तुलसीपुर हत्या प्रकरणमा चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी मन्दिप भुजको हत्या आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको बयान र विभिन्न प्रमाणका आधारमा घटनामा चारजनाको संलग्नता देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले निष्कर्ष निकालेको छ।

हत्या आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवी निवासी सौरभ पोख्रेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी अजय बुढाथोकी र आशिष नेपाली, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ओमबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेकाे हो।

उनीहरुले शुक्रबार राति भुजसँगै एउटै होटेलमा नास्ता खाएर निस्केको समेत प्रहरीले जनाएको छ। यस विषयमा थप अध्ययन गरेर आइतबार पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी गराउनेसमेत प्रहरीले जनाएको छ। प्रहरीले भुजलाई हत्या गर्न प्रयोग गरेका हतियार, ढुंगालाई पनि सुरक्षित राखेको छ।

इप्रका तुलसीपुरका प्रक्ता चक्रडमर पालका अनुसार घटनाको अनुसन्धान अन्तिम अवस्थामा पुगेको भन्दै आइतबार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताए।

मृतक भुज तुलसीपुरमा ‘वल्डिङ’ गर्ने काम गर्दै आएका थिए। उक्त घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दलाई खटाएको छ।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्