जर्ज फ्लोइडको मृत्यु ‘होमोसाइड’ अर्थात मानव हत्या : आधिकारिक पोष्टमार्टम रिपोर्ट

आधिकारिक पोष्टमार्टम रिपोर्टले जर्ज फ्लोइडको मृत्युलाई ‘होमोसाइड’ अर्थात मानव हत्या रहेको पुष्टि गरेको छ ।

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा रहेको प्रहरी हिरासतमा फ्लोइडको गएको मे २५ मा मृत्यु भएको हो । त्यसअघि उनलाई पक्राउ गर्ने क्रममा श्वेत प्रहरी अधिकारीले घुँडाले उनको घाँटीमा लामो समय थिचेका थिए ।

फ्लोइड निहत्था थिए र उनी अफ्रिकन–अमेरिकन अर्थात अश्वेत व्यक्ति हुन् । फ्लोइडको मृत्युपछि अफ्रिकन–अमेरिकनमाथि हुँदै आएको विभेद र क्रुरताको विरोधमा अमेरिकासहित विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ ।

प्रहरीले घाँटी थिचेर पक्राउ गर्ने क्रममा फ्लोइडलाई कार्डिक अरेस्ट भएको देखिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । रिपोर्टमा फ्लोइडको मृत्युको कारणका रुपमा ‘पक्राउ गर्ने क्रमको क्रुरता तथा घाँटी थिचिँदा भएको कार्डियोपल्मोनरी अरेस्ट’ भनी उल्लेख छ ।

फ्लोइडमा मुटु सम्बन्धी समस्या रहेको र उनले हालै औषधिको पनि प्रयोग गरेको प्रमाण भेटिएको छ।

अमेरिकामा फ्लोइडको हत्याको विरोधमा एक हप्तादेखि लगातार प्रदर्शन भइरहेको छ । पछिल्ला केही दशक यता पहिलोपटक अमेरिकाभर यस्तो प्रदर्शन भइरहेको हो ।

फ्लोइडको परिवारले गरेको पोष्टमार्टममा पनि उनको मृत्युलाई मानवहत्या नै भनिएको थियो ।

जेठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्