रिपोर्ट नेगेटिभ आएको छ। अब ढुक्क हुनुहोस्।’ तर नेगेटिभ भएको रिपोर्ट भने अस्पतालले हात पारेन। यद्यपि संक्रमित नभएको भन्ने असपतालको खबरले परीक्षणका लागि स्वाब दिएका सबै जना दंग भए।

आफ्नो रिपोर्ट नेगेटिभ आएको थाहा पाएपछि दंग पर्नेमध्ये उनी पनि एक थिए। तर उनको खुसी धेरै बेर टिक्न सकेन। जेठ ३ गते दिउँसो न्यूरोकै डाक्टरले उनलाई भने, ‘तपाईँको बिरामीलाई अन्तै सार्नु पर्ने भयो, ठाउँ हेर्न हिँड्नुस्।’

डाक्टरले अर्को ठाउँ जाने भनेपछि उनले डाक्टरलाई प्रश्न गरे, ‘अर्को ठाउँ सर्ने भए, मैले कपडा लग्नु पर्छ कि नाइँ?’

डाक्टरले उत्तर दिए,‘कपडा लाग्नु पर्दैन, ठाउँ हेरेर एक छिनमा फर्किहाल्ने हो।’

डाक्टरले यति भनेपछि उनले सोचे, ‘कपडा पछि बहिनी ज्वाइँसँगै लिएर जाउँला। पहिला ठाउँ हेरेर आऊँ।’

डाक्टरका पछाडि लागे र न्यूरो वार्ड बाहिर निस्के। बाहिर एम्बुलेन्सले कसैलाई कुरिरहेको थियो। डाक्टरले एम्बुलेन्समा बस्न अनुरोध गरे। बिरामी राख्ने ठाउँ हेर्नलाई एम्बुलेन्समा भनेर अचम्म पर्दै उनले डाक्टरलाई सोधिहाले, ‘एम्बुलेन्समा चढेर काँ जाने?’

डाक्टरले प्रतिउत्तर दिए, ‘यहीँ अगाडि हो, ठाउँ हेरेर फर्किहाल्ने हो।’

डाक्टरले यति भनेपछि उनी ज्ञानी बच्चाझैँ एम्बुलेन्समा चढे। केही समय पछि एम्बुलेन्स पाटन अस्पातल पुग्यो र टक्क रोकियो। उनलाई एम्बुलेन्सबाट ओर्लिन भनियो। उनलाई थाहा छैन, किन पाटन अस्पताल पुर्‍याइयो। उनले सोचे, ‘ठाउँ हेर्ने भनेको यहीँ हुनु पर्छ।’

उनी भित्र छिर्दै थिए। मोबाइलको घण्टी बज्यो। मोबाइल हेरे। घरबाट श्रीमतीले फोन गरेकी गरेकी थिइन्। फोन उठाएर बोल्न नपाउँदै उनकी श्रीमतीले अत्तालिँदै सोधिन्, ‘तपाईँलाई कोरोना भएको हो रे। यहाँ घरमा ६/७ वटा गाडी लाम लागेका छन्। घर घेरा हाल्न लागिसके। तपाईँलाई कोरोनामा लगेको छ रे, कहाँ लगेर थुने?’

श्रीमतीको कुरा सुनेर उनी ट्वाँ परे। के भइरहेको थियो, उनले भेउ पाउन सकेनन्। श्रीमतीलाई यति भन्न भ्याए, ‘मलाई केही भएको छैन। म ठिक छु।’ तर उनी श्रीमतीलाई सान्त्वना दिँदै गर्दा उनको कुराले आफू पनि झस्किएका थिए।

उनलाई कोभिड–१९ संक्रमण भएको भन्दै पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरियो। आफू भर्ना भए पनि पत्याउनै गाह्रो भएको उनले बताए। उनले भने, ‘अस्पताल भर्ना भएको ३/४ दिनसम्म मुटु ठाउँमा रहेन। प्रेसर एकाएक ह्वात्तै बढ्यो। एक्कासी भएर त्यस्तो भएको हुन सक्छ।’

उनी आफैँले आफैसँग प्रश्न सोध्थे, ‘बिरामी लिएर आएको मलाई कसरी संक्रमण भयो? कपिलवस्तुकी संक्रमित बालिकालाई भेट्नु त परको कुरा देखेको समेत थिइन। त्यत्रो जनामा मलाई मात्रै कसरी भयो?’

आफू संक्रमित भएको मनले मानेकै थिएन। आइसोलेसन वार्डमा बस्दौ गर्दा आफू पोजेटिभ भएको रिपोर्ट मागे। रिपोर्ट आयो। तर उक्त रिपोर्टमा उनको नाम बाहेक अरु केही पनि मिलेको थिएन। उनलाई लाग्यो, ‘यो रिपोर्ट कतै अरुको त होइन?’

