कोरोनाको कहरमा घरेलु महिला कामदारका नदेखिएका पीडाहरु

शनिबारको दिन बिहान कोठा सफा गरेर बाहिर निस्किएर यसो आँखा डुलाउँदै थिएँ, अचानक मेरा आँखा एउटा दृष्यमा टक्क अडिए । हामी बस्ने घरकै नजिकै अर्को घरमा बस्ने बहिनी घरबाहिरको सानो खुला ठाँउमा झोक्रिएर मलिन अनुहारमा बसेकी थिइन्, उनलाई देखेपछि उनी छेउ गएर झोक्राउनुको कारण जान्न मन लाग्यो ।

नजिकै गएर सोधे ‘बहिनी किन टोलाएको ? सञ्चो भएन कि के भयो ?

‘होईन दिदी, त्यस्तो केही भएको छैन ।’ भनेर टार्ने कोशिस गरिन् ।

मैले भने, ‘त्यस्तो केही समस्या परे मलाई भन, हामी बाहिरबाट आएका मानिस एकैतिर बस्छौँ । हामी त परिवार जस्तै हो । केही दुःख र समस्या परे शेयर गर्नुपर्छ ।’

यति भनेपछि उनी भावुक मुद्रामा आफ्ना पीडा र समस्या बताउन थालिन् ।

‘के गर्नु दिदी ! बैदेशिक रोजगारीमा गई धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा आमा र ससाना भाई बहिनीहरुलाई छोडेर सहर पसेको । आर्थिक अभावले गर्दा आफूले धेरै पढ्नलेख्न नसके पनि भाइबहिनीहरुलाई शिक्षाको उज्यालो ज्योति देखाउने सपनाले यो ठूलो सहर काठमाण्डौसम्म पुर्यायो ।

शुरुका दिनमा कामै नपाई निकै भौतारिनु पर्यो, पछि एउटा सरकारी कार्यलयमा ठेकेदार मार्फत सरसफाईकर्मीको सानो जागिर करारमा पाएँ । विस्तारै चिनजान र सम्पर्क बढ्दै गएपछि बचेको समयमा अर्काको घरमा भाडा माझ्ने, घर सरसफाई गर्ने र कपडा धुने काम गर्न थालें । साँझको समय मिलाई कोरियन भाषा पनि अध्ययन गर्न थालें ।

भविष्यको ठूलो सपना पुरा गर्न दिनमा १८ घण्टासम्म खटेर दुःख गरिरहेको थिएँ । आम्दानी पनि ठिकै भईरहेको थियो । आम्दानीबाट अलिअलि बचत गरी घरमा पैसा पनि पठाउन थालेको थिएँ ।आफ्नो सपना पूरा हुने उत्साहले अझै आँट थपिएको थियो ।

यसै बीचमा खुला आकाशमा कालो बादल मडारिएझैँ मेरो जीवन र मेरा सपनाहरुमा एक्कासी कालो बादल मडारिन पुग्यो । यो कोरोना भन्ने के जाति हो भाइरस नेपालमा पनि आयो रे ! भनेर सरकारले लकडाउन घोषणा गरेपछि सबै कोरोनासँग डराउन थाले । म भने काम छुट्ने हो कि ? भनेर डराउन थालेँ । लकडाउनले गर्दा बाहिर निस्कन नपाएपछि अफिसको जागिर पनि गयो । सधैँ काम गर्ने घरमा पनि ‘बहिनी तिमी कता कता हिड्छेउ ? कतै यो कोरोना सारौली नि !’ भनेर हिसाबकिताब गरिदिए र भोलिदेखि काममा नआउनू भन्न थाले ।

उता पूरै पैसा बुझाएर पढ्न थालेको कोरियन भाषा कक्षा पनि बन्द भयो । लकडाउन भएको दुई महिना भन्दा बढि भैसक्यो । आयस्रोत र काम पनि बन्द भयो । घरबेटीले पनि ‘नानी तिमी कता कता काममा जन्छेउ,अब तिमी बाहिर पनि नजाऊ, कोठमा अरुलाई पनि नल्याऊ’ भन्छन । जसले पनि घरेलु काम गर्ने केटी हो, यसले कोरोना सार्छे कि भनेर शंका र अपहेलना गर्छन् ।

