संस्कारसहितको व्यवहारिक शिक्षा

हामीले हाम्रा सन्तानहरूलाई कस्तो शिक्षा दिइरहेका छौँ ? हाम्रा बालबालिकाहरूले आफूलाई कति व्यवहारिक सावित गर्न सफल भए ? भन्ने कुराले हामी शिक्षकहरू कति सफल भयौँ भन्ने निर्धारण गर्छ । कम्प्युटर शिक्षा अध्यापन गरिरहँदा त्यसमा निर्धारण गरिएको स्टेप बाइ स्टेप भन्ने पाठले निकै ठूलो र मार्मिक शिक्षा दिन खोजेको जस्तो लाग्छ । प्राथमिक तहमा पढाइ हुने उक्त  पाठ ससाना बालबालिकाहरूलाई पढाउन थाल्दा हामीले शिक्षालाई स्टेप बाइ स्टेप रुपमा दिन सकिरहेका छौँ कि छैनौँ ? भन्ने कुराले झस्काउँछ । हामीले आफ्ना सन्तानहरूलाई पहिले के सिकाउनु पर्ने थियो र के सिकाइँदै छ ? भन्ने कुरा हो । महशुस हुन्छ कि जब मान्छे सानो हुन्छ उसले आफ्नो भाषा, धर्म, संस्कृति, संस्कार आदिको बारेमा सिकाइनु पर्ने थियो तर हामीले उनिहरूलाई  गणित वा विज्ञानका सुत्रहरू वा अंग्रेजीका शब्दहरू सिकाउन थाल्यौँ ।  बालबालिकाहरूलाई हाम्रो पारिवारिक मानसम्मान, मर्यादा, अभिवादनको तरिका र त्यसको मूल्य मान्यताका बारेमा जानकारीनै गराएनौँ । जब उनीहरू वयस्क हुन पुगे त्यसबेला मात्र उनिहरूबाट उक्त कुराहरूको  अपेक्षा गर्न थालियो । जुन कुरा बाल मष्तिष्कमा हामीले राखि दिन भ्याएकै थिएनौँ । उनिहरूलाई त हामीले ए प्लस कसरी ल्याउने भन्नेमा मात्र प्रशिक्षित गरेका थियौँ ।

सर्वप्रथम त हामीले हाम्रा बालबालिकाहरूलाई तोते बोली बोल्ने बेलादेखि नै हाम्रो संस्कृति र संस्कारहरूका बारेमा उनीहरूलाई सिकाउन छोड्यौँ । ससाना नानी बाबुहरूले अहिले  आमा भन्ने शब्द केबल हजुर आमाहरूको लागि मात्र प्रयोग गर्छन् भने आफ्नी आमालाई उनिहरूले मम्मी भन्ने सिकाएका छौँ । अथवा हामीले हाम्रो भाषा संस्कृति चालचलन आदिलाई अपहेलना गर्न थालेका छौँ । विहान विहानै स्नान गरी अखण्ड दीप प्रज्वलन गरी अष्ट चिरञ्जिविहरूको पूजा गरेर मनाइने  हाम्रो जन्मोत्सव चटक्कै छोडेर  जन्मदिनका दिन बेलुका केक काट्ने र ह्याप्पी वर्थ् डे टु यु भन्दै बत्ती निभाएर जन्म दिन मनाउने कल्चर शुरु गरिसकेका छौँ । शुभ कार्यमा बालेको बत्ती कुनै कारणवश निभ्यो भने पनि अशुभ मानिने हाम्रो संस्कारमा अहिले भने जानिजानी बत्ती निभाउन थालिएको छ।

संस्कृति आआफ्नै हुन्छन् । सबैले आफ्नो संस्कृति र संस्कारलाई आत्मसात गरेका हुन्छन् । लिखित संम्झौता तोड्दा मानिसलाई केवल दण्डको भय हुन्छ । तर परम्परादेखि चलि आएको कुरा तोड्न उसलाई धेरै कठिन हुन्छ । हामीले हाम्रा ससाना नानीबाबुहरूलाई हाम्रो आदर्श के हो ? नालनाताका बिचको सम्बन्ध के हो ? खान पान, रहन सहन आदिको बारेमा मौलिकपन बारे जानकारी नै गराउन सकेनौँ जस्तो लाग्छ । भाषा पनि हामीले शुद्ध नेपाली सिकाउनु भन्दा बोली नफुट्दै जबरजस्ती अंग्रिजी लाद्न खोज्यौँ । हाम्रा ससाना नानीबाबुहरूले बिरालो, बाघ, गाई, आँप आदि नचिन्ने हुन लागे । उनिहरूले क्याट, सटाइगर, काउ, म्याङ्गो जस्ता कुराहरू मात्र जान्न थाले र हामी त्यसैमा गौरव गर्न थाल्यौँ । हामीले परिवारमा उसको दायित्व के हो ? उसले कसलाई सम्मान र कसलाई माया गर्नु पर्ने हो ? भन्ने बारेमा पनि हामी सचेत भएनौँ । जेष्ठनागरिकहरूबाट उनिहरूलाई पूराना पुराना कुराहरू सिकाउने वातावरण कहिल्यै पनि मिलाइ दिने चेस्टा गरेनौँ ।हामी आफूले आफ्ना अभिभावकहरूलाई उनिहरूका सामु सम्मान गरेर प्रभाव पार्न पनि सकेनौँ फलस्वरुप जीवनको उत्तरार्धमा आवश्यक पर्ने स्याहार, सुसार, माया, ममता आदि उनिहरूलाई जानकारी नै गराएनौँ जसले गर्दा आफूले पनि प्राप्त गर्न सकेनौँ ।

