संक्रमितको ठेगाना सार्वजनिक गर्दा गम्भीर त्रुटि

धनगढी– सुदूरपश्चिम प्रदेशमा सोमबार कोरोना पुष्टि भएकाहरुको ठेगाना सार्वजनिक गर्दा गम्भीर त्रुटि भएको पाइएको छ । सोमबार प्रयोगशालाले दिएको ठेगानामा त्रुटि भएको भन्दै आज ठेगाना सच्चाइएको छ ।

सोमबार कोरोना पुष्टि भएका १८ जना मध्य १४ संक्रमित कैलालीका रहेको जनाएको प्रयोगशालाले आज सच्चाउँदै ति मध्ये चार जनाको घर डोटी भएको जनाएको छ ।

सोमबार कैलालीका भनिएका १४ संक्रमित मध्ये दुई जना महिला र दुई जना पुरुष डोटीका रहेको खुलेको हो ।

डोटीको केआईसिंह गाउँपालिकाका ५ वर्षीय बालक र २८ वर्षीय पुरुष तथा दुई वर्षीय बालिका र २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ । यसअघि उनीहरुलाई गौरीगंगा नगरपालिकाको भनिएको थियो ।

संक्रमित व्यक्तिहरुले यसअघि क्वारेन्टिनको ठेगानालाई नै स्थायी ठेगाना दिएकाले त्रुटि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनले भने– ‘डोटीका चार जना पनि कैलालीकै क्वारेन्टिनमा रहेका कारण उनीहरुलाई कैलालीकै ठेगाना दिएका थिए । उपचारका लागि अस्पताल ल्याएपछि उनीहरुको घर डोटी रहेको जानकारी भयो ।’

यसैगरी कैलालीका अन्य संक्रमितको ठेगानमा पनि त्रुटि भएको छ । धनगढीका २५ वर्षीय संक्रमित वडा नम्वर १२ का नभएर वडा नम्वर १० का रहेको खुलेको छ ।

यसअघि गौरीगंगा नगरपालिका वडा नम्वर ७ मा पनि संक्रमित फेला परेको भनिएकोमा अहिले वडा नम्वर २ र ४ मा मात्रै संक्रमित फेला परेको सेती अस्पतालले जानकारी दिएको छ ।

सोमबार कैलालीमा संक्रमण पुष्टि भएका १४ जनालाई सेती अस्पतालमा ल्याईएको छ ।

जेठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्