खाली खुट्टादेखि सुपर हिरोइनसम्मको यात्रा

नेपाली महिला फुटबलर सावित्राबारे फिफाको विशेष कभरेज!

काठमाडौँ- विश्व फुटबल महासंघ-फिफाले नेपाली कीर्तिमानी महिला फुटबलर सावित्रा भण्डारी’साम्बा’माथि विषेश ‘कभरेज’ गरेको छ। फिफाको वेभसाइट ‘फिफा डटकम’मा सोमबार प्रकाशित फिचरमा राष्ट्रिय टिमसम्म आउँदा साम्बाको  संघर्ष र उनले हात पारेको सफलता चित्रण गरिएको छ।

‘खाली खुट्टाले खेलेर सपना देख्नेदेखि नेपालको सुपर हिरोइनसम्म भण्डारीको यात्रा’ शीर्षक दिइएको फिचरकी पात्र साम्बा २३ वर्षीया नेपाली फुटबलर हुन्।

उनले यहि उमेरमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाइसकेकी छिन्। दक्षिण एसियाली महिला फुटबलको पावर हाउस भारतमा साम्बाकै प्रेरणामा दुई वटा फरक क्लबले घरेलु लिगको उपाधि जितेका थिए।

पहाडी जिल्ला लमजुङको सानो गाउँमा जन्मिएकी साम्बा बाल्यकालमा पुरुष साथीहरुसँग फुटबल खेल्थिन्। त्यतिबेला महिला राष्ट्रिय टोलीका स्टार खेलाडीहरु जमुना गुरुङ, अनु लामालगायतको चर्चाले साम्बा पनि लोभिइसकेकी थिइन्। साम्बालाई पनि त्यसरी चर्चा कमाउने हुटहुटी बढ्दै थियो। उनै साम्बा अहिले जमुना र अनुलाई पार गर्दै माथिल्लो उचाईमा पुगेकी छिन्।

गत महिनामात्र २३ वर्ष लागेकी साम्बाले राष्ट्रिय टोलीबाट ३८ खेल खेल्दै ३४ गोल गरेकी छिन्। ‘ जब म सानो थिएँ, रेडियोमा अनु लामा, जमुना गुरुङले नेपालका लागि गोल गरेको सुन्थेँ’, साम्बाले फिफा डटकमसँग कुरा गर्दै भनेकी छिन्, ‘त्यतिबेलै मैले राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेको थिएँ। जब यो सपना पूरा भयो, मैले सर्वाधिक गोलकर्ता बन्ने अर्को सपना देखेँ जुन मैले पूरा गरेको छु।’

परिवारका पाँच सन्तानमध्ये साम्बाले जसरी अरुले सपना देखेका थिएनन्। सन् २०१४ मा आयोजित स्थानीय छात्रा फुटबल प्रतियोगिताले साम्बाको सपना पूरा हुने दिशातर्फ पाइला अघि बढ्यो। प्रतियोगिताको सर्वाधिक गोलकर्ता भएकी साम्बाको प्रदर्शनले त्यहाँ पुगेका रेफ्रीहरु प्रभावित भए। रेफ्रिहरुकै सहयोगमा उनले सशस्त्र प्रहरी बल-एपीएफमा ट्रायल दिने अवसर पाइन्। एपीएफले साम्बालाई आवद्ध नगर्ने कुनै कारण थिएन। खाली खुट्टा खेल्ने युवतीले देखेको त्यो सपना पूरा हुने सम्भावना अझ नजिक पुग्यो।

‘मैले मेरा अभिभावकलाई जुत्ताका लागि कहिले कुरा गरिन् किनभने मलाई थाहा थियो हाम्रो परिवारको आर्थिक अवस्थाले यो धान्न सक्ने अवस्था थिएन’, फिफा डटकमसँग साम्बाले भनेकी छिन्।

एपीएफमा आवद्ध हुनुअघि साम्बाले कहिल्यैपनि गतिलो मैदानमा खेल्ने मौका पाएकी थिइनन्। उनीसँग राम्रो सुविधा थिएन। तर अब प्रशिक्षणकै लागि पनि उनीसँग राम्रो मैदानमा तयारी गर्ने ठाउँ थियो, अन्य सुविधाहरु पनि थिए। ‘ एपीएफमा आबद्ध भएपछि मेरो व्यापक सुधार र प्रगति भयो’, साम्बाले भन्छिन्।  उनले कुनै समय आइडल मानेका अनु लामा र जमुना गुरुङ पनि एपीएफमै थिए। उनिहरुसँगै प्रशिक्षण र खेल्न पाउनु साम्बाका लागि अर्को छुट्टै सफलता थियो।

सोही वर्ष उनी दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा छनोट भइन्। भुटानविरुद्ध बेन्चबाट आएर डेब्यु गरिन् जुन खेल नेपालले ८- ० गोलले जितेको थियो। १७ वर्षीया किशोरी साम्बाको प्रदर्शन तारिफ योग्य रह्यो। सबैको मन जितिन्। ‘ मैले त्यो दिन खेल्न पाउने सोचेको थिइन। सायद खेलको ८६ औँ मिनेट थियो, मलाई भित्र छिराइयो। दुई मिनेटलगत्तै मैले गोल गरेँ’, साम्बा अनुभव साट्छिन्।

नेपालका लागि गोल गर्ने चाहना साम्बाको पुरानै हो तर यसरी गोल होला भने उनले सोचेकी थिइनन्। अहिले पनि त्यो सम्झँना गर्दा छुट्टै आनन्द आउँछ। त्यसपछि साम्बा सबैको मुखमा झुन्डिन थालिन्। सन् २०१६ को साफ च्याम्पियनसिपमा नेपाल अन्तिम चारबाटै बाहिरिएपनि साम्बा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता भइन् १२ गोलसहित।

सन् २०१९ मा आयोजित साफ च्याम्पियनसिपमा पनि उनी  सर्वाधिक गोलकर्ता भइन् संयुक्तरुपमा। नेपाल फाइनलमा पुगेपनि उपाधि भिडन्तमा भारतसँग ३-१ गोलले पराजित भएपछि घरेलु टोलीलाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने साम्बाको सपना अधुरै रह्यो।

‘घरेलु मैदानमा हामीले राम्रो खेलेका थियौँ। तर हामीले खेल हार्‍यौँ। हामी उपाधिका लागि अझैपनि तयार थिएनौँ भन्नेमा सचेत थियौँ। व्यक्तिगत रुपमा मैले वर्षौयता निकै सुधार गरेको छु। तर जब हाम्रो क्षेत्रमा हामी सर्वोत्कृष्ट हुन्छौँ तबमात्र मेरा कीर्तिमानहरुले अर्थ राख्नेछन्’, साम्बाले भनेकी छिन्।

 

 

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्