व्यङ्ग्य

खाने मुखलाई मास्कले छेक्दैन

मित्रराष्ट्र चीनको वुहान शहरमा कोरोनाको प्रकोप बढ्दै गएको र मृतकहरुको संख्या चढ्दै गएको अवस्थामा हाम्रातिर पनि मास्क लगाउने अनि मास्क लुकाएर आफ्नाे ढुकुटी जगाउने लहर सुरु भइसकेको थियो । कोरोनाबाट बच्ने भन्दा पनि यसको नाममा सजिलै पच्ने तरिकाले कसरी कमाउने र यसैमा कसरी रमाउने भन्नेमा एकथरीको पूरै ध्यान रहेको थियो ।

संसारमा कोरोना भाइरस फैलने र स्वास्थ्य स्थिति नराम्रोसँग मैलने सुरुवाती अवस्थामा हाम्रा मन्त्रीहरु एउटै डिलिङमा अरबौँको सरकारी खरिदबाट ७० करोड कमिसन भ्याउने आफ्नो भित्री फिलिङ्लाइ रोक्न नसकेर बिचौलियासित कमिसन किलिङकाे ध्याउन्नमा आफ्नाे सिलिङ् बिर्सेर लाभ बढाउनेतिर ज्यान फालेर लाग्दा हत्तपत्त हिलिङ् हुन नसक्ने राजनैतिक घाउ लागेर उनको दाउ काम लाग्न सकेन ।

एउटामा मात्रै ७० करोड अर्कोमा कति करोड त्यसपछि अर्कोमा कति करोड अर्कोमा अझ कति करोड हातलागि गर्ने र त्यसबाट यति यति माथि बुझाएपछि यति चाहिँ सर्लक्क आफ्नाे पोल्टामा झर्ने अनि यसबाट यति वर्षसम्मको चुनाव खर्चको साथै अरु यो यो खर्च टर्ने भनेर हिसाब गर्दागर्दै र सरकार प्रधानको सबैभन्दा प्यारो मन्त्री भएकोले मलाइ कसैले केही लछार्न अनि जे गर्दै हिँडेपनि कसैले पछार्न सक्दैन भनेर कसैलाइ मान्छे नगनेर जे मा पनि अघि सर्दासर्दै बिचौलियाले घत्रक्क पछारेर फत्रक्क पारेपछि साबिक अनुसार ठूलो स्वर गर्दै लत्रक्क परेर तोके अनुसारको कमिसन बुझाउन नसके पनि आफूसँग हुँदै नभएको नैतिकता देखाउने प्रयास स्वरुप राजिनामा बुझाएको पाइयो ।

कोरोनाको ओखती मुलो के कसो होला भनेर ठूलो सोच राख्न पर्नेमा मुखमा मास्क लगाएर कमिसनको टास्क पूरा गर्ने भित्री जिम्मेवारीमा अल्झिएको हुनाले यो समस्या यसरी बल्झिएको देखियो ।

विश्वको स्वास्थ्य परिस्थिति अनुसार बजारमा मास्कको माग बढ्दै गएपछि उपभोक्ताको हकहितको दुहाइ दिएर नथाक्ने साना ठूला नाम चलेका र विभिन्न ठाउँका कृपाले फलेफुलेका व्यापारीहरू मास्क लुकाउने अनि यसैबाट अन्यत्रको घाटा समेत पूरा हुने गरि भुँडी फुकाउने चक्करमा लाग्दा पक्राउ र लाखौँ मास्क जफतको ठक्करमा पर्दा पनि नचेतेको देखियो ।

कसैकसैले एकदम सस्तोमा मास्क उत्पादन गरेर सर्वसाधारणले सोचेभन्दा ज्यादै सस्तोमा नाफा नै नराखी बजारमा सर्वसुलभ रुपमा उपलब्ध गराउने छौँ भनेर सरकारबाट लिनमिल्ने सम्मको सुविधा र फाइदा लिएर उपभोक्तालाइ दिनमिल्ने सहुलियत नदिइकन मास्क बिक्री वितरण गरिरहेको भएपनि सम्बन्धितहरुको आँखा नपुगेको हो कि उनीहरुको खल्तीमा पुग्नपर्ने कुरो पुगेकोले छानबिनको गल्ति नगरिएको हो सर्वसाधारणले बुभ्न सकेनन् ।

