रुकुम घटनाबारे गृहमन्त्रीको बिफ्रिङ- अमेरिकामा पनि अझै भेदभाव छ

गृहमन्त्री रामबहादुर थापा।

काठमाडौँ– संसदको कानुन न्याय तथा मानव अधिकार समितिले रुकुम पश्चिमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाहीका लागि सरकारलाई निर्देशन दिएको छ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधीवक्ता अग्निप्रसाद खरेल, गृहसचिव महेश्वर न्यौपाने, आइजीपी ठाकुर प्रसाद ज्ञवाली लगायतलाई बोलाएर घटनाको सत्थ तथ्य छानबिन गर्ने दोषी उपर कारबाहीको निर्देशन दिएको हो ।

समिति बैठकमा गृहमन्त्री बादलले चौरजहारी घटनाप्रति सरकार गम्भीर रहेको बताउँदै दोषीलाई कडा भन्दाकडा कानुनी कारबाहीका लागि प्रतिवद्ध रहेको जानकारी दिए ।

उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने सरकार प्रतिवद्ध रहेको जानकारी दिँदै दोषीलाई कुनै पनि हालमा उम्किन नदिने प्रतिवद्धता जाहेर गरे।

उनले कानुन कडा भए पनि व्यवहारिक र वैचारिक सुधारको आवश्यकता रहेको बताए । गृहमन्त्री बादलले विश्वकै प्रजातान्त्रिक र सभ्य समाज रहेको मानिने अमेरिकामा पनि रंगभेदी व्यवहार जारी रहेको प्रसंगबारे पनि समिति बैठकमा चर्चा गरेका थिए ।

बैठकमा महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले चौरजहारी घटनाको छानबिनमा राजनीतिकरण हुन नदिने बताए । ‘मैले सरकारी वकिल र प्रहरीलाई घटनाबारे कुनै दबाबमूलक फोन आयो भने मेरो नम्बरमा डाइभर्ट गरिदिनू भनेर निर्देशन दिएको छु । दोषीलाई कानुनी कठघरामा उभ्याउने दायित्वमा आंशका गर्नु पर्दैन’, खरेलले भने ।

उनले घटनाको छानबिन र अनुसन्धान भइरहेका बेला युट्युवमार्फत सार्ववजनिक भइरहेका भिडियो सामग्रीबारे आपत्ति प्रकट गरे । ‘घटनाको अनुसन्धानलाई नै प्रभावित हुने गरी भिडियो सामग्री पस्कने क्रम चलिरहेको छ, भिडियोमा आइरहेको तथ्य अनुसन्धानको क्रममा गलत देखिएका छन्’, उनले भने ।

आइजीपीको ज्ञवालीले घटनाको छानबिनका लागि प्रहरी टोलीले काम गरिरहेको जानकारी दिए । सांसदहरुले चौरजहारी घटनाको राजनीतिकरण हुन सक्ने र दोषीलाई उम्काउने खेल चलिरहेको आशंका गर्दै खबरदारी गरेका थिए ।

जेठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्