अस्पतालमा कोरोना संक्रमित भर्ना नगरे कारबाही गर्ने सामाजिक विकास मन्त्रीको चेतावनी

मोरङ– कोरोना भाइरसका २७ जना संक्रमितलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना लिन नमान्दा विवादमा तानिएको छ।

झापाको कचनकवल गाँउपालिकाबाट शुक्रबार राती धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका कोरोना संक्रमितलाई भर्ना नलिएर रातभर बाहिरै राखेपछि विवाद उत्पन्न भएको हो।

संक्रमितलाई भर्ना नलिएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालसँग संक्रमित भर्ना नलिनुको कारण र भएको कमजोरीको विषयमा जानकारी माग गरेका छन्।

संक्रमितलाई भर्ना नलिएको खबरसँगै अस्पताल पुगेका मन्त्री घिमिरेले संक्रमितलाई भर्ना गर्न निर्देशन दिँदै आगामी दिनमा कमीकमजोरी नदोहरीने वातावरण मिलाउन निर्देशन दिएका छन्।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँगै निर्देशकहरुलाई निर्देशन दिँदै मन्त्री घिमिरेले यसप्रकारको घटना पुनः दोहरिए कारबाही गर्ने चेतावनी दिए।

यसअघि प्रतिष्ठानका उपकुलपति डा. गिरीले विपीको कोभिड उपचार केन्द्रमा १ सय ५० वेड तयारी अवस्थामा रहेको बताएका थिए। मन्त्री घिमिरेले भने, ‘सोही तयारी अनुसार नै झापाबाट संक्रमितहरुलाई धरान पठाइएको हो। संक्रमितहरुलाई भर्ना नलिएर रातभर बाहिर नै राख्नु सह्य छैन।’

प्रदेश १ मा हालसम्म १ सय ५८ संक्रमित मध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३४ जना र धरानमा ९४ जना उपचाररत रहेका छन्।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्