जीवन बदल्ने सत्सङ्ग सन्ध्या

यतिबेला संसार भरिका मान्छेले तीव्रताका साथ खोजिरहेको कुरा के हो ? भनेर कसैले सोध्यो भने जोकसैले पनि सजिलै भनिदिन्छ : कोरोना बिरुद्धको खोप अथवा कोरोनाको औषधी । हो, सामन्यरूपबाट हेर्दा यो जवाफमा वास्तवमै सत्यता छ । जुन रोगका कारण संसारभरि आर्तनादको कहाली—लाग्दो स्वर गुञ्जिरहेको छ, त्यही रोगविरुद्ध औषधी नखोज्ने को हो ला र ? तर, कोरोनाले निम्त्याएको रोगले अर्को एक डरलाग्दो परिस्थतिलाई पनि सँगसँगै निम्तो दिइरहेको छ, जसले निकट भविष्यमा नै एउटा डरलाग्दो रूप लिने निश्चित छ, त्यो हो: मानसिक तनाव अथवा छटपटी ।

यतिबेला प्रत्येक मानिस छटपटिएको छ, अतालिएको छ । निराशाका कहालीलाग्दो बादल आँखाअगाडि मडारिरहेको महसुस गरिरहेको छ । यतिबेला मनोचिकित्सकहरू भनिरहेका छन्, यदि यो समयमा सबैलाई राम्रोसँग काउन्सिलिङ गर्न सकिएन भने यसले भबिष्यमा दिने नतिजा भयावह हुन सक्छ । यही कोरोनारूपी कहरको बीचमा सञ्चालन भएको सत्सङ्ग सन्ध्याले कहरका बीचमा मनोचिकित्सकलेझैँ धेरै मनहरूमा शीतलता प्रदान गर्नुका साथै अफ्ठ्यारोका बीचबाट पनि कसरी जीवन ज्योति बालिरहने भन्ने ज्ञान प्रदान गरेको छ ।

सत्सङ्ग प्रतिष्ठान नेपाल, देबघाटधामद्वारा हरेक बेलुकी ८ः३० बजेबाट १० बजेसम्म जुम एप्स मार्फत सञ्चालन हुने यस कार्यक्रमका सञ्चालक एक जना अत्यन्त सरल तर सुन्दर हृदय भएका साधक आचार्य लक्ष्मण भण्डारी हुनुहुन्छ । आचार्य लक्ष्मण प्रतिष्ठानका संस्थापक एवम् अध्यक्ष हुनुहुन्छ । वैशाख १ गतेबाट सुरु भएर अविच्छिन्न रूपमा सञ्चालन हुँदै आएकोे यस कार्यक्रमले आजै अर्थात् जेठ २० गते आफ्नो कार्यक्रमको स्वर्ण शृङ्खला मनाउँदै छ । कार्यक्रमको सुरुआती समयमा केही साथीहरूका बीचमा कोरोना कहरबीच सुरु भएको लकडाउनमा रहँदाका अनुभव साटासाटबाट सुरु भएको कार्यक्रमको लोकप्रियता दिन—प्रतिदिन चुलिँदै गएको छ । खासगरी, विभिन्न क्षेत्रमा आफ्नो विशेषज्ञता हासिल गरेका एकजना विशिष्ट, सर्वस्वीकार्य, उदाहरणीय र प्रेरक व्यक्तित्वको प्रवचन सुन्ने र अन्तरक्रिया गर्ने यो कार्यक्रम सरसर्ती हेर्दा पूर्णतः आध्यात्मिक कार्यकमजस्तो देखिए पनि यसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले आफ्नो ज्ञानरूपी जलले धेरैको तिर्खा मेटाउनुभएको छ ।

कार्यक्रममा चर्चित आध्यात्मिक व्यक्तित्व चिन्तामणि योगीदेखि लिएर, जनवादी गायक जीवन शर्मा, वरिष्ठ आयुर्वेदज्ञ तथा शिक्षा मन्त्री डा.मोदनाथ प्रश्रित, सन्त नेता चित्रवहादुर के.सी, चर्चित अध्यात्म गायिका एवम् बुद्ध भिक्षुणी आनी छोइङ डोल्मा, युवा अद्भुत वक्ता रमेश प्रसाईँ ,बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा, आयुर्वेद अध्ययन संस्थानका डिन प्रा.डा.सञ्जय प्रोख्रेल, इस्कन नेपालका महासचिव जीवनशैली प्रशिक्षक रूपेश्वर गौर दास, चर्चित मानवसेवी रामजी अधिकारी, प्राकृतिक चिकित्साविद् डा. हरिप्रसाद पोखरेल, विशिष्ट विद्वान् प्रा.डा.जगमान गुरुङ, वरिष्ठ साधक एवम् प्रशिक्षक ब्रह्मकुमार विजयकुमार सिग्देलका दिव्य प्रवचन र प्रश्नोत्तर सम्पन्न भएका छन् ।

त्यस्तै, सुपरिचित उत्प्रेरक वक्ता ब्रह्मकुमार रमणकुमार भट्टराई, ऋषिपथ अन्तर्राष्ट्रिय प्रतिष्ठानका संस्थापक अध्यक्ष आचार्य डा.महेशानन्द विद्यालङ्कार, अमेरिकी साधक एवम् लेखक चिप विलियम, वरिष्ठ आहारविद् डा. अरुणा उप्रेती, जीवन विज्ञानका श्रज्ञेय गुरुद्वय एलपि भानु शर्मा र रमेश नेपाल, वरिष्ठ लेखक बुद्ध दर्शनका अध्येता डा.नेत्र आचार्यले पनि कार्यक्रममा सहभागीहरूलाई प्रेरित गर्ने अहो जिम्मेवारी निर्वहन गर्नुभएको छ ।

