प्रदेश-१ मा मन्त्रीलाई घेरेर थेरापी केन्द्र नसार्न स्थानीयको आग्रह

मोरङ- सामाजिक विकास मन्त्रालय प्रदेश एकले विराटनगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सार्ने निर्णय गरेपछि स्थानीयले विरोध गरेका छन्।

विराटनगर महानगरपालिका ४ जामुनगाछीमा रहेको केन्द्र अर्को वडा नम्बर ७ रेडक्रस भवनमा सार्ने निर्णय मन्त्रालयले गरेपछि विरोध सुरु भएको हो।

आइतबार सामाजिक विकास मन्त्री जीवन घिमिरे थेरापी गर्नका लागि केन्द्र पुगेपछि स्थानीयले केन्द्र अर्को वडामा नसार्न आग्रह गरेका थिए। मन्त्री जीवन घिमिरेलाई भेट्दै निर्णयको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले आयुर्वेद सार्ने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

सो क्रममा मन्त्री घिमिरेले जग्गा र संरचना अभाव भएकाले आयुर्वेद सार्न खोजिएको जानकारी दिए। प्रकृतिक चिकित्सा पद्धती, योगा र आयुर्वेदको सेवा एकै स्थानबाट दिने योजनासहित सरकार अघि बढेको र त्यसका लागि आवश्यक जमिन र संरचना अपुग भएपछि सार्न खोजिएको उनले बताए।

यद्धपी, हिजोको दिन अलपत्र अवस्थामा रहेको केन्द्रलाई जामुनगाछीमा राख्न दिएको बताउँदै नेकपा विराटनगरका अध्यक्ष सागर थापाले स्थानीयकै पहलमा सुरक्षासहित जामुनगाछीमा स्थापना गरेको बताए।

अध्यक्ष थापाले हाल केन्द्रले प्रभावकारी सेवा दिन सुरु गरेपछि अन्यत्र सार्ने निर्णय गर्नुमा चलखेल सुरु भएको आरोप लगाए। अध्यक्ष थापाका अनुसार जामुनगाछीस्थित आफ्नै भवनमा रहेको केन्द्रलाई भाडाको घरमा पुराउने षड्यन्त्र नगर्न प्रदेश सरकारलाई सुझाव दिए।

त्यसैगरि, विराटनगर–४ का वडा सदस्य तुलसीप्रसाद घिमिरेले मन्त्रालयले आयुर्वेद सार्ने निर्णय धेरै अघि गरेको भए पनि आफूहरुलाई भर्खर थाहा भएको प्रस्टाए। मन्त्रालयले स्थानीय बासिन्दा, जनप्रतिनिधि कोहीसँग पनि छलफल नगरिकन आफ्नो हिसाबले एकलौटी निर्णय गरेको उनको भनाइ छ।

मोरङमा २०५३ सालमा आयुर्वेद केन्द्रको स्थापना भएको हो। भाडाको घरबाट सञ्चालनमा आएको केन्द्रलाई दाताले २०६५ सालमा जामुनगाछीमा १८ धुर जग्गा उपलब्ध गराएपछि हाल केन्द्रको आफ्नै दुइ तल्लाको ९ कोठाको भवन रहेको छ।

यद्धपी केन्द्रले सेवा प्रवाहका लागि हाल जग्गा र संरचना अपुग भएको जनाउदै आएको छ। आयुर्वेद केन्द्रका प्रमुख डा. रवीन्द्र निरौलाका अनुसार पुरानो संरचनामा ल्याब, क्षारसुत्र, पञ्चकर्म तथा थेरापीका लागि कोठा कम भएपछि केन्द्रले मासिक ४५ हजार रुपैया खर्चिएर अर्को घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ।

संरचना अभाव भएसँगै मन्त्रालयको निर्णयपछि आयुर्वेद सार्ने तयारी गरिएको डा. निरौलाको भनाइ छ।

जेष्ठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्