पत्रकार बीफा चौधरीमाथिको आक्रमणप्रति नेपाल थारु पत्रकार संघद्वारा आपत्ति, दोषीलाई कारबाही गर्न माग

काठमाडौं- रेडियो नमस्ते टीकापुरमा कार्यरत पत्रकार बिफा चौधरीमाथि शुक्रबार राति तीनजनाको अज्ञात समूहले गरेको सांघातिक आक्रमणप्रति नेपाल थारु पत्रकार संघले गम्भीर आपत्ति जनाएको छ।

संघले विज्ञप्ति जारी गर्दै मानवताविरुद्धको जघन्‍य अपराधका दोषीलाई छानबिन गरी कानुनी कारबाहीको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘टीकापुरको रेडियो नमस्ते एफएम ९६.५ मेगाहर्जमा कार्यरत पत्रकार बीफा चौधरीमाथि शुक्रबार राति सांघातिक आक्रमणको घटनाप्रति नेपाल थारु पत्रकार संघ, केन्द्रीय कार्यालय काठमाडौंको गम्भीर ध्यानाकर्षण भएको छ। तीनजनाको अज्ञात समूहले पत्रकार चौधरीको कोठामा राति ९ बजे प्रवेश गरी घाइते बनाएको छ। उनलाई सलले घाटी थिचेर मार्ने प्रयास गरेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुनुका साथै मानवताविरुद्धको जघन्य अपराध हो।’

यसका साथै संघले पत्रकार चौधरीलाई सुरक्षाको माग समेत गरेको छ।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्