संशोधनमा राजपा–समाजवादीको बार्गेनिङ सुरु, के छ उनीहरुको संशोधन प्रस्तावमा ?

संशोधनमा राजपा–समाजवादीको बार्गेनिङ सुरु, के छ उनीहरुको संशोधन प्रस्तावमा ?

संविधान संशोधन दर्ता गर्दै मधेस केन्द्रित दलका नेताहरु। तस्बिर: देशसञ्चार

काठमाडौँ – आफ्ना माग समेटेर संविधान संशोधन गराउन मधेस केन्द्रित दुई दल राजपा र समाजवादीले औपचारिक रुपमा बार्गेनिङ सुरु गरेका छन्।

सोमबार निजी विधेयकका रुपमा संसदमा २३ वटा धारामा संशोधन प्रस्ताव दर्ता गराएसँगै उनीहरुले आफ्नो प्रस्तावलाई सत्तारुढ दले समर्थन गरे मात्र उसले ल्याएको संशोधनलाई पनि समर्थन गर्न सकिने स्पष्ट बटम लाइन दिएका छन्।

सरकारले लिम्पियाधुरा सहितको भूभाग समेटिने गरी निशान छापमा रहेको नेपालका नक्सा संशोधन गर्न विधेयक अघि बढाएसँगै राजपाका लक्ष्मण लाल कार्ण र समाजवादीका सांसद राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

उनीहरुले चार वर्षअघि संविधान घोषणा देखि नै मधेसी जनताको भावनाअनुसा संविधान संशोधन हुुनपर्ने माग गरौं आए पनि सत्तारुढ नेकपाले अस्वीकार गर्दै आएको थियो।

संशोधन विधेयक दर्ता गरेपछि सांसद कर्णले आफूहरुको संशोधनलाई स्वीकार गरे मात्र सरकारी संशोधनलाई समर्थन गर्ने उल्लेख गरे।

उनले भने, ‘तिमीलाई जे कुरा मन लाग्छ त्यहीँ संशोधन गर्छौ भने हाम्रो किन गर्दैनौं? अब सरकारलाई प्रेसर बढाउछाँै। हाम्रो कुरा मानेन भने उनीहरुको कुरा मान्न बाध्य छैनौं। सरकारले हाम्रो मान्दैन भने के गर्ने हो भोटिङको समयमा गर्छौ।’

राजपा – समाजवादीले यसअघि कांग्रेस नेतृत्वको सरकारले ल्याएको संशोधन प्रस्तावमा केही बुँदा थपेर नयाँ प्रस्ताव ल्याएको हो। विपक्षी कांग्रेसले पनि उक्त संशोधन प्रस्तावलाई ब्युत्याउने निर्णय गरे पनि अहिले संशोधन दर्ता गराउन साथ नदिएको कर्णले खुलास गरे।

उनले भने, ‘हामीले पटक पटक छलफल गरौं। तर उहाँहरुको हस्ताक्षर गर्न मान्नु भएन। उहाँहरुलाई इच्छा लाग्छ भने अर्को संशोधन दर्ता गराउन सक्नु हुनेछ।’

सरकारले ल्याएको निशान छाप संशोधन सम्बन्धी विधेकय आइतबार संसदमा प्रस्तुत भएर सर्वसाधरणको जानकारीका लागि प्रकाशन गरिएको छ। प्रमुख प्रतिपक्षी दलले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकको छ।

तर मधेस केन्द्रित दुई दलले भने आफ्नो संशोधनलाई समर्थन गरे मात्र सरकारी प्रस्तावको पक्षमा उभिने शर्त राखेसँगै नेपालको भूभाग समेटेर संविधान संशोधन गर्ने प्रस्तावमा सर्वसहमति हुने संभावना कम भएको छ।

के छ राजपा समाजवादीको संशोधन विधेकमा?


राजपा समाजवादीले प्रतिनिसभा सचिवालयका दर्ता गराएको संशोधन विधेयकमा राष्ट्रिय सभामा प्रदेशको प्रतिनिधित्व बढाउनुपर्ने, सबै निकायमा भएको भ्रष्टाचार छानबिन गर्न लोकपाल गठन हुनुपर्ने, अंकृत नागरितासँग सम्बन्धित छ।

संशोधनमा भाषा आयोगको सिफारिसमा सबै मातृ भाषाहरूलाई संविधानको अनुसूचीमा समावेश गर्नुपर्ने, वैवाहिक अङ्गीकृत नागरिकता लिन विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेको निस्सा पेश गर्नु नपर्ने, राज्यका सबै निकाय र अङ्गहरूमा सबै समुदायका महिलालाई समानुपातिक समावेशी आधारमा सहभागी हुन पाउने हक हुनुपर्ने प्रस्ताव गरिएको छ।

राजपा र समाजवादीको संशोधन प्रस्तावमा स्थानीय तहलाई प्रदेश मातहत राख्नुपर्ने प्रस्ताव गरिएको छ।

संविधाले स्थानीय तहलाई छुट्टै संवैधानिक अस्तित्व दिए पनि अब प्रदेश कानुन मातहत हुने प्रस्ताव गरिएको छ। संशोधन विधेयकमा उल्लेख गरिएको छ, ‘ ५६ को उपधारा (४) मा गाउँपालिका र नगरपालिकाको गठन र परिचालन प्रदेश कानुन बमोजिम हुने छ।’

राष्ट्रियसभामा प्रदेशबाट निर्वाचित हुँदा ‘प्रदेशको जातीय तथा सामुदायगत विविधता झल्कने गरी जनसङ्ख्याको अनुपातमा’ समेत निर्वाचन हुनुपर्ने प्रस्ताव गरिएको छ।

संशोधन प्रस्तावमा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा सभामुखबाट गरिने कार्यहरू उपसभामुखबाट सम्पादन गर्न सकिने र संवैधानिक अदालत गठन गर्नुपर्ने प्रस्ताव गरिएको सांसद श्रेष्ठले जानकारी दिए। संविधानको धारा १३७ मा रहको संवैधानिक इजलास सम्बन्धी व्यवस्थालाई संवैधानिक अदालतमा परिमाजर्न गर्नुपर्ने उल्लेख छ।

त्यस्तै संविधानको धारा २८३क थप गरेर लोकपालको गठन गर्ने र त्यसलाई सबै अख्तियारमा भएको भ्रष्टाचार समेत छानबिन गर्न सक्ने अधिकार दिनुपर्ने प्रस्ताव गरिएको छ।

विधेयकमा भनिएको छ, ‘यसले प्रधानमन्त्री, मन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्पूर्ण संवैधानिक आयोग र उच्च पदस्थ पदाधिकारीहरूको भ्रष्टाचार जन्य कामको कानून बमोजिम अनुशन्धान गरी तोकिएको अदालतमा मुद्दा दायर गर्ने छ।’

त्यस्तै प्रदेशको सङ्ख्या तथा सीमाङ्कन हेरफेर र विशेष संरचनाहरूको गठनसम्बन्धी विषयमा सिफारिस गर्न सङ्घीय आयोग गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ।

यस्तो छ राजपा समाजवादीले दर्ता गरेको संविधान संशोधन विधेयक


जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू