हाम्रो आवाज पनि सुन्नुहोस्- ४

सुस्त श्रवणका लागि मिडियामा क्याप्सनिङ चाहिन्छ

नेपाल सरकारले अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न देशलाई नै लकडाउन गरेको अबस्था छ। यस्तो बेलामा हामी सबैजना सुरक्षित साथ घरमै बसी यस विषम परिस्थितिलाई  संबेदनशील भई धैर्यताका साथ सामना गर्न आवश्यक छ। यो लकडाउन अरू कसैको लागी नभएर यो सम्पूर्ण हामी नेपाली जनताको जीवन रक्षाका लागि नै हो भनेर मैले बुझेको छु। यस्तो  बेलामा हामीले घरमै बसी नेपाल सरकारको सूचनाहरू बिभिन्न सञ्चार माध्यमहरूको सहायता लिएर त्यसलाई फलोअप गरिराख्नुपरेको छ।

यस्तो बेलामा सञ्चार माध्यमहरूको भूमिका निकै महत्वपूर्ण रहन्छ। सञ्चार माध्यमहरूले विभिन्न तरिकाले आम जनसमुदायलाई सही सूचना र जानकारी दिने काम गरिरहेका हुन्छन्। जसरी भएपनि सञ्चार माध्यमहरूले सूचना सम्प्रेषण, प्रकाशन/प्रशारण त गर्छ नै तर यहाँ कुरा आउँछ, ती प्रसारण गरेको सूचना/जानकारीको प्रभावकारिताको। यहाँ प्रभावकारिताको अर्थ आम जनसमुदायले कुन कुन तरिकाले, कसरी सूचना प्राप्त गर्ने काम भइराखेको छ भन्ने हो।

देशमा बिभिन्न किसिमका अपाङ्गता भएका ब्यक्तिहरू रहेको पाइन्छ। तीमध्ये सुस्त श्रवण भएका व्यक्तिहरू पनि एक हो। सुनाइ अपाङ्ताको कारणले उनीहरूलाई सही सूचना र जानकारी पाउनको लागि कुनै पनि सूचना वा समाचार लिखितरुपमा दिन अति आवश्यकता हुन्छ। साथै टेलिभिजनमा गरिने कुनै पनि समाचारसँगै आएको क्याप्सनिङ्ले सुस्तश्रवण भएका ब्यक्तिहरूको उक्त समाचारको पहुँचको प्रभावकारिता निर्धारण गर्दछ। त्यही अनुसार उनीहरुले सूचना ग्रहण गरिरहेका हुन्छन्। तर विडम्बना, नेपालका कुनै पनि सञ्चार माध्यमसरूमा क्याप्सनिङको ब्यवस्था भएको पाइँदैन।

जसकारण देशमा रहेको सुस्त श्रवणलाई भएका व्यक्तिहरूलाई सही सूचना प्राप्त गर्न निकै गाह्रो परिराखेको छ। दिनानुदिन संक्रमित सङ्ख्या बढ्दै गएको छ, हामीले सरकारको सूचना अनुसार सतर्कता अपनाउनुपर्ने अबस्था पनि उतिकै खड्किएको छ। सरकारको आधिकारिक सूचनाहरू टेलिभिजनहरूले क्याप्सनिङ सहित सम्प्रेषण गरेको छैन। यसरी हामी माझ क्याप्सनिङको ब्यबस्था नभइदिँदा सही सूचना र जानकारी पाउन निकै गाह्रो भएको छ। विभिन्न अनलाइन मिडियाहरूबाट फरक फरक डाटा राखेर समाचार सम्प्रेषणले सबैलाई अलमलमा पारेको छ। हामी आधिकारिक सही सूचना प्राप्त गर्न बाट टाढा रहेको अबस्थामा छौँ।

अहिले, यतिबेला कोरोना रोगको बिषयमा अधिकारिक जानकारी दिने भरपर्दो सूचना स्रोतको रूपमा नेपाल सरकारको “स्वास्थ्य तथा जनसंख्या मन्त्रालय” को प्रत्यक्ष प्रसरण गर्ने नेपाल टेलिभिजन र मन्त्रालयको फेसबुक पेज रहेको छ। यसले हरेक दिन मिडिया ब्रिफिङ मार्फत प्रत्यक्ष रूपमा कोरोना महामारी बारे देशभरकै लागि जानकारी दिँदै आइरहेको छ। तर लाखौँ मान्छेले हेरिने यस मिडिया ब्रिफिङमा पनि नेपाल सरकारले क्लोज क्याप्सनिङको ब्यवस्था गर्न सकेको छैन। सुस्त श्रवण भएकाहरूले बारम्बार क्याप्सनिङको ब्यबस्था हुनुपर्छ भनेर माग गरिरहँदा पनि सरकारको ध्यान जान सकेको छैन। सांकेतिक भाषाको प्रयोग गरेको देख्न त पाइन्छ जुन कान सुन्दै नसुन्ने बहिरा व्यक्तिहरुलाई अति उपयोगी हो, तर सुस्तश्रवणहरू हियरिङ एड लगाइ आफ्नो सुन्ने क्षमतामा भर पर्ने भएकाले विशेष गरी सांकेतिक भाषामा भर पर्दैनन्।

