कियाको विद्युतीय गाडी बुकिङ गरेकालाई ग्राहकले लकडाउन खुले लगत्तै चलाउन पाउने

काठमाडौँ – नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै उक्त एसयुभी चलाउन पाउने भएका छन् ।

नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको हो।

उक्त गाडीको कन्साइनमेन्ट (खेप) कोरियाबाट नेपालका लागि एक हप्ता अगाडि नै चलान भइसकेको र लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकोले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्ने बित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको छ।

एकपटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने उक्त एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ।

डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा यही पर्ने कम्पनीले विश्वास छ ।

निरो सन् २०१९ को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री सुरु गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको हो ।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्