मधेश केन्द्रित दलको पनि संविधान संशोधन प्रस्ताव दर्ता तर एजेन्डा फरक

संविधान संशोधन दर्ता गर्दै मधेस केन्द्रित दलका नेताहरु। तस्बिर: देशसञ्चार

काठमाडौँ–  लिम्पियाधुरासहितको नयाँ नक्सा निशान छापमा समेटिने गरी संविधान संशोधन गरेकै बेला आफ्ना मागहरु पनि पूरा गर्ने आशा गरिरहेका मधेस केन्द्रित दलले पनि सोमबार संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन्।

नक्सामा लिम्पियाधुरासहित समेटिने गरी निशान छाप परिवर्तन गर्न सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव भने आइतबार प्रतिनिधि सभामा प्रस्तुत भइसकेको छ। जेठ ९ गते सरकारले उक्त प्रस्ताव दर्ता गराएको थियो। नेपालको संविधान २०७२ मा यो दोस्रो संसोधन विधेयक हो।

मधेस केन्द्रित दलले केही दिनअघि नै संविधान संसोधन प्रस्ताव दर्ता गर्ने बताएको भएपनि तयारी नपुगेको भनेर रोकिएको थियो।

नेपालको संविधान २०७२ ले मधेशका धेरै मागहरु सम्बोधन गर्न नसकेको भन्दै मधेशवादी दलहरुले संविधान जारी भएदेखि नै संविधान संशोधनको माग गर्दै आएका छन्।

राष्ट्रिय सभामा प्रदेशको प्रतिनिधित्व बढाउनुपर्ने, नागरिकतालगायत विषयमा मधेशकेन्द्रित दलहरुले आफ्ना मागहरु अघि सार्दै आएका छन्। संसोधन प्रस्ताव दर्ता गराउन राजपा र समाजवादीका नेताहरु लक्ष्मणलाल कर्ण, राजेन्द्र राईलगायत पुगेका थिए।

 

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्