देशमा कति संक्रमित भए, कति मरे, कति निको भएर घर फर्किए, के के कुरामा सजग हुनु पर्छ, आदि आदि भन्ने कुरा स्पष्टसँग बुझ्ने त सुस्तश्रवणहरूको पनि अधिकार होनि! तर किन सुनिराखेको छैन सरकारले यो आवाजलाई। सुस्त श्रवण भएकै कारणले आफ्नो छुट्टै समस्या त छँदैछ तर सरकारले यस्तो महामारीको बेलामा गरिएको व्यवहारले झनै फरक किसिमको पिडा दिन खोजिएको जस्तो भान हुन थालेको छ। आखिरमा कहिलेसम्म यस्तो समस्या भोगिरहने सरकार?

त्यसैगरी यतिबेला धेरै जसो मान्छेहरू शहरबाट गाउँतिर आएका छन्। तर गाउँतिर इन्टरनेट सेवाको पनि राम्रो सुबिधा नभएकोले उनीहरू लिखित अनलाइन समाचार पढ्नबाट पनि टाढा रहेको पाइन्छ। टिभीहरूमा समाचार आएपनि क्याप्सनिङको ब्यबस्था भएको छैन। कुनै साथीबाट जानकारी पाउन लागि उनीहरूसँग फोनमा कुराकानी हुन सकेको छैन। किनभने सुस्तश्रवण  भएकाहरूले फोनमा कुराकानी गरेको आवाज राम्रोसँग बुझ्न सकिँदैन। यसले गर्दा उनीहरू यस्तो बेलामा मानसिक समस्या पनि भोग्ने गरेको पाईन्छ। यस बिषम परिस्थितिमा पनि यस्ता समस्याहरू समाधान गर्नतर्फ सरकारको ध्यान नजानु को कारण के हो मैले बुझ्न सकेको छैन।

सुस्त श्रवणलाई भएका व्यक्तिहरूलाई सही सूचना प्राप्त गर्न निकै गाह्रो परिराखेको छ। दिनानुदिन संक्रमित सङ्ख्या बढ्दै गएको छ, हामीले सरकारको सूचना अनुसार सतर्कता अपनाउनुपर्ने अबस्था पनि उतिकै खड्किएको छ।

नेपालमा सञ्चालित मूलधारका टेलिभिजन च्यानलहरूमा मात्र नभएर हरेक किसिमको सूचना र जानकारीहरू सम्प्रेषण वा प्रशारण गर्ने सञ्चार माध्यमहरूमा लाइभ क्याप्सनिङको ब्यबस्था हुन पर्ने निकै जरूरी छ। यति व्यवस्था भईदिँदा सम्पूर्ण सुस्त श्रवणहरूको लागि सुचनामा पहुँच बढाउन र आफ्ना विचार आदानप्रदान गर्न धेरै सहयोग पुग्ने थियो।

म आफै पनि एक सुष्तश्रवण ब्यक्ति हो। कक्षा सातसम्म राम्रै सुन्थेँ म, पढाइमा पनि राम्रै थिएँ म, न धेरै जान्ने न त धेरै भुष्कुल नै। मेरो पढाइ ठिकै चलिराखेको थियो। तर २०६७ साल तिर मेरो कानमा देखिएको सानो समस्याले मेरो कान सुन्ने क्षमता कमी हुँदै गई सुस्तश्रवणको समूहमा गनिने बनायो मलाई। यसले गर्दा अहिले ममा पनि धेरै समस्याहरू सिर्जना भएको छ, म एक टेलिभिजनकर्मी पनि हो, भिडियो खिच्छु। कामकै सिलसिलामा धेरै ठाउँहरू जानुपर्ने हुन्छ तर कान राम्रोसँग नसुन्ने भएकोले त्यो ठाउँसम्म कसरी पुग्ने भन्ने कुराले निकै गाह्रो पारिराखेको हुन्छ। कहिँ जाँदा बाटोमा छेउको मान्छेलाई सोध्यो भने पनि उनीहरू के बोलेको हो बुझ्नै गार्हो हुन्छ। उनीहरूको बोलेको कुरा मैले ओठको चालले ठम्याउनुपर्ने हुन्छ। सम्बन्धित ब्यक्तिको फोन नम्बर नै लिएर गएपनि फोनमा कुरा गर्न सकिँदैन। कहिलेकाहिं फोनमा कुरा नबुझिँदा रिस पनि उठ्छ त्यसैले हतपत मैले धेरै जसोको फोन नै रिसिभ गर्दिन। बरू फोन काटेर मेसेज गर्नेगर्छु। लिखित रूपमा टेक्स्ट मेसेज नै पठाई जवाफको लागि अनुरोध गर्छु। तर पनि मेसेजको जवाफ नै आउँदैन।

