नि:शुल्क धान र तरकारीको बीउ पाउदा किसान दङ्ग

दाङ-दंगिशरण गाउँपालिका वडा नं. ६ लेटारकी सुपारीदेवी चउालने लाई धान खेती गर्ने समय आउदै गर्दा चिन्ता थपिदै थियो । लकडाउन लम्बिदै जाँदा धानको बीउ कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउदै गर्दा उनले यस बर्षको धान खेती गर्न बीउ निशुल्क पाए।

‘चिन्ता धानको बीउको थियो। एक रुपैयाँ खर्च नगरी घरमै आईपुग्यो’उनले भने–‘गरिब विपन्न किसानले यही बीउ पनि किन्न सक्ने अवस्था हुदैन् । सहयोग पाउदा खेती गर्ने जाँगर बढ्यो ।’

लोकबहादुर कुवर पनि लकडाउनले गर्दा बजार सम्म जान सकेका थिएनन् । उनले पनि घरमै उन्नत तरकारीको बीउ निःशुल्क पाउदा खुसी छन् ।‘बजार जान सक्ने अवस्था भएन् । यस्तो बेलामा घरमै तरकारीको बीउ आईपुग्यो’उनले भने–‘किसानलाई यस्तै हौसला र सहयोगको खाँचो छ ।’

दाङका छ सय ३८ किसानलाई धानको बीउ र पाँच सय घरधुरी किसानलाई तरकारीको बीउ निःशुल्क वितरण गरिएको छ । कोरोना भाइरसका कारण लकडाउन लम्बिदै जादा अति विपन्न किसान समस्यामा परेका छन । मर्कामा परेका साना किसान, दलित, जनजाति लगायत अति बिपन्न पाँच सय ५० घरधुरी किसानलाई सहकर्मी समाज सुर्खेतले राहत स्वरुप तरकारीको बीउ निःशुल्क बितरण गरेको हो ।

बिकास कोष नर्बेको आर्थिक सहयोगमा सहकर्मी समाजले संचालन गरिरहेको “कोसेली“ कार्यक्रमबाट दाङमा जम्मा प्रती घर सात सय रुपैयाँको दरले जम्मा तीन लाख ८५ हजारको सिमी, बोडी, धनिया, खुर्सानी, बन्दा, फुलगोभी, रायोसाग, मुला र टमाटर गरि नौ प्रजातिका तरकारी बीउ वितरण गरिएको कार्यक्रम संयोजक पुनाराम पन्थीले जानकारी दिए।

‘लकडाउनको मारमा किसान हुनुहुन्छ । बजार गएर बीउ किन्न सक्ने अवस्था पनि छ । त्यहीँ भएर हामीले किसानको घरमा तरकारीको बीउ पुर्‍याएका हौ’उनले भने–‘निःशुल्क बीउ पाउँदा किसान खुसी हुनुुहुन्छ ।’

बन्दाबन्दी लम्बिदै जाँदा किसानको समयलाई उत्पादनमा जोडेर आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले दोश्रो चरणमा तरकारी बीउहरु उपलब्ध गराईएको हो । यसअघि पनि सहकर्मी समाजले दाङको दंगीशरण, गढवा र राजपुर गाउँपालिका र वडाहरूमा गठित समुहका छ सय ३८ घरका किसानलाई ७२ क्विन्टल चार लाख १७ हजार छ सय रुपैयाँ पर्ने धानको बीउ निःशुल्क बितरण गरेको थियो ।

तरकारीको बिउ दंगीशरण गाउँपालिकाका विभिन्न वडामा गठित समूहमा आवद्ध दुई सय किसान, बंगलाचुली गाउँपालिकाका एक सय ९० किसान, घोराही(१९ सैघामा ६० घर, राजपुर गाउँपालिकामा ५० घर र गढवा गाउँपालिकामा ५० घर गरि जम्मा पाँच सय ५० किसानलाई बीउ विरतण गरिएको हो । स्थानीय तहका जनप्रतिनिधिहरु, सहकर्मी समाजका सहजकर्ता, दक्षिण देउखुरी अधिकार मन्च गढवा र समाज बिकास संजाल संस्था कमिरेचौर दाङका पदाधिकारीहरु सहितको सहभागितामा सम्बन्धित ठाउँमा बितरण गरिएको थियो ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्