अहिलेको अवस्थामा सबैभन्दा आवश्यक मध्ये एउटा रहेको मास्क लुकाएर कालोबजारी गरेर उपभोक्ताबाट ठूलो रकम आम्दानी गर्ने सोचसहित आफ्नाे काममा लागेका र बजारमा कुनै चिजको माग बढ्नासाथ त्यसलाइ लुकाएर नाफा कमाउन जहिले पनि जागेका व्यापारीहरूबाट सहुलियत दरमा मास्क पाउने आशा गर्ने उपभोक्ताहरु नै उस्ता हुन भनेर भनिराख्न पर्दैन ।

देशमा यस्ता संकटहरु आइपर्दा यस्ता कालाबजारीमा निपुण व्यापारीबाट र नियामक निकायका अनुभवी पदाधिकारीहरुलाइ जताततैबाट लाभैलाभ हुन्छ रे भन्ने सुनिन्छ । यो कुरो कतिसम्म सहि हो भन्ने उहाँहरुलाइ नै राम्रोसित थाहा होला । अरुले त उही अनुमान गर्ने र जति परेपनि खुसुक्क तिर्ने अनि कुरा काट्दै मुखमा त्यहि मास्क भिर्ने न हो । ठूलाे कमिसनसहित ठूला नेताहरुलाइ भेट्ने र त्यहि आडमा सर्वसाधारण जनताको घाँटी रेट्ने व्यापारीहरूले कोरोनाको मास्कमा पनि राम्रै शुभलाभ गरेरे भन्ने कुरा बिगतका कालाबजारी हेरेर र सम्झेर होला वा नहोला केही भन्न चाहिँ सकिन्न ।

यही समाजबाट निकालेको नाफाबाट यही समाजमा समाज सेवा गर्न पर्ने हुनाले यसलाइ अन्यथा मान्न हुँदैन । यसै सिलसिलामा एकजना खरबौँपति व्यापारी, प्रतिष्ठित उद्योगपति,एउटा देशको अबैतनिक महावाणिज्यदूतको रुपमा कार्यरत कुटनीतिज्ञ, विभिन्न उद्योग वाणिज्य र व्यापारिक संघ संस्थाका जिम्मेवार माथिल्लो तहमा कार्यरत व्यक्तित्व, सरकारको माथिल्लो र सबैजसो मुख्य मुख्य व्यक्तित्वहरुसित ज्यादै नजिकको सम्बन्ध भएका व्यक्तित्व आदि आदि पदावलीसहितले परिचित ठूला व्यपारीले आफ्नो पहुँचको ज्यादै राम्रोसित सदुपयोग गरेर सामान आयात गर्न अन्य व्यापारीहरूलाइ पाखा लगाउँदै कोरोना परीक्षणका उपकरणहरु ठीक समयमा ल्याएर चारपाँचसय प्रतिशत भन्दा बढी मूल्यमा बिक्री वितरण गरेर धेरै ठूलो सहयोग पुर्याएकोमा सबैजना उनीसित कृतज्ञ भएका छन् ।

यिनले त सामान पनि कुटनैतिक नम्बर प्लेटवाला गाडिमै हालेर बेच्दै हिँडेको देख्दा हाम्रो कूटनीतिको स्तर कति माथिको रहेछ भनेर सबैको शीर उँचो समेत भएको छ । यिनको यो सत्कर्म सबैको जानकारीमा आएपछि र  सर्वसाधारणले समेत थाहा पाएपछि यिनले पाएको कुटनैतिक सुविधा पाउने अधिकांश व्यक्तित्वहरु यिनी जस्तै व्यापारिक घरानावाला रहेको पाइएकोमा सबैले गर्ब गरेका छन ।

अन्य सरकारी पद र नियूक्तिहरु राम्रो मूल्यमा बिक्री हुन्छ रे भन्ने नचाहिँदो हल्ला सुनिरहेका र यो कार्य कसरी होला भनेर मनमा गुनिरहेका जनता यस्ता अवैतनिक महावाणिज्यदूत जस्ता पदहरु त अझ बढी मूल्यमा हात पार्ने अनि यसैको आडमा मजाले नगद झार्ने र सर्वसाधारणलाइ मार्ने काम कति मजाले भइरहेको अनि कति शानदार तरिकाले गइरहेको देख्दा ठूलो व्यापारिक घरानाहरु कसरी ठूला भएका रहेछन् भन्ने धेरैले अड्कल पाए ।

यी र यी जस्ता व्यापारी उद्योगपति र कुटनीतिज्ञहरुको योगदानलाइ कदर गर्दै यिनिहरुलाइ राज्यले अनेक खालका सुविधाहरु दिनु र यिनिहरुले त्यसको भरपुर फाइदा लिनु ज्यादै उल्लेखनीय कार्य हो । यिनिहरुबाट विभिन्न खाले खासगरी आर्थिक सहयोग पाइरहेका र मजाले डकारेर खाइरहेका नेता,  कार्यकर्ता, कर्मचारी,पत्रकार, न्यायमूर्ति,  कानुन व्यवसायी, ठूला व्यापारी, डन, विचौलिया आदि जस्ता महानुभावहरुको अतुलनीय योगदानलाइ सबैले सराहना गर्नै पर्छ ।

सरकारले जनताको स्वास्थ्य परीक्षण र कोरोना रोकथामको लागि खरिद गर्न लागेको करोडौँका परीक्षण सामग्री र स्वास्थ्य उपकरणहरु विदेशबाट ल्याउन भन्दा पनि त्यसबाट अत्यन्त लाभदायी कमिसन भ्याउन उपप्रधानमन्त्री, मन्त्री, सरकार प्रधानका मुख्य सल्लाहकार आदिका होनहार छोराहरुलाइ जिम्मा दिएर भविष्यका राजनैतिक नेतृत्वलाइ पनि अहिले देखिनै कमिसन खाने र देशलाइ प्रगतिको बाटोतिर लाने विषयमा व्यवहारिक ज्ञान दिलाउने अनि यसको ठूलो हिस्सा आफूभन्दा माथिकालाइ पिलाउने राम्रो बन्दोबस्त गर्न सक्नु ठूलो कुरा हो ।

यसको लागि ओम्निटेक भन्ने कमिसन एजेन्टको प्रयोगले त सार्वजनिक खरिदलाइ सरकारी तहबाटै उच्च प्राथमिकतामा राखेको कमसेकम खरिदकर्ताहरुले महसुस गरेको र भविष्यमा पनि यसरी नै खरिद गर्न अघि सरेको पाउँदा जनता खुशी भए । सम्बन्धित सबैको मिलेमतो र चाँजोपाँजो पछि कोरोनाको लागि भविष्यमा समेत हुने खरिदमा आउने र आफूहरुले पाउने कमिसनको अंक सम्झेर मुख मिठ्याउँदा मिठ्याउँदै ओम्निटेकले कबुल गरेको २० प्रतिशत र ज्यादै कम गुणस्तरवाला सामान ल्याइदिनाले सबै गोलमाल पारिदियो ।

धेरै बाठो हुन र कमिसनको उच्चविन्दु छुन खोज्दा काम पनि भएन, काम नभएपछि दाम पनि भएन र परिस्थितिको फाइदा उठाउन आर्थिक नियमका सबै प्रावधानहरुलाइ पन्छाएर जाँदा नाम पनि भएन । खरिदमा लेखा प्रमुखभन्दा महानिर्देशक चलाख, महानिर्देशकभन्दा सचिव चलाख, सचिवभन्दा मन्त्री चलाख, मन्त्रीभन्दा उपप्रधानमन्त्री चलाख, उनीहरुभन्दा छोराहरु चलाख, यिनिहरुभन्दा ओम्निटेक चलाख र यिनिहरु सबैभन्दा सरकार प्रधान अझ चलाख भएकोले सार्वजनिक खरिदको सबै जिम्मेवारी भएपनि कोरोनाको टेस्टिङ किट र अन्य मेडिकल उपकरणहरु खरिदको जिम्मा अन्तै लगेर बुझाउन पर्यो । ठूलो कमिसनको चक्करले पहिलो खरिदमै ठक्कर खाएपनि सबै ठालुहरुको कमिसन प्राप्तिकार्य चालु रहिरहेको महसुस गर्न सकिन्छ ।