अविवाहित केटी भनेर धेरैले गिद्दे नजर लगाएर दुःख दिन्छन । कोठामा पनि एक्लै बस्छु । एकदम एक्लो र असुरक्षित महसुश हुन्छ र निकै डर लागेर आउछ दिदी ।

यसरी अचानक भएको लकडाउनले न त म घर जान पाएँ न त काम गरी आम्दानी गर्न र घरमा पैसा पठाउन नै सकेँ । उता घरमा आइन भनेर पीर गर्नुहुन्छ । बैदेशिक रोजगारीमा गएकाहरु पनि उतै अलपत्र परेका, घर फर्किन नपाएका, रोजगारी खोसिएका, बिरामी तथा घाइते भएर उपचार नपाएका र मृत्यु हुदा लास समेत ल्याउन नपाएको सुन्दा ट झन् डर पो लगेर आउछ ।

यता विस्तारै आफ्नो खाने कुरा सकिँदै गयो । भोकै मरिने अवस्था भैसक्यो । यो लकडाउन कहिले खुल्ने हो, कुनै अत्तोपत्तो छैन । जाने कतै ठाँउ छैन, भोकै मरिने त्रासले निकै अत्तालिन्छु । सरकारले राहत दिन्छ भन्ने सुनेको, खै कता जाने ? फाराम कहाँ र कसरी भर्ने र बाहिर निस्कन पुलिसको डर उत्तिकै छ, पास चाहिन्छ रे । यसरी वैदेशिक रोजगारीमा गएर केही आयआर्जन गरी भाइबहिनीलाई पढाउने, बाआमालाई हेर्ने र सुखी जीवन विताउने सपना सपनानै रहयो दिदी ’ के गर्नु ’भन्दै लामो सुस्केरा हालिन ।

घरेलु कामदारमाथि हुन सक्ने संभावित हिंसाबाट बच्नका लागि निःशुल्क सहयोग परामर्श, पुनर्स्थापना र सुरक्षाको व्यवस्था हुनुपर्दछ । योग्यता र क्षमता अनुसारको रोजगारीको व्यवस्था सरकारले गर्नुपर्दछ । निराशा र पलायन रोक्न मनोसामाजिक विमर्शलाई जोड दिनुपर्दछ, लामो समयसम्म लकडाउन हुने अवस्था रहिरहेमा सुरक्षित तवरले आफ्नो घर र गाँउ जाने व्यवस्था प्रभावकारी रुपमा मिलाउनु पर्दछ ।

यसरी ती बहिनीको कारुणिक कुराले मलाई निकै भावुक बनायो । ‘यस्तै हो बैनी, चिन्ता नगर, सबै ठिक हुन्छ।’ भन्दै सान्त्वना दिए र नजिकैको पसलबाट उनलाई १ महिनालाई पुग्ने राशन समेत किनिदिएँ । फेरि अन्य समस्या परे बताउन भनी म आफ्नो कोठामा आई आफ्नो नियमित काम गर्न थालेँ ।

लकडाउन, कालोबजारी, कृत्रिम अभाव, आकासिँदो बजार मूल्यको मारमा परेको र आँफू पनि आफनो गाँउ जान नपाएको पीडालाई थाती राखी ती बहिनीको कुराले मलाई केही सोच्न बाध्य बनायो ।

वास्तवमै यो काठमाडौँ र यस्ता ठुला शहरमा सपनाहरु त्यत्तिकै हराएका र दबिएका छन् । ती बहिनी त एउटा प्रतिनिधी पात्र मात्र हुन्, उनको जस्तो दुःख, पीडा र समस्या हाम्रोमा कत्ति छन कति ? खोज्यो भने थुप्रै पाईन्छन् तर हामी कसैको ध्यान त्यता नगएको पो हो कि ? मुलुकमा भएका तीनैवटा तहका सरकार र सामाजिक संघसंस्थाहरुको ध्यान पुग्न नसकेको हो कि ? उनी र उनी जस्ता मानिसहरुको पहुँच नपुगेको हो कि ? वा मूलप्रवाहमा आउन नसकेका पो हुन कि ?

