शल्यक्रियापछि थाहा भयो- उनी कोरोना संक्रमित रहेछन्

काठमाडौँ- दोलखाका ७५ वर्षीय पुरुष ‘सिरियस’ अवस्थामा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)को आकस्मिक कक्षमा भर्ना भए। आकस्मिक कक्षमा उनको चेकजाँच गर्दैै गर्दा सिटी स्क्यान परीक्षण गरियो।

सिटी स्क्यान परीक्षण गर्दा उनको टाउकोमा स्ट्रोक (मष्तिकघात) भएका देखिएको थियो। स्ट्रोक ठुलो भएका कारण तुरुन्त शल्यक्रिया गर्नु पर्ने भएपछि आकस्मिक कक्षबाट उनलाई आइसियुमा सारियो। र, आरडिटी गरियो। आरडीटी पोजेटिभ आयो।

आरडिटी पोजेटिभ आएपछि उनलाई राखिएको आइसियुबाट फेरि डाक्टरहरुले आइसोलेसन आइसियुमा सारे। परिवारको सहमतिमा जेठ ११ गते (आइतबार) शल्यक्रिया सुरु गरे।

शल्यक्रिया सफल भयो।

आरडिटी पोजेटिभ भएकाले विरामीको स्वाब संकलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। बिरामीको हिस्ट्री हेर्दा शंकास्पद नदेखिए पनि आरडिटी पोजेटिभ भएका कारण दुई जना सर्जनले मात्रै उनको शल्यक्रिया गरे।

विरामीको पीसीआर रिपोर्ट आउने टुङ्गो नभएका कारण रिपोर्ट कुर्दा विरामीको ज्यान जोखिममा पर्ने भएपछि चिकित्सकहरुले उच्च सुरक्षा सावधानी अपनाउँदै सकेसम्म कम जनशक्तिको प्रयोग गरेर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

तर उनको शल्यक्रिया गरेको ४ दिनपछि अर्थात जेठ १४ गते पीसीआर रिपोर्ट सार्वजनिक भयो। रिपोर्टमा उनी कोभिड–१९ संक्रमित भएको पुष्टि गरिएको छ। शंकास्पद पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा आएका अस्पतालको आकस्मिक कक्ष, न्यूरो विभाग, आइसीयू लगायतका २९ जना डाक्टर, नर्स, कर्मचारी क्वारेन्टाइनमा बसेको अस्पतालले जनाएको छ।

अहिले क्वारेन्टाइनमा अधिकांश आरडिटी गर्नु अगाडि आकस्मिक कक्षमा विरामीको सहयोग गरेका स्वास्थ्यकर्मी र सहयोगी रहेको अस्पतालले जनाएको छ।

तर, कोरोना भाइसरको संक्रमण देखिएपछि विरामीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सारिएको छ।

कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि शिक्षण अस्पताललाई सरकारले ‘तीन तह’को अस्पतालका रुपमा तोकेको छ।

जेठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्