उनले डाक्टरलाई सोधे। उनको प्रश्नको जवाफ पाटन अस्पतालका डाक्टरहरुले दिन सकेनन्। ‘यस्तै हो’ भन्दै उनको चित्त बुझाउन डाक्टरहरुले खोजे।

‘मेरो उमेर १ वर्ष लेखिएको थियो। म १ वर्षको जस्तो देखिन्छु? ठेगाना देउखुरी थियो। मेरो फोन नम्बर पनि अरुकै थियो’, उनले भने।

अब उनले अर्को परीक्षणपछिको रिपोर्ट नेगेटिभ कुर्नुको विकल्प थिएन।

अस्पताल भर्ना भएको केही दिनपछि परीक्षणका लागि स्वाब संकलन गरियो। रिपोर्ट नेगेटिभ आयो। उनी आफूलाई संक्रमण नभएको कुरामा ढुक्क भए।

तर शिक्षण अस्पतालले आफूप्रति गरेको व्यवहारले भने उनी दुखी भइरहे। तर गर्न सक्ने केही थिएन। उनलाई घरिघरि लाग्थ्यो, ‘अस्पतालले मलाई पशुको जस्तो व्यवहार गर्‍यो।’ उनको मन भक्कानिन्थ्यो। फेरि सोच्थे, ‘फेर्ने लुगा त ल्याउन दिनु पर्ने थियो।’

अँह, त्यो पनि दिएन।

दोस्रो रिपोर्ट नेगेटिभ आएपछि ९ गते फेरि परीक्षणका लागि नमूना संकलन गरियो। रिपोर्ट फेरि पनि नेगेटिभ नै आयो।

अन्ततः उनी ११ गते ९ दिनका दिन अस्पतालबाट डिस्चार्ज भए। संक्रमणमुक्त भइयो भनेर उनी खुसी भए। तर अस्पतालबाट घर फर्किनका लागि उनलाई समस्या भयो। अस्पतालले घर फर्किनका लागि सवारी साधनको जोहो नहुन्जेल अस्पतालमै बस्न आग्रह गर्‍यो। उनलाई काठमाडौँबाट दाङसम्म छोड्न कसैले मानेनन्।

लिन आउँछु भनेको एम्बुलेन्सका चालकले कलंकी आएर बस्नु भन्दै फोन अफ गरेर बसे। उनले दुःख पोखे, ‘घर जाने भनेर म कलंकी गएको भए रातिमा बितरा पर्ने रै’छु।’

तुलसीपुर उपममानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई उनले फोन गरेर आफ्नो समस्या बताए। उपमहानगरको एम्बुलेन्स १३ गते उनलाई लिन काठमाडौँ पुग्यो। १३ गते राति काठमाडौँबाट उनी एम्बुलेन्स चढेर दाङतर्फ लागे।

१४ गते दाङ पुगे।

शिक्षण अस्पतालले उनलाई लगाएकै लुगामा पाटन अस्पताल लगेको थियो। उनी जुन कपडा लगाएका थिए, त्यही कपडामा घर फर्किए। ‘मैले १२ दिनसम्म एउटै कपडा लगाएँ। घर आएपछि अर्को लुगा मागेर फेरे, मलाई कपडासम्म लिन दिएनन्। अर्को अस्पताल लग्नेहरुलाई त मलाई के भएको छ भन्ने थाहा थियो नि। तर पनि नराम्रो व्यवहार गरे। अहिले पनि कपडा अस्पतालमै बहिनीसँग छ’, उनले भने, ‘कपडाको त कुरा परै जाओस्, मोबाइलको चार्जरसम्म लिन दिएनन्। अस्पतालमा भर्ना भएपछि बारम्बार फोन आइरहेको थियो। सबै जान आत्तिरहेका थिए।’

घर पुगेर उनी हल्का महसुस गरिरहेका छन्। शिक्षण अस्पतालले आफूप्रति गरेको व्यवहारलाई भुल्न खोजिरहेको उनले बताए। उनले भने, ‘अस्पतालले गरेको व्यवहार सम्झन मन छैन। धेरै चित्त दुखेको छ। तर यहाँका जनप्रतिनिधिहरुले राम्रो व्यवहार गर्नु भएको छ।’

अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन्। केही दिनपछि उनको नमूना संकलन गरी परीक्षण गरिने छ। रिपोर्छ नेगेटिभ आए पहिला जस्तै परिवारसँग घुलमित भएर खुसीसाथ बस्ने छन्।

त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासले ती ३३ वर्षीय पुरुषलाई लुगा लैजान नदिएको स्वीकार गरे। उनले देशसञ्चारसँग भने, ‘हो, हामीले उहाँलाई लुगा ल्याउन नदिएका हौँ, तर कोठाभित्र नभने पनि काेठाबाहिर निस्केपछि भने हामीलाई उहाँलाई कोरोना संक्रमण भएको र आइसोलेसनका लागि लैजान लागेको भनेका थियौँ।’

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू