चौरजहारी घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै धनगढीमा पनि प्रदर्शन

काठमाडौँ – मुक्तिका लागि साझा अभियानले रुकुम पश्चिमको चौरजहारीमा भएको विभत्स हत्या घटनाका दोषीलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गरिएको आन्दोलनमा बोल्दै आन्दोलनको नेतृत्वकर्ता एवं अभियानका संयोजक प्रेम विसीले प्रेम गरेकै भरमा हत्या गर्नु भनेको लोकतन्त्रमाथिको प्रहार रहेको बताए ।

‘माया, प्रेम गर्दैमा हत्या गर्नु निन्दनीय कार्य हो’ उनले भने– ‘दोषीलाई कानूनी कठघरामा ल्याएर कारबाही हुनुपर्छ ।’

उनले राज्य समेत निर्दयी भएको बताए । गाउँका सामन्ती सोच भएकाहरुबाट नै यस्तो घटना भएकाले त्यस्ता व्यक्तिलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कोण सभामा नेपाल दलित संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर टेलरले रुकुमको घटनाले लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाएको बताए । उनले रुकुममा भएको घटनाका सम्वन्धमा मानवअधिकार लगायतले सहयोग गर्नुपर्ने बताए।

धनगढीको पार्कमोडबाट शुरु भएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय कैलाली पुगेर कोण सभामा परिणत भएको थियो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी एक किशोरीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित पाँच युवाको गाउँलेको आक्रमणबाट मृत्यु भएको थियो ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्