लकडाउनकैबीच मोरङमा विकास निर्माणका काम सुरु

विराटनगर – दुईमहिनाको लकडाउनपछि मोरङको केरावारी गाउँपालिकामा विकास निमार्णको कार्य सुरु गरिएको छ।

गाउँपालिकाले सडक तथा पुल निर्माणको कार्यलाई अघि बढाएको गाउँपालिका प्रमुख रोहित कार्कीले जानकारी दिए। लकडाउनसँगै स्थानीय तहले सामाजिक दूरी तथा सुरक्षा कायम गर्दै काम अघि बढाएको उनले बताए।

यसक्रममा वडा नम्बर ४ र ५ लाई जोड्ने हुरुरे खोलामा मोटरेबल पुलको निमार्ण कार्य सुचारु रहेको छ। असार मसान्तभित्र पुलको काम सक्नुपर्ने भएकाले लकडाउनसँगै काम पुनः सुरु गरिएको प्रमुख कार्कीले प्रस्टाए।

त्यसैगरि, गाउँपालिकाले दुईवटा गरि ४ दशमलव ६ किलोमिटर कालोपत्रे सडकको कामलाई निरन्तरता दिएको छ। गाउँपालिका प्रमुख कार्कीका अनुसार केराबारी वडा नम्बर ७ स्थित श्रीसार्वजनिक माध्यामिक विद्यालयको दक्षिणबाट खदम खोलासम्म करिब २ दशमलव १ किलोमिटर सकडमा प्राइमर लगाउने कार्य शुक्रबारदेखि सुरु भएको हो।

सुनसरीको पुष्पाञ्जली साह श्री कृष्ण जेभीले निर्माण गरिरहेको सडकको लागत १ करोड ७२ लाख रुपैयाँ रहेको छ। त्यसैगरि, वडा नम्बर ५ र ६ को सीमाबाट धरान उपमहानगरपालिका पानमारासम्म जोड्ने सडकको कामले पनि तीव्रता पाएको गाँउपालिका सूचना प्रविधि अधिकृत सुभाष सुवेदीले जानकारी दिए।

४ किलोमिटरको धरानसम्म जोड्ने सो सडकको हाल २ दशमलव १ किलोमिटरसम्म कालोपत्रे प्राइम गर्ने कार्य भइरहेको उनले बताए।

त्यसैगरि, गाउँपालिकाले मच्छिन्द्र माविको खेल मैदानलाई कम्तीमा ५ हजार दर्शक अट्ने क्षमताको स्टेडियम निर्माण कार्य सुरु गरेको उनले बताए। सुनसरीको कौशिक बन्धु कन्स्ट्रक्सनले खेलमैदानको भीआइपी मञ्च निर्माण गरिसकेको र लकडाउनका क्रममा चिसांग कन्स्ट्रक्सनले प्याराफिट निर्माणको कार्य अघि बढाएको हो।

निर्माण कार्यसँगै बाहिरबाट आएका मानिसलाई कोरोनाभाइरस कोभिड १९ को आशंकामा राख्नका लागि ५० शैयाको क्वारेन्टाइन निर्माण गरिरहेको प्रमुख कार्कीले बताए।

मच्छिन्द्र माविको भवनलाई क्वारेन्टाइनको अन्तिम तयारी गरिएको बताएका कार्कीले स्थानीय स्वास्थ्य चौकीमा १२ शैया र कालापानीस्थित सर्पदंश उपचार केन्द्रमा ८ शैयाको क्वारेन्टाइन सुचारु अवस्थामा रहेको उनको भनाई छ।

हाल स्वास्थ्य चौकी क्वारेन्टाइनमा भारतबाट आएका ८ जनालाई राखिएको बताएका प्रमुख कार्कीले सबैजनाको कोभिड-१९ को आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको स्पष्ट पारे।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्