विद्युतीय बसमा लगाइएको करमा पुनर्विचार गर्न पूर्व अर्थमन्त्री पाण्डेको आग्रह

काठमाडौँ – नेकपाका सांसद सुरेन्द्र पाण्डेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको बताएका छन् ।

नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली भन्दा फरक खेमाका नेता पाण्डेले बजेटमा केही सुधार गर्नु पर्ने देखिए पनि अधिकांश रुपमा सकारात्मक रहेको बताएका हुन् ।

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले बजेटले वास्तविकतालाई सम्बोधन गरेको बताए । पूँजीगत खर्च कम भइरहेका बेला बजेट कार्यान्वयनमा चुनौती रहेको बताउँदै उनले चालु खर्चमा राजश्वमा थप ६० अर्ब थप्नुपर्ने अवस्था रहेको उनले बताए ।

आन्तरिक ऋण उठाएर चालु खर्च गर्दिन भन्नु राम्रो रहेको तर राजश्व उठेन भने ऋण लिएर तलब दिनुपर्ने हुन सक्ने तर्फ उनले सचेत गराए ।
प्रदेश र स्थानीय तहले खर्च गर्नु सक्नु पर्नेमा जोड दिँदै उनले भने, ‘पैसा मात्र पठाएर भएन, खर्च गर्न सक्ने क्षमता बढाउनुपर्छ।’

यस्तै स्वास्थ्यमा बजेटले गरेका व्यवस्थाहरु सकारात्मक रहेको उनले उल्लेख गरेका छन् । काठमाडौँमा ३०० बेडको अस्पताल बनाउने तथा प्रदेशस्तरमा अस्पताल बनाउने योजना सकारात्मकको उनले बताए ।

व्यवसाय गर्न चाहनेका लागि सहुलियतमा ऋण दिन ५० करोडको कोष स्थापना गर्नु अर्कोे पनि सकारात्मक रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै विद्युतीय गाडीका कर लाउनुका पछाडि विदेशी मुद्राको सञ्चिती राख्न गरे पनि सच्याउन आवश्यक रहेको उनले बताए । विदेशी सहयोग र ऋण आउन सक्दैन भन्नु वास्तविक नरहेको भन्दै उनले बजेटले गुनासो र गनगन मात्र होइन आकांक्षा पनि राख्न सक्नु पर्ने बताए ।

जेष्ठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्