संविधान संशोधनले निम्त्याउने सुरक्षा खतराबारे छलफल

काठमाडौँ- राष्टिय सुरक्षा परिषदको बैठकमा देशको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नियमित बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समग्र सुरक्षास्थितिबारे जानकारी लिएका छन्।

स्रोतका अनुसार बैठकमा संविधान संशोधन अक्रिया अघि बढाउँदा उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा खतराबारे छलफल भएको छ।

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘बैठकमा मिडियालाई सार्वजनिक गर्न नमिल्ने खालका सामरिक महत्वको सुरक्षाका विषयमा छलफल भयो।’

संसदमा दर्ता भएको संशोधन प्रस्ताव अघि बढाउने तयारी सत्तारुढ नेकपा र सरकारले गरेको अवस्थामा उत्पन्न हुन सक्ने सुरक्षास्थितप्रति संवेदनशील रहन अध्यक्ष ओलीले निर्देशन दिएका छन्।

सुरक्षा परिषदको बैठक लगत्तै बालुवाटारमै मन्त्रिपरिषदको बैठक पनि बसिरहेको छ।

जेष्ठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्