कोरोनाबाट निधन भएका संगीतकार वाजिद खानकी आमालाई पनि कोरोना संक्रमण

एजेन्सी– बलिउडका चर्चित संगीतकार वाजिद खानको सोमबार ४२ वर्षको उमेरमा निधन भयो। उनको निधनले यतिबेला बलिउड शोकमा छ।

केही समय अघिदेखि उनी मिर्गौलाको समस्याबाट पीडित थिए। यसैबीच कोरोनाको पनि संक्रमण भएपछि खानको निधन भएको बताइएको छ।

अब वाजिद खानकी आमा रजिया खानलाई पनि कोरोना भाइरसको संक्रमण भएको खबर सार्वजनिक भएको छ। यतिबेला उनलाई मुम्बईको चेम्बुरस्थित सुराणा सेठिया अस्पतालमा भर्ना गरिएको छ। वाजिदको पनि उपचारको क्रममा यही अस्पतालमा निधन भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार रजिया खानलाई छोरा वाजिद खानभन्दा पहिले नै कोरोनाको संक्रमण देखिएको थियो। उनी उपचाररत छोराको रेखदेखका लागि अस्पतालमै थिइन्।

उक्त अस्पतालमा अन्य कोरोना संक्रमितहरुको पनि उपचार भइरहेकोले उनमा पनि संक्रमण फैलिएको हुनसक्ने बताइएको छ।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्