प्रसिद्ध उत्प्रेरक वक्ता रविन कटवाल, चर्चित आध्यात्मिक व्यक्तित्व चैतन्यकृष्ण, वरिष्ठ हास्यकलाकार मनोज गजुरेल, दर्शनशास्त्री डा.गोबिन्दशरण उपाध्याय, योगी प्राकृतिक चिकित्सक डा. हेमराज कोइराला, जरोकिलो अभिायनका संस्थापक डा.निर्मलमणि अधिकारी, विश्वप्रसिद्ध लेखक सलील ज्ञवाली, प्रसिद्ध साइबर सुरक्षाबिद् डा.रामहरी सुवेदी, वरिष्ठ लेखक तथा उत्प्रेरक डा. राजुअधिकारीले प्रस्तुत गर्नुभएका विचारहरूले सबै सहभागीहरूका बीचमा गहिरो छाप छोडेका छन् ।

विशिष्ट साधक तथा ध्यान शिक्षक दीपककुमार शर्मा, प्रा.डा.बाबुराम ज्ञवाली, योग चर्चित युवा अध्यात्म गुरु एवम् उत्प्रेरक पवन नेपाल, प्रा.डा. तुलसी धरेल सम्मका प्रभावशाली व्यक्तिहरूले जीवनमूल्य, आनन्द र कर्तव्यका बारेमा आ—आफ्ना गहन अनुभूति साट्नुभएको छ ।

यसैबीच, कार्यक्रमको ४८ औँ शृङ्खलामा देबघाटले जन्माएर राष्ट्रिय स्तरमा नै आफ्नो पहिचान बनाउन सफल होनाहार आठ जना राष्ट्रिय कविहरूका सत्सङ्गमूलक काव्य गोष्ठी समेत सम्पन्न भएको छ ।

सास र भावनाको गहिरो सम्बन्ध छ । ८० प्रतिशत भन्दा बढी विकार तत्त्व हामी सासका माध्यमबाट बाहिर फ्याँक्छौँ । सासबाट ऊर्जाशक्ति प्राप्त हुन्छ । त्यो ऊर्जा अर्थात् प्राण—शक्तिलाई ऊर्जा दिने कामलाई प्रणायाम भनिन्छ । यतिबेला यस्तो खालको विचार, चेतना र ज्ञानको आवश्यकता सम्पूर्ण मानव जातिलाई छ ।

आयुर्वेद, ध्यान, योग, मनोविज्ञान, जडीबूटी विज्ञान, खानपान, जीवनशैली, दर्शनशास्त्र, प्राकृतिक चिकित्सा, पूर्वीय सभ्यता, प्रबिधि, अध्यात्म चिन्तन, जीवन जिउने कला, गीतसङ्गीत, हाम्रो भान्सा, हाम्रो भोजन, तनाव व्यवस्थापनजस्ता अत्यन्त उपयोगी विषयमा गरिएको सत्सङ्गले त्यसमा भाग लिन पाउने सबैलाई जीवनको नयाँ मार्गदर्शन गरिदिएको महसुस भएको छ । त्यस सत्सङ्गमा भाग लिने सहभागी व्यक्तिहरू पनि अत्यन्तै विशिष्ट क्षेत्रका लब्धप्रतिष्ठ र प्राज्ञिक खालका रहने गर्नुभएको छ । खासगरी, प्राध्यापक, लेखक, कवि, चिकित्सक, योग साधक, शिक्षक आदि विभिन्न क्षेत्रका व्यक्तित्वहरूले भाग लिने यो कार्यक्रममा सङ्कटको बीचमा पनि आफूलाई कसरी स्वस्थ्य राख्ने ? कसरी सहज राख्ने ? कसरी दिनचर्या र जीवनशैलीलाई अगाडि बढाउने भन्ने बिषयमा एउटा सुन्दर बाटो तय गरिदिएको छ ।

यो कोरोनाको गर्मीबीच सत्सङ्गको शीतल छाहारीमा धेरै मनहरू शीतल खोज्दै बिसाइ फेर्न आइपुग्दछन् । राती सुत्ने बेलामा गरिएको यस्तो सत्सङ्गले मनमा सकारात्मक ऊर्जा दिन्छ र हामी मिठो निद्रा निदाउन पुग्छौँ, जसको अभावमा आज पनि लाखौँ मान्छे छटपटाइरहेका छन् । त्यसैले पनि यो बिधि बैज्ञानिक छ ।

कान्तिपुर दैनिकसँग आवद्ध एक जना पत्रकार तथा लेखक घनश्याम खड्का फेसबुकमा लेख्नुुहुन्छ ‘हतास भएर आत्महत्या गर्नेहरू दिनमा १६ जना, अहिलेसम्म कोरोनाले मारेको जम्मा ८ जना । सायद हामीलाई मनको बाघले खाइरहेको छ ।’ यही भनाइलाई आधार मान्ने हो भने पनि हाम्रो मनको बाघ यसरी जनजनमा बसेको छ कि यसले हाम्रो आत्मविश्वासलाई कुनै पनि बेला डस्न सक्छ ।

हिजो मात्रै मैले एकजना ७० बर्षे आमासँग कुराकानी गरेकी थिएँ । उहाँ भन्दै हुनुहुन्थ्योः हