काठमाडौँ – वन लसुनको फूलले अहिले साशन सत्ताको केन्द्र सिंह दरबारको बगैँचा ढकमक्क भएको छ ।
वैज्ञानिक नाम जिफ्रान्थस रोबुस्टा रहेको र अंग्रेजीमा ‘थन्डर लिली’ फूल भनिने वन लसुनको फूलले सिंहदरबारलाई रंगिन बनाएको छ ।
चार प्रकारका वन लसुन फूल मध्ये सिंहदरबार क्षेत्रमा फूलेका फूलहरु गुलाबी रंगको फूल हुने रोबुस्टा हो । यसका अरु तीन प्रजातिहरु सेतो फुल्ने क्यान्डिरा, पहेँलो फुल्ने सल्फरिया र रातो फुल्ने रोजिया हुन् ।
नेपालका नर्सरीहरुमा हाल गुलाबी रंगको फूल फुल्ने रोबुस्टा प्रजातिका वन लसुनहरु पाइने फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष कुमार कजशु श्रेष्ठले जानकारी दिए । उनले वन लसुन फूलबारे अध्ययन पनि गरेका छन् ।
श्रेष्ठका अनुसार वन लसुनका फूलहरु पहाडदेखि तराईसम्म पाइने र विशेष गरी गर्मी मौसममा फुल्ने गर्छन् । चैत, वैशाख र जेठमा वन लसुनका फूलहरु राम्रोसँग फुल्छन् ।
वन लसुनका फूललाई मानिसले कहिलेदेखि घर–बगैँचामा सौन्दर्यका रुपमा प्रयोगमा ल्याउन थाले भन्ने यकिन जानकारी नभए पनि निर्यात तेस्रो मुलुकमा पनि हुने गरेको इतिहास रहेको उनले बताए।
श्रेष्ठका अनुसार २०६० को दशकसम्म दार्जिलिङ–सिक्किमसहितका क्षेत्रमा वन लसुनका फूलहरु उत्पादन हुने र त्यसलाई नेपाल ल्याई यहाँबाट बेलायतसहितका पश्चिमा देशमा पठाउने गरिन्थ्यो ।
नेपालमा वन लसुन फूलको व्यवसायिक खेती गर्न सकिने सम्भावना रहेको उनले बताए।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले सिंहदरबारको बगैँचामा फूलेका गुलाबी वन लसुनका फूलहरुका केही तस्बिर खिचेकी छन् ।