कोरोना भाइरस संक्रमणले थलिँदै झापा, संक्रमितहरु अस्पतालको गेट बाहिरै

कचनकलव गाउँपालिकामा रहेको क्वारेन्टिन सेन्टर।

झापा- कोरोना भाइरस संक्रमणका कारण पूर्वी सीमावर्ती जिल्ला झापा थलिँदै गएको छ। दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकामा एक सय जना संक्रमित पुष्टि भएपछि अब संक्रमितहरुको उपचार कसरी गर्ने भन्ने चिन्ता थपिएको छ।

झापामा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या १ सय ७ पुगेको छ। जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार शुक्रबार पुष्टि भएका २७ जना संक्रमितलाई बेलुकै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

तर शनिबार बिहान यो समाचार तयार पार्दासम्म प्रतिष्ठानले ती संक्रमितलाई भर्ना गर्न नमानेको पोर्तेलले जानकारी दिए। उनले भने, ‘अस्पतालले भर्ना गर्न मानेको छैन। सामाजिक विकास मन्त्री अस्पताल पुग्दै हुनुहुन्छ।

‘ मेची अस्पताल भद्रपुरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि व्यवस्थाका लागि काम अगाडि बढाउने भनिए पनि स्थानीयबासीको अवरोधका कारण संभव हुन सकेको छैन। अब संक्रमित थपिए स्थिति अझ जटिल हुने देखिएको छ।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्