अब केपी ओलीले नरेन्द्र मोदीलाई भन्नैपर्छ

हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतका प्रधानमन्त्री हुँदा नेपालका अधिकांश जनता खुसी भएका थिए। किनकि हामी लामो समयसम्म भारतमा भएको काँग्रेस आइ सरकारको पेलुवामा बस्नुपरेको थियो। झण्डै ९० प्रतिशत हिन्दु र बौद्ध धर्मालम्बी भएको देशमा भारतीय काँग्रेसको सरकार र पश्चिमाको दवाव तथा प्रभावमा अचानक धर्मनिरपेक्षता थोपरेर क्रिश्चियन धर्म रफ्तारमा फैलाइयो। हाम्रो धर्म, संस्कार, परम्परा, रितिरिवाज मासिने डर भइरहेको समयमा भारतमा हिन्दुवादी बिजेपीको सरकार आउँदा धेरै नेपाली यो सरकार अलिक ढिलो आयो भनेर चुक्चुकाए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोचोटी नेपालको संसदमा गरेको भाषणले समस्त नेपालीको मन जित्न सफल भएका थिए। भारत र नेपाल दुई देशबीचको कटुतापूर्ण रहेको सम्बन्ध आत्मीयताको मोडतर्फ बढ्ने संकेत पाइएको थियो। यसभन्दा अघिसम्म नेपालका सरकारको आयु भारतीय सरकारमा बसेकाको इच्छामा निर्भर हुने गर्दथ्यो। अलिकति पनि भारतीयको हित विपरित नेपालका प्रधानमन्त्रीले केही गर्न खोजे भने तुरुन्त अर्को ब्यक्ति खडा गरेर प्रधानमन्त्री फेर्न सक्ने हिम्मत गर्थ्याे भारतीय सरकारले। यता नेपालका नेताहरु पनि भारतलाई खुसी पारेर मात्र सत्तामा पुग्न पाइन्छ भन्ने बलियो सोच पालेका हुन्थे र अझै छन् पनि।

नेकपाको झण्डै दुई तिहाइको बलियो सरकार भएपछि नेपाली जनता पनि यो सरकार बदलिरहने झन्झटबाट हटेर भारतसँग असल मित्र बनेर देश विकासमा फड्को मार्नेछ भन्ने आशामा थिए। परापूर्वकालदेखि हाम्रो साँस्कृतिक, धार्मिक, रितिरिवाजदेखि रोटीबेटीको सामाजिक सद्भाव रहेका नेपाल र भारत भएपनि भारतले नेपाललाई बारम्बार दुःख दिन छोडेन। एक अरबभन्दा बढी जनसंख्या रहेको ठुलो शक्तिशाली देश भारतले छिमेकीसँग ठुलो मन राखेर कहिले राम्रो सम्बन्ध राखेन। अहिलेको मोदी सरकारले पनि शुरुमा केही आश देखाए पनि भारतीय नीतिमा केही फरक आएन। हाम्रो सिमाना सधैंभरि मिचिरहने ,दशगजामा कहिले बाँध कहिले सडक बनाएर नेपाली जमिन डुबाउने अनि हामीले विरोध गर्दा वास्तै नगर्ने भारतको पुरानो नीतिमा कुनै फरक आएन। सीमामा तैनाथ सुरक्षा फौजले सधैंजसो नेपालीका सामान खोस्ने र पिट्ने गरिरहन्छन्। हाम्रा शासक तथा प्रसासकहरु भारत रिसाउला भनेर कहिले पनि निडर भएर भारतसँग विरोध गर्न सक्तैनन्। किनकि भारत रिसायो भने सत्ता चट् हुन्छन् भनेर डराउँछन्।

