नेपालको गणतन्त्र दिवसमा किन पठाएन भारतले शुभकामना सन्देश?

काठमाडौं – भारत सरकारले पहिलोपल्ट गणतन्त्र दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश नपठाएर नेपाल-भारत सम्बन्धको असहजता त्यसको कारण भएको संकेत दिएको छ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लागु गरिएको लकडाउनको ६६ औँ दिनमा १३ औँ गणतन्त्र दिवस परेको र परम्परागत भव्य समारोहका साथ त्यसलाई नमनाइए पनि छिमेकी भारतबाट शुभकामना सन्देश नआउँदा त्यसलाई सीमा विवादका कारण बल्झिएको सम्बन्धले यसलाई प्रभावित गरेको बुझिएको छ।

विगत १२ वर्षमा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षीहरुलाई शुभकामना सन्देश पठाउँदै आएका छन्। यता नेपालले प्रधानमन्त्री या राष्ट्रपतिस्तरमा भारतका पूर्वी भागमा आँधिबेरीबाट भएको ठूलो जनधनको क्षतिमा दुख व्यक्त नगरेकोमा पनि भारतीय सरकारी वृतमा चर्चा पाएको थियो।

विदेशमन्त्री प्रदिप ज्ञवालीले आँधिबेरीपछि भारतीय  समकक्षी एस जयशंकरलाई सन्देश पठाई दुःख व्यक्त गरेका थिए। पाकिस्तानमा गत साता भएको हवाई दुर्घटनापछि प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी समक्ष समवेदना प्रकट गरेका थिए।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटर मुलुकको नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत तिक्तता बढेको छ। भारतसँगको सीमा विवादपछि नक्सा जारी गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओ‌लीले संसदमा चीनबाट आएको भन्दा भारतबाट आएको कोरोना भाइरस कडा प्रकृतिको भएको भनि दिएको वक्तव्यले पनि भारतीय सरकारी वृतमा चर्चा पाएको थियो।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू