हिंसात्मक प्रदर्शनको ओबामाले गरे निन्दा

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले जर्ज फ्लोइडको मृत्युपछि भइरहेको प्रदर्शनले हिंसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् ।

रंगभेद विरुद्ध देशव्यापी रुपमा भइरहेको प्रदर्शनमा हिंसाको प्रयोग भएको प्रति उनले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । परिवर्तनको अपेक्षामा भइरहेका शान्तिपूर्ण प्रदर्शनको प्रशंसा गरेको ओबामाले हिंसाको प्रयोग तत्काल अन्त्य गर्न अपिल गरेका छन् ।

अधिकांश प्रदर्शनकारीहरु शान्तिपूर्ण रहेको तर केही सानो समूह हिंसात्मक हुँदा मानिसहरु जोखिममा परेको उनले उल्लेख गरेका छन् । प्रदर्शन सम्पूर्ण समाजनको हितका लागि भए पनि हिंसाको प्रयोग हुँदा नोक्सानी भएको भन्दै ओबामाले चिन्ता व्यक्त गरेका छन् । उनले मिडियममा लेख पोस्ट गरेर आफ्नो चिन्ता जताएका हुन् ।

विनाशले लामो समयसम्म आफैलाई समस्यामा पार्ने भएकाले हिंसालाई कुनै पनि हालतमा प्रदर्शनको माध्यम बनाउन नहुने उनले उल्लेख गरेका छन् ।

तीन दिनअघि फ्लोइडका लागि न्यायको माग गरेका ओबामाले सोमबारको टिप्पणीमा प्रदर्शन हिंसात्मक भएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

यसअघि आइतबार जो बाइडेनले पनि प्रदर्शनको क्रममा भएका हिंसा अन्त्य गर्न अपिल गरेका थिए । ओमाबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेको बाइडेन आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै छन् ।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्