सान्चोले गरे खेल जीवनकै पहिलो ह्याट्रिक, बोरुसियाको शानदार जित

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुण्डले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा बोरुसियाले एससी पाडेर्बर्न ०७ लाई ६–१ ले पराजित गरेको हो ।

बोरुसियाको जितमा जेडन सान्चोले तीन तथा टी हर्जा, हकिमी र स्मेलचरले एक–एक गोल गरे । एससीका लागि हुनेमेइरले एक गोल फर्काए ।

सान्चोले ५७, ७४ र ९१ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरेका हुन् । उनले खेल जीवनकै पहिलो ह्याट्रिक गरी बोरुसिया डर्टमुण्डलाई प्रभावशाली जित दिलाएका हुन् ।

जितपछि दोस्रो स्थानको बोरुसियाको २९ खेलबाट ६० अंक भएको छ र उ शीर्ष स्थानको बार्यन म्युनिख भन्दा सात अंकले पछि रहेको छ ।

आइतबार राति नै भएको खेलमा यनियन बर्लिनलाई ४–१ ले पराजित गरेको बोरुसिया मोन्चेङ्गग्लाडवाच २९ खेलबाट ५६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्