वर्षौदेखि कालापानीमा फौज राखेको भारतले नक्सामा हाम्रो जमिनसमेत राखेर प्रकाशन गरेपछि यो त हद नै भयो भनेर नेपालले विरोध गर्‍यो। हाम्रो जमिनमा सडक बनाएर उद्घाटन गरेपछि हामीलाई झनै असह्य भयो। त्यसपछि मात्र हामीले आफ्नो जमिन देखाएर नक्सा प्रकाशन गर्‍याैँ। त्यसपछि मात्र उनीहरुको असली चरित्र देखियो। प्राय सबै भारतीय समाचार माध्यमले हामीलाई गाली गर्न थाले, चीनले उकासेको भने। उल्टो अब हामी तिमीहरुको सरकार फेरिदिन्छौँ भन्न थाले। यहि हो असल छिमेकीको स्वरुप नरेन्द्र मोदीजी? हामीले सबै कुरा दिएर नेपाललाई पालिराखे जस्तो गर्छन् अनि उनीहरुको बजार नेपाल भएको कुरा बिर्सन्छ। नेपालीले भारतबाट करोडौँ कमाएर लान्छन भन्छ। भारतीयहरुले अर्बाैँ कमाएर लगेको देख्तैनन् भारतीय मिडियाहरु।

यता हाम्रा केही दिग्गज भनाउँदाहरु यो जमिन पूर्वराजाले भारतलाई दिएको भनि बिना आधार दोष दिएर आफ्ना आधारहरु कमजोर पारिरहेका छन्। तात्कालिन नापीका महानिर्देशकहरुले राजदरबार र सेनाले नयाँ नक्सामा राख्न दिएनन् भनेर हलुका किसिमले आरोप लगाएर आफ्ना कमजोरीहरु लुकाउने प्रयास गरेका छन्। जुन राजा दिवंगत भइसके कति सेनाका प्रमुखहरुको निधन भइसकेपछि यस्ता देशघाती लान्छना लगाएर जिम्मेवार ब्यक्तिहरुले आफ्ना कमजोरी लुकाउने कार्य अत्यन्त गैरजिम्मेवार हो। यस्ता कुरा समयमा भनिदिएको भए त्यसकाे केही महत्व हुन्थ्यो तर अहिले भारतसँग गम्भीरतापूर्वक वार्ता गर्ने समयमा आफ्ना प्रमाणहरुलाई कमजोर पार्नु भनेको उनीहरुको नियतमै शंका गर्ने ठाउँ देखिएको छ।

हामीले राष्ट्रिय स्वाधिनता स्वतन्त्रता कहिले गुमाएनौँ। देशको स्वाभिमान बचाउँदै धेरै राष्ट्रभक्तले आफ्ना अमूल्य जीवन अर्पण गरेका छन्। भारतको राष्ट्रियता मात्र राष्ट्रियता हुने हाम्रो राष्ट्रियता विदेशीको उक्साहटमा हुने?

दुबै देशका प्रधानमन्त्री बसेर विज्ञहरुको टोली गठन गरेर इपिजिको सुझाब दिएको समयमा तयार गरिसक्दा पनि भारतीय प्रधानमन्त्रीले अहिलेसम्म उक्त प्रस्ताव ग्रहण गरेका छैनन्। असल सम्बन्ध राख्न पुराना सोच हटाएर नयाँ सोच चाहिन्छ। समय अनुकुल नयाँ सोच मोदीका सल्लाहकार तथा भारतीय कर्मचारीमा छैन। उनीहरुमाअझै पनिअंग्रेजको समयको दासत्व मनोवृति छ। भारतीय कर्मचारीको कारणले त्यहाँका केही नेताले छिमेकिसँग असल सम्बन्ध राखेर अघि बढ्न चाहे पनि उनीहरुले बढ्न दिँदैनन्।

