डब्लुएचओसँग अमेरिकाको सम्बन्ध समाप्तः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेका छन् ।

कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको आरोप ट्रम्पको छ । उनले लगातार डब्लुएचओले चीनको पक्ष लिएको अभियोग लगाउँदै आएका छन् ।

महामारी नियन्त्रणमा डब्लुएचओले गरेको प्रयास पर्याप्त नभएको र बेलैमा सचेत नगराएका कारण आफ्नो देशमा महामारी अहिलेको स्तरमा फैलिएको अभियोग ट्रम्पको छ ।

तर ट्रम्पले महामारी नियन्त्रणमा नआउनुमा डब्लुएचओको कमजोर प्रयास कारक रहेको अभियोग लगाए पनि अमेरिकामा उनको प्रशासनले गरेको प्रयास पर्याप्त नभएको भन्दै गम्भीर आलोचना हुँदै आएको छ ।

डब्लुएचओसँगको सम्बन्ध समाप्त गर्ने घोषणा गर्दै ट्रम्पले भनेका छन्, ‘डब्लुएचओमाथि चीनको पूर्ण नियन्त्रण रहेको छ ।’

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रकम अब अरु संस्थालाई प्रदान गर्ने उनले बताएका छन् ।

डब्लुएचओका लागि अमेरिकाले अरु कुनै देश वा दातृ निकायले भन्दा धेरै सहयोग गर्दै आएको छ । सन् २०१९ मा अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन डलर भन्दा बढी सहयोग प्रदान गरेको थियो ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख दुई हजार ८०० भन्दा बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ संक्रमितको संख्या १७ लाख ४६ हजार पुगेको छ ।

आउँदो नोभेम्बरमा हुने चुनावका लागि अभियान चलाइरहेका ट्रम्पले शुक्रबार राष्ट्रपति कार्यालयको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा भने, ‘हामीले आजदेखि डब्लुएचओसँगको सम्बन्ध समाप्त गरेका छौँ र सहयोग रकम अरु संस्थामा जाने छ ।’

उनले अघि भने, ‘चीन सरकारको दुराचारका कारण अहिले विश्व समस्या आएको छ ।’ चीनले डब्लुएचओमाथि दबाब बनाएर विश्वलाई भाइरसका बारेमा ‘मिसलिड’ गरेको अभियोग ट्रम्पको छ ।

ट्रम्पले डब्लुएचओलाई चीनको कठपुतली भएको आरोप पनि यसअघि नै लगाएका थिए।

जेष्ठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्