वास्तवमा उनी र उनीजस्ता धैरैले यस्तो अवस्थामा अनिश्चित र असुरक्षित जीवन जीउनु परेको छ । त्यसमा पनि उनी जस्ता घरेलु महिला कामदारमा अझ बढी समस्या रहेको छ ।

सरकारी अफिस नै भए पनि ठेकेदारको माध्यमबाट सरसफाईकर्मीका रुपमा काम गर्ने उनी जस्ताको जागिर असुरक्षित र अनिश्चित हुनु, घरेलु काम घरवेटी साहुको तजबिजमा हुने हुनाले कामदार तल पर्ने नै भए । महिला भएका कारण हिंसाको डर त्रास , असुरक्षा अनि अहिले कोरोना सार्छन कि भन्ने शंका र अपहेलना तथा मुलुकमै रोजगारीका अवसर नहुँदा वैदेशिक रोजगारीमा गएर सुखी जीवन जीउने सपना बोकेका उनी जस्ता युवाको सपना अधुरै रहने भयो ।

ठूलो रोजगारीको अवसर भएका विदेशी मुलुकहरु पनि अहिले कोरोनाले थलिएपछि भएकै कामदार फिर्ता गरिरहेकाले नयाँ रोजगारीको संभावना समेत न्युन भएर गयो ।

मुलुकमा सबै नागरिक खास गरी ती बहिनी जस्ता घरेलु कामदारलाई पनि राज्य र सरकारको अनुभूति गराउनका लागि घरेलु कामदार र ठेक्काका सरसफाईकर्मी जस्ता कामदारलाई समेत न्युनतम सुरक्षाको ग्यारेन्टी गरिनु पर्दछ । स्थानीय तहको अग्रसरतामा घरदैलो कार्यक्रम गरी यस्ता कामदारको यथार्थ लगत अग्रिम रुपमा संकलन गरी समस्या परेको बेला बिना झन्झट पेट भर्ने र चुल्हो वाल्ने गरी राहतको व्यवस्था मिलाउनु पर्दछ ।

नेपाल सरकार, काठमाडौँ महानगर लगायतका धेरै स्थानीय सरकार र केहि प्रदेश सरकारले समेत कोही भोकै पर्नु नपर्ने तथा भोकले कोही मर्नु नपर्ने उद्घोष गरेका छन्, अनि त्यसमा धेरै सामाजिक संस्थाहरुले पनि सहयोग गर्ने घोषणा गरेका छन् । तर सबै लक्षित व्यक्ति र वर्गसम्म यो अभियान पुगिसकेको छैन ।

त्यसै गरी घरेलु कामदारमाथि हुन सक्ने संभावित हिंसाबाट बच्नका लागि निःशुल्क सहयोग परामर्श, पुनर्स्थापना र सुरक्षाको व्यवस्था हुनुपर्दछ । योग्यता र क्षमता अनुसारको रोजगारीको व्यवस्था सरकारले गर्नुपर्दछ । निराशा र पलायन रोक्न मनोसामाजिक विमर्शलाई जोड दिनुपर्दछ, लामो समयसम्म लकडाउन हुने अवस्था रहिरहेमा सुरक्षित तवरले आफ्नो घर र गाँउ जाने व्यवस्था प्रभावकारी रुपमा मिलाउनु पर्दछ ।

बैदेशिक रोजगारीलाई व्यवस्थित गरी सुरक्षाको प्रत्यभुति गरिनुपर्दछ, विदेशबाट नेपाल फर्किन चाहनेलाई नेपाल ल्याउने र मृत्यु तथा अलपत्र भएकाको समस्या पनि संबोधन गर्नुपर्दछ । तब मात्र सरकार आफ्ना नागरिकको कुशल अभिवाक बन्न सक्छ । नत्र भने त सरकार केवल एक लाचार मुकदर्शक मात्र हुनेछ ।

यसरी अचानक आईपरेको कोरोनाको विश्वव्यापी विपत्ति र यसबाट आम मानिस विशेष गरी प्रतिनिधी पात्रका रुपमा रहेकी बहिनी र उनी जस्ता आम व्यक्तिहरुको समस्यालाई संम्बोधन गर्न, शारीरिक, सामाजिक र मानसिक रुपमा सुरक्षाको प्रत्याभुति गर्न र आवश्यक मानवीय सहायता तथा जीवन रक्षाका लागि एक पटक सरोकारवाला सबैले गंभीर भएर सोच्नै पर्छ कि ?

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्