यहि कोरोनाको मौकामा चौका हानेर कमाउने अनि परिस्थिति ठिक भएपछि मजाले रमाउने उद्देश्यले यो बाटो समाउनेहरु हरेक क्षेत्रमा देखा परेका र आफूले सकेजति सबैले गरेका छन् भन्ने आरोपलाइ जनताले पत्याउनै भएन । यो अवसरको पूर्ण सदुपयोग गरेर ठूलै कमाइ गरेर रमाइ रहेकाहरु नभएका होइनन र हरेक बिपदलाइ कमाउने भाँडो बनाएर खोले फाँडो खाने जनताबाट फाइदा उठाउनेको कुनै कमी छैन रे अनि यसमा पिपिइ सेट,मास्क,स्यानिटाइजर आदि जस्ता सामानहरु स्थानीयस्तरमै बनाएर समाजसेवीमा नाम आउने र भविष्यमा फाइदा लिन सकिने ठाउँहरुमा अलि अलि निशुल्क वितरण गर्ने अनि अन्यत्र मोटो मूल्यमा बिक्रि गरेर भुँडी भर्ने र बिपदको नाममा सदाझैँ यसपाली पनि मजाले चर्नेहरुको कमी छैन रे भन्ने हल्ला गर्ने मुर्खहरु पनि नभएका होइनन् ।

खाद्यान्नको खुद्रा सामग्री,मासु,औषधी जस्ता सामानहरुमा पनि कतैकतै आफूखुशी मूल्य तोकेको र आरामले आम्दानी ठोकेको अवस्था छ रे भन्ने सुनिन्छ । लकडाउनको नाममा अनुगमन भाषण र बोलीमा मात्रै सीमित भएपछि त्यसमा अरुले बोल्ने र व्यापारीहरूकाे गोप्य कुरा खोल्ने कुरा पनि आएन । बेच्ने पनि चुप, किन्ने पनि चुप, अनुगमन गर्ने पनि चुप भएपछि बाहिर कसले के भन्छ भन्नेसित कसलाइ के मतलब ? राहत वितरणमा पनि आफन्त,आफ्ना समर्थक र भविष्यमा फाइदा लिन सकिनेलाइ दिन पर्छ भन्ने अघोषित नीति जस्तै छ भनेर दोष लागाउनेहरुको गफ सुन्ने कुरै आएन ।

यि सबै कामहरु मास्क लगाएर गरिएको हुनाले सबै सुरक्षित उपायहरु अबलम्बन गरिएको विश्वास गर्न सकिन्छ । लकडाउन सुरु हुनासाथ मन्त्री, माननीय र जनप्रतिनिधिहरु नै आफ्नो जिल्ला र खासगरि आफ्नाे निर्वाचन क्षेत्रका जनताहरुलाइ विभिन्न ठाउँमा पुर्याउने हानथापमा लागेर गाडि चढाउने स्थानमै अड्डा जमाउँदा पनि त्यस्तो सुविधा नपाउने अन्यत्रका सामान्य जनताहरु महिला बालबच्चा सहित हप्तौँ हिँडेर घर जाँदा पनि सम्बन्धितहरुको आँखा पर्न र सहयोग गर्न नसक्नु नौलो कुरो होइन ।

लकडाउनमा पास वितरणमा पनि निकै शुभलाभ भएको र सम्बन्धितहरुलाइ ठाउँ ठाउँमा मोटो रकम तिरेर आफ्नो गन्तव्यमा जाने आउनेहरुको संख्या यति नै हो भन्ने थाहा नहुँदा कसकसले कता कता कोरोना फैलायाे भन्नेमै पनि अन्यौल भन्ने मुर्खहरु पनि नभेटिएका होइनन् । अहिले सबैको मुख मास्कले ढाकिएको र लकडाउनमा सबैलाइ घरभित्रै जाकिएको अवस्थामा यसरी मिलाएर अनि विरोध गर्नेको मुख सिलाएर र सबैतिर एकदम राम्रोसित काम भइरहेको भरोसा दिलाएर खान जान्नेलाइ मास्कले बाधा नपार्ने रहेछ । त्यही भएर यसो विचार गर्दा खाने मुखलाइ मास्कले छेक्दैन भनेको ठीकै हो कि जस्तो लाग्छ ।

 

जेष्ठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्