नरैनापुरमा सेनाको गस्ती कायमै, तीन जना कोरोना जितेर गाउँ फर्किए

नेपालगञ्ज– नरैनापुरमा यतिबेला नेपाली सेनाको गस्ती छ। सेनानी सुरेशकुमार श्रेष्ठको कमाण्डमा ४५ जनाको टोली नरैनापुरमा बसेको छ। गंगापुरको जयकिसन माविमा बसेको सेनाको टुकुडीले बरोबर गस्ती गरिरहेको छ।

नरैनापुरमा निषेधित क्षेत्र घोषणा पनि कायमै छ। निषेधित क्षेत्र अनि सेनाको उपस्थितिले नरैनापुरको अवस्था सामान्य बन्दै छ। कोरोनाको हटस्पट बन्दा स्थानीय त्रसित थिए। गाउँपालिकाका प्रमुखले प्रदेश र केन्द्र सरकारसँग ‘सुरक्षा बढाउन’ गुहार मागेका थिए।

वैशाख २ गते आठ जनामा कोरोना देखिँदा नरैनापुर झस्किएको थियो। त्यसपछि संक्रमितको संख्या बढेको बढ्यै भयो। एक सय १४ जना संक्रमित बने। एकजनाको मृत्यु भएपछि झन् त्रास बढायो। त्यसमध्येमा तीन जनाले कोरोना जितेर फर्किदा स्थानीयले केही राहत महशुस गरेका छन्।

पहिलो पटक संक्रमण देखिएका आठ जनालाई दाङको बेलझुण्डी कोरोना अस्पतालको आइसोलेसनमा लगिएको थियो। तीमध्येमा शुक्रबार तीन जना कोरोना जितेर फर्किएका छन्। नरैनापुर १, ३ र ५ नम्बर वडाका १८, १५ र २० वर्षका किशोरहरु कोरोना जितेर आएका हुन्।

कोरोनालाई जितेर फर्केकाहरु।

कोरोना लागेपछि विभिन्न भ्रमहरु फैलाएर संक्रमितलाई नेपालगञ्ज ल्याउन नदिने र क्वारेन्टाइनबाटै भगाउने स्थानीयवासी तीन जना निको भएर घर फर्किदा खुशी भएका छन्।

गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद साहले तीन जना सन्चो भएर फर्किदा खुशीयालीका साथै हौसला थपिएको प्रतिक्रिया दिए।

नरैनापुर यतिबेला जिल्लाको नजरमा प्राथमिकतामा परेको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ जिल्लामा हाजिरी भएको दोस्रो दिनमै नरैनापुर पुगेका थिए।

यतिमात्रै होइन नरैनापुरमा विद्युतीकरणको काम थालिएको छ। लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत पुर्‍याएर त्यहाँ आइसोलेसन सेन्टर बनाउने काम सुरु भएको छ।

नरैनापुरमा अहिले भारतबाट आउनेको संख्या घटिरहेको गाउँपालिका अध्यक्ष साहले बताए। गाउँपालिकाको नाकाबाट भित्र्याउन रोकिएको छ।

१३ वटा क्वारेन्टाइनमा एक सय ९४ जना बसेका छन्। सबैको पीसीआर जाँच गर्ने काम भइरहेको छ।

अन्यत्र थपिँदै


यसैबीच शुक्रबार बाँकेमा दश जना संक्रमित थपिएका छन्। ती सबै एउटै पालिकाका हुन्। नेपालगञ्जसँग जोडिएको पूर्वी डुडुवा गाउँपालिकाका १७ देखि ४१ वर्षका पुरुषमा संक्रमण देखापरेको हो।

सबैको भेरी अस्पताल, नेपालगञ्जमा परीक्षण गरिएको थियो। यी सहित बाँकेमा कोरोना संक्रमितको संख्या एक सय ८१ पुगेको छ। त्यसमध्येमा २७ जनाले कोरोना जितेर घर फर्किएका छन्। एकजनाको मृत्यु भएको छ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू