हिंसात्मक प्रदर्शनले मेरो दाइलाई फिर्ता ल्याउँदैनः जर्ज फ्लोइडका भाइ टेरेन्स

प्रहरी हिरासतमै ज्यान गुमाएका जर्ज फ्लोइडका भाइले प्रदर्शनमा भइरहेका हिंसाले आफ्नो दाइ फिर्ता नआउने भन्दै हिंसा रोक्न अपिल गरेका छन् ।

मिनेशोटाको मिनियापोलस प्रहरी हिरासतमा निहत्था अश्वेत व्यक्ति फ्लोइडको मे २५ मा निधन भएको थियो । उनलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिच्ने प्रहरी अधिकारीलाई पक्राउ गरिएको छ । घाँटी थिचिएकै कारण उनको ज्यान गएको आधिकारिक रिपोर्ट पनि आएको छ।

सामाजिक सञ्जालमा घाँटी थिच्दै गरेको भिडियो सार्वजनिक भएपछि रंगभेद र प्रहरी ज्यादती विरुद्ध अमेरिकाभर विगत एक सातादेखि प्रदर्शन हुँदै आएको छ । केही ठाउँमा प्रदर्शनले हिंसात्मक रुप लिएका छन् ।

लुटपाट, तोडफोड तथा आगजनी भएका छन् । विभिन्न शहरमा अवस्था नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने कर्फ्यू पनि लागु भएको छ ।

पूर्व राष्ट्रपति बाराक ओबामा, राष्ट्रपति उम्मेदवार जो बाइडेनसहितले हिंसात्मक प्रदर्शनको विरोध गरेका छन् र उनीहरुले न्यायको मागलाई समर्थन गरी शान्तिपूर्ण प्रदर्शनका लागि अपिल गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन नियन्त्रणमा लिनका लागि सेना परिचालन गर्ने र आवश्यक सबै प्रयास गर्ने तथा हिंसात्मक प्रदर्शनकारीलाई कडा सजाय गर्ने बताएका छन् ।

यसैबिच जर्ज फ्लोइडका भाइ टेरेन्स फ्लोइडले सोमबार मिनियापोलसमा प्रदर्शन तथा उनका दाइका लागि प्रार्थना गर्न भेला भएकाहरुलाई सम्बोधन गर्दै शान्तिपूर्ण प्रदर्शनका लागि अपिल गरे । उनले हिंसात्मक प्रदर्शन रोक्न आग्रह गरे । त्यहाँ उपस्थितहरुले ‘पिस अन द लेफ्ट, जस्टिस अन द राइट’ नारा लगाए ।

जर्ज फ्लोइडको निधन भएकै ठाउँमा उभिएर टेरेन्सले शान्तिपूर्ण प्रदर्शनका लागि अपिल गरेका हुन् । उनले हिंसात्मक प्रदर्शनले आफ्नो दाइलाई फिर्ता नल्याउने भन्दै रंगभेद विरुद्धको आवाज शान्तिपूर्ण प्रदर्शनमार्फत वुलन्द पार्न सबैसँग आग्रह गरेको एनबिसी न्यूजले जनाएको छ ।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्