हामीले राष्ट्रिय स्वाधिनता स्वतन्त्रता कहिले गुमाएनौँ। देशको स्वाभिमान बचाउँदै धेरै राष्ट्रभक्तले आफ्ना अमूल्य जीवन अर्पण गरेका छन्। भारतको राष्ट्रियता मात्र राष्ट्रियता हुने हाम्रो राष्ट्रियता विदेशीको उक्साहटमा हुने? मोदीजी नेपाली आफ्नो लागि मात्र होइन पर्‍यो भने मित्रको लागि पनि रगत दिन्छौँ र दिइरहेका छौँ। तपाईं भारतीयहरु कहिले मुसलमानको दास बनेर सयौं वर्ष बस्न बाध्य हुनु पर्‍यो कहिले अंग्रेजसँग किनकि भारतीयमा इमान्दारीता छैन र कसैप्रति विश्वास गर्दैनन्। भारतीयमाअत्यन्त स्वार्थी, हेपाह तथा निकृष्टपन छ। जसकाे मार नेपाल जस्तो इमान्दार अनुशासित देशभक्तको सानो देशले सधैं पीडा भोग्नुपरेको छ। अब हाम्रा नेतृत्वले सबै दलको साथ लिएर निडरता साथआफ्ना कुरा स्वाभिमानीपूर्वक राख्नैपर्छ। जन्मदिनहरुमा एकअर्कामा ट्वीट गरेर शुभकामना दिने प्रधानमन्त्रीहरु देशलाई अपठ्यारो परेको बेलामा कमसेकम नेपालका प्रधानमन्त्रीले शुरुमै भारतीय प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गर्नुपर्थ्याे। जति ढिला भयो त्यति समस्या बल्झिरहन्छ। नेपालको अनुरोधलाई स्वीकार गरेर जे जस्तो परिणाम आउने भएपनि भारतले वार्ता नगरी कुनै उपाय छैन। नत्र भारतको सबै छिमेकीसँगको खराब सम्बन्धबारेमा अन्तर्राष्ट्रिय जगतमा उसकाे झन् बदनाम हुनेछ।

अर्को ओझेलमा परेको महत्वपूर्ण विषय हाम्रा देशभित्र रहेका भारतीय पेन्सन क्याम्पहरु हुन् जसकाे अब कुनै औचित्य छैन। पेन्सन बाँड्ने निहुँमा अझै पनि नेपालमा भारतीय सेना राखेर चीनको जासुसी गर्न आवश्यक छैन। अहिलेको आधुनिक युगमा पेन्सन भारतका बैंकबाट सिधै नेपालका बैंकहरुमा पठाउन सकिन्छ। कतिपय भारतीयले चलाएका बैक पनि छन् त्यसमार्फत पठाउँदा पनि हुन्छ। अब हामीले भन्न सक्नुपर्छ, नेपाल र नेपाली जनतालाई विश्वास गर अन्यथा भारतीय सेनामा नेपाली युवाहरुको भर्तिकेन्द्र बन्द हुनेछ। सिमानामा काँडेतार लगाइन्छ। हामी हाम्रो माटोमा खाद्यान्न उत्पादन गरेर खान्छौँ तर भारतीयको दासत्व सहन सक्तैनौँ। गोर्खालीको विश्वास गुमाएको भारत कति दिन टिक्ला त्यो भारतीय सञ्चारकर्मीले कल्पना मात्र गरे हुन्छ। समय अनुसार हाम्रा जनता सचेत भइसकेका छन्। हामीले सहनु सह्यौ अब सकिन्न भनेर हामीले भन्न सक्नुपर्छ।

अझै पनि भारतले नेपालका नेतालाई उचालेर नेपालीलाई एकतामा बाधा पुर्‍याउने प्रयास नगरोस्। यस्तो खुरापाति सोच हटाएर सधैभरि नेपालसँग असल मित्रता कायम राख्ने प्रयास गरोस्। अन्यथा यसकाे फल भारतको लागि प्रत्युपादक नै हुनेछ भन्ने भारतले बुझनु आवश्यक छ। प्रधानमन्त्री केपी ओलीजी देशको स्वाभिमान जोगाउँदै वार्तामा शीघ्र पहल लिनुहोस्। महाकालीमा सेलाएको राष्ट्रियता फेरि पनि जगाउने हो भने अरिङ्गालको मात्र भर पर्ने होइन रानी मौरी नै अघि लाग्नु पर्छ ढिला नगरी यो अवसरको उपयोग गर्नुहोस्। नेपाली जनता साथमा छन्।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्