बाल्यकालमा मष्तिष्कमा परेको छाप सबै भन्दा गहिरो हुन्छ भन्ने कुरा जानिजानी हामीले हाम्रा सन्तानहरूलाई गलत संस्कृति दिइरहेका छौँ । बाल्यकालमा जुनसुकै समुदायको पनि संस्कार सिक्ने समय हो ।  त्यस बेला बालमष्तिष्कमा परेको छाप मेटाउन धेरै गाह्रो पर्छ । आफ्ना अभिभावक, शिक्षक र साथीहरूबाट सिकेको कुरा सबैभन्दा विश्वसनीय हुने कुरा विभिन्न अनुसन्धानहरूको ठम्याइ छ । त्यसैले ससाना बालबालिकाहरूलाई झुक्किएर पनि गलत कुरा सिकाउनु हुन्न ।

हाम्रो देशको शिक्षा प्रणालीले यस्ता कुराहरूमा कति ध्यान दिन सकेको छ ? यसमा गम्भिर हुन जरुरी छ । जो मानिस संसारमा अग्रस्थानमा छ उसले आफ्नो सभ्यता राम्रोसँग बुझेको छ । चाहे त्यो जुनसुकै सम्प्रदायमा हुर्किएको होस उसले आफ्नो संस्कृति राम्रोसँग बुझ्नु जरुरी छ । मानिस जन्मैदेखि विद्वान हुने होइन । उसले पाएको संस्कारले उसलाई विद्वान वा मूर्ख बानउने हो ।  त्यसैले हामीले हाम्रो शिक्षा प्रणालीमा केही परिवर्तन गर्न आवश्यक छ । हाम्रा दैनिक व्यवहारका कुराहरू आफ्नै भाषामा बुझेको हुनु पर्छ । संस्कृति सम्बन्धी कैयौँ कुराहरू अर्को   भाषामा अनुवाद गर्न शब्द प्राप्त हुँदैनन् । यस्तो जान्दाजान्दै पनि हामीले जबरजस्ती विद्यार्थीहरूमा  अर्काको भाषा लादि रहेका छौँ । जसले गर्दा हाम्रा बालबालिकाहरू आफ्ना जीवन-संस्कारका कतिपय कुरामा महसुस गर्न नसक्ने भए । अर्काको कल्चर महसुस गर्न सकिने कुरै भएन आफ्नो पनि भएन ।  हाम्रो शिक्षा पद्दतीले मौलिकताको सम्मान गर्न नसकेको जस्तो महशुस हुन थाल्यो ।

बाल्यकालमा मष्तिष्कमा परेको छाप सबै भन्दा गहिरो हुन्छ भन्ने कुरा जानिजानी हामीले हाम्रा सन्तानहरूलाई गलत संस्कृति दिइरहेका छौँ । बाल्यकालमा जुनसुकै समुदायको पनि संस्कार सिक्ने समय हो ।  त्यस बेला बालमष्तिष्कमा परेको छाप मेटाउन धेरै गाह्रो पर्छ ।

समाजमा रहने सबै व्यक्तिहरूले सामाजिक मूल्यमान्यतालाई आत्मसात गरिरहेका हुन्छन् । यस्ता मान्यताहरू भौगोलिक परिवेशको आधारमा समाजले शदियौँदेखिनै तय गरी व्यवहारमा लागू गर्दै आएको छ । कानूनले सोझै बर्जित नगरेका कुराहरूलाई समाजले समयानुकुल परिवर्तन गर्दै जान्छ । हिजोका दिनमा अपराध मानिने कैयौँ कुराहरू आज सामान्य ब्यवहार हुन पुगेका छन् । धर्मको आडमा गलत व्याख्या गरी निहित स्वार्थ पुर्तीको कुसंस्कारले गर्दा हाम्रा कतिपय राम्रा र जिवनोपयोगी व्यवहारहरू लोप हुने अवस्थामा पुगेका छन् ।

विभिन्न देशमा त्यहाँको परिवेश अनुसारको शिक्षा प्रणाली स्थापित गरिएको छ । तर हाम्रो जस्तो विकासोन्मुख भनिने देशमा परनिर्भरताका कारण हुँदाहुँदैको राम्रो संस्कार पनि विथोल्न बाध्य पारिने गरेको देखिन्छ । राम्रो र नराम्रो भन्ने कुरा पनि निरपेक्ष हुन सक्दैन । कुनै सम्प्रदायमा राम्रो मानिने कुरा अर्को समुदायमा नराम्रो हुन सक्छ । अहिले हाम्रो समाजमा देखिएको विकृति पनि यसैको परिणति हो । कामको मर्यादा गर्न नसिकाउने शिक्षाका कारण स्वदेशमा केही काम गर्न नचाहने र विदेशमा गइ धेरै कष्टकर काम गर्न परेको अहिलेको यथार्थ हो । हामीले हाम्रा बालबालिकाहरूलाई पैसालाई सुख र श्रमलाई दुःख भनेर बुझायौँ । त्यसैको फलस्वरूप नेपालका अधिकांश युवाहरूको  लक्ष्य विदेश हुन पुग्यो । हामीले पढ्ने केवल धेरै धन कमाउनको लागि मात्र हो भन्ने दृष्टिकोणको ज्ञान हाम्रा उत्तराधिकारीहरूमा भरीदियौँ । परिश्रमलाई दुःखको रुपमा होइन सम्मानको रुपमा  चिनाउने शिक्षा पद्दतिको स्थापना गर्न जरुरी छ । हामी कहिल्यै पनि प्रत्यक्ष रुपमा पराधिन हुनु परेन तर सधै पराश्रित रहिरहनु पर्यो । आर्थिक रुपमा परनिर्भरताबाट मुक्त गर्नको लागि कुनै पनि शाशक वा शासनले सकेन ।

हामीले बालबालिकाहरूलाई सधै धेरै नम्बर ल्याउने पढाइ पढाउन खोज्यौँ तर व्यवहारिकता प्रति ध्यान दिन सकेनौँ । श्रमको सम्मान र माटोको चिनारी बिनाको शैक्षिक ज्ञान प्रमाणपत्रमा त उत्कृष्ट हुन सक्ला तर जीवन जिउने समयमा निरर्थक सावित हुन सक्छ । एक त हाम्रो शिक्षा जिवन उपयोगी छैन । हाम्रो शिक्षाले हाम्रा बालबालिकाहरूलाई उनिहरूको दैनिक आवश्यकता परिपूर्ति गर्ने किसिमका कुनै सिप सिकाउन सकेन । गरिने काम र अध्ययनको तालमेल मिलेन भने आफ्नो शिक्षालाई सराप्दै कोरो श्रम गर्नु बाहेक कुनै उपाय रहँदैन । अहिले हाम्रो शिक्षा र जीवनशैली समानान्तर रूपमा एक अर्काका परिपूरकको रुपमा विकास गर्दै जाने शैक्षिक प्रणालीको अभावमा पढालेखा छोराछोरीहरूले सामान्य काम पनि गर्न नजान्ने अवस्था छ । निर्वाहमुखि कृषि प्रणालीबाट गुजारा ग्रदै आएको हाम्रो समाजमा कृषकले  सन्तानहरूलाई उत्तराधिकारी केवल सम्पत्तीका लागि मात्र बनाउन सक्ने भए । जुन किसानलाई उन्नत प्रविधिको खेतियोग्य सिप चाहिएको छ उसको सन्तानलाई कृषि विषय पढाउने क्षमता उसको हुँदैन । जसले कृषि विषय अध्ययन गरेको हुन्छ उसले व्यवहारिक कृषि अनुभूति गर्न पाएकै हुँदैन । त्यसैले शिक्षा आवश्यकताका आधारमा दिने व्यवस्था मिलाउन सकियो भने मात्र जीवनमा लागू हुन सक्छ ।

हामीले शिक्षालाइ संस्कारयुक्त बनाएर लैजान सकिएन भने त्यो व्यवहारिक हुन सक्दैन । राज्यले यसमा ध्यान दिनु पर्छ । परिवारमा पनि शुरूको सिकाइ भाषा, संस्कृति, संस्कार तथा प्रचलन आदिको सिकाइबाट गरिनु पर्छ । शिक्षा प्रदान गर्दा पहिले के र त्यस पछि के भन्ने कुरामा ध्यान दिनु पर्छ । त्यति मात्र होइन शिक्षा जीवनोपयोगी र व्यवहारीक हुनु पर्छ । पढाइ भनेको सिकाइ हो र यसले जीवनका लागि मद्दत गर्न सक्नु पर्छ । श्रमलाई दुख र पैसालाई मात्र सुख बुझाउने शिक्षा आवश्यक होइन माटोको मर्यादासहितको श्रमको सम्मानदिने शिक्षा आजको आवश्यकता हो । त्यसैले संस्कार सहितको व्यवहारिक शिक्षालाई प्रबर्द्धन गर्न सक्ने शैक्षिक प्रणालीको विकास गर्नु हाम्रो जिम्मेवारीमा हो।

जेष्ठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्