कोरोनाबाट बालिकाको मृत्यु र आमामा संक्रमण पुष्टि भएसँगै क्वारेन्टाइन सील

धनगढी– बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु र आमामा पनि कोरोना संक्रमण देखिएसँगै बुढिगंगा नगरपालिका–१ को धुरालसैन मावि सिल गर्ने निर्णय गरिएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बसेको बैठकले सो निर्णय गरेको हो।

बुढिगंगा नगरपालिका १ धुरालसैन माविको आइसोलेसनमा राखिएकी मृतक बालिकाकी आमालाई थप समस्या देखिएपछि १५ गते सदरमुकाम मार्तडीमा आइसोलेसनमा ल्याएको थियो।

बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएकी बालिका कोरोनाबाट मृत्यु भएसंगै संक्रमित बसेको क्वारेन्टाइनसमेत सिल गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बुढिगंगा–१ घर भएकी दुई वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो।

उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो। आइतबार दिउँसो आएको रिपाेर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ।

मृत्यु भएकी बालिकाको दाहसंस्कार नेपाली सेनाले गर्ने समितिले निर्णय गरेको छ।

जेठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्