कहिलेकाहिँ काम गरिराखेकै बेलामा कार्यक्रमहरूको विभिन्न तरिकाले भिडियो खिच्नपर्ने हुन्छ, सम्बन्धित ब्यक्तिको इशारा, आदेश अनुसार काम गर्नुपर्ने हुन्छ तर कान राम्रो नसुनिँदा त्यो बेलामा निकै गाह्रो भई आत्मग्लानिको अनुभव पनि हुन्छ कि मैले गर्दा काम बिग्रिने भयो भनेर। साथै कुनै बेला काम बिग्रेर काम नै छोड्नुपर्ने हो कि भन्ने कुराले सधैँ नै भयभीत पारिराखेको हुन्छ। सधैँ नै यो चिन्ताले मलाई पिरोलिरहेको हुन्छ। यस्ता समस्याहरू झेल्दै गर्दा अर्को समस्या कोरोना महामारी थपिन पुगेको छ। अहिलेको यो लकडाउनको अबस्थामा हामी सुष्तश्रवणहरूले झनै मारमा परेका छौँ। म आफै पनि सुस्त श्रवण भएकोले यो समस्याको भुक्तभोगी हो। साथीभाइहरु र काम गर्ने समकक्षिहरुसँग कुरा गर्न नसकेर मानसिक तनाव बढ्ने हो कि भन्ने भान भइरहेको छ।

त्यसैगरी, मेरो पढाइको अवस्था भन्नु पर्दा, अहिले म स्नातकोत्तर तह पढ्न सूरू गरेको छु। पत्रकारिता बिषय लिएर पढ्दै गरेको म क्याम्पसमा पढाइ सुरू हुन थालेको एक महिना नपुग्दै कोरोनाले गर्दा क्याम्पस बन्द भयो। तर लकडाउन कहिले खुल्ने बारेमा अनिश्चितता भएपछि त्रिभुवन विश्वविधालय र क्याम्पस प्रशासनको निर्णय अनुसार अनलाइन क्लास सुरूहुने भयो ।

आफू सुस्तश्रवण परियो, क्लासमा ८५% उपस्थित हुनुपर्ने, तर सरले बोलेको बुझ्न अति गाह्रो हुने भयो। म जस्तो सुस्तश्रवण भएकाले कसरी लिने यो अनलाइन क्लास जब कि पढाइ नै बुझ्न सकिँदैन भने। केही दिनसम्म अनलाइन क्लासमा उपस्थित हुन थालेको थिए तर पढाइ बुझ्न अति नै गाह्रो भएपछि अहिले क्लासमा उपस्थित हुनै मन लाग्दैन। चिन्ता लागिरहेको छ कि मैले उपस्थिति कसरी पुर्‍याउने। अनलाइन क्लासमा सरले बोलेको कुरा प्रष्ट हुँदैन। मैले हियरिङ एड पनि लगाउँछु तर अनलाइनमा कुरा गर्दा भने नाचुरल नहुने भएकाले कुरा बुझ्न सकिँदैन। यसमा पनि क्याप्सनिङमा र लिखितमा पनि कुरा हुने भएको भए बुझ्ने थियो। यस्तो छ मेरो अवस्था। कसैले त सुनिदियोस् मेरो अवस्था हाम्रो अवस्था। हाम्रो समस्याहरु अदृश्य हुने भएकोले हामी आफैले नभनिकन वा नबोलिकन नहुने त्यसमा पनि मेरो पढाइको बिषय नै पत्रकारिता भएको हुनाले अब मेरो समस्याहरु अब पत्रकारिताको माध्यमबाट नै सरकार समक्ष पुर्‍याउने धोको लिएको छु।

त्यसैले म सरकारलाई फेरि यो अवगत गराउन चाहन्छु कि हामी जस्ता सुस्तश्रवण भएका ब्यक्तिहरूलाई कुनै पनि विषयमा सहि जानकारी पाउनको लागि क्याप्सनिङ अति आवश्यक माध्यम हो। यो क्याप्सनिङ सुस्तश्रवणहरूको लागी मात्र उपयोगी नभएर अक्षर चिन्न सक्ने सम्पुर्णको लागी अति उपयोगी हुन्छ। तर नेपालको सञ्चार माध्यमहरूमा यसको ब्यबस्था गरिएको पाईदैन। किन? सरकारको छिटै यस्ता समस्या समाधान गर्न तर्फ ध्यान जावोस!

(लेखक श्रुति संस्थाको कार्यकारी सदस्य हुन्)

 

जेष्ठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्