नालीमा बोरा हालेर मुलबाटोमा बाढी लगाइयो

काठमाडौँ – झट्ट सुन्दा पत्यार नलाग्ला, तर काठमाडौँमै केही व्यक्तिले ड्रेन (नाली) थुनेर वर्षाको भलबाढी मुलबाटोमा लगाइ दिएका छन्। जोरपाटीबाट साँखु हुँदै मेलम्चीसम्म पुग्ने सडकखण्डमा केही व्यक्तिहरुले बोरामा माटो भेरर नाली थुनिदिएका हुन्।

शंखरापुर नगरपालिकाको साँखु–जरसिंहपौवा खण्डमा पर्ने फेदीको वनमा शनिबार आठ ठाउँमा ड्रेन थुनेर वर्षाको पानी मुख्य सडकमा लगाइ दिइएको स्थानीय केदार दाहालले जानकारी दिए। उनका अनुसार वर्षामा बालुवा जम्मा गर्ने उद्देश्यले त्यसरी मुख्य सडक नै बगाउने गरी भल थुनिएको हो।

मुलबाटो नै वर्षाको पानीले चिराचिरा बनाउने गरी भल थुनिएपछि स्थानीयले विरोध जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

शंखरापुर–१ का लक्ष्मण दंगालले बोरामा माटो भेरर वर्षाको पानी सडकमा लगाउनलेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्। उनले दैनिक सयौँ सवारी साधन चल्ने मुख्य सडकलाई बिगार्ने नियत भएकालाई नगरपालिका र प्रहरीले पक्राउ गरेर कारबाहीको दायरामा ल्याउनु पर्ने बताए।

त्यस्तै सडकबाट दैनिक आवात जावत गर्ने इन्द्राकुमारी तामाङले पनि खराब नियत भएकालाई कारबाही गर्न माग गरिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छिन्, ‘यो काम खराब नियतको मान्छेले गरेको हो। मैले पनि देखेँ जंगलको शिरानदेखि पुच्छरसम्म राखिएको छ। वडा र नगरको ध्यान जाओस्।’

शंखरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी शाक्यले भल थुनेको थाहा भएपछि सडक विभागलाई खबर गरिएको जानकारी दिइन्। उनले भनिन्, ‘हामीले सडक विभागलाई खबर गरिसकेका छौँ । यसमा स्थानीयले पनि ध्यान दिनुपर्छ। प्रहरीलाई पनि भनेका छौँ ।’

शंखरापुर–३ का वडाअध्यक्ष सन्तबहादुर तामाङले राखिएको बोरा हटाउने काम भइसकेको र उक्त काम गर्नेको खोजी भइरहेको जानकारी दिए। उनले भने, ‘यो ज्यादै नराम्रो काम भएको छ। हामीले नालीमा हालिएको बोरा हटाउन थालिसकेका छौँ । कसले त्यस्तो गरेको हो छानबिन गर्छौैँ ।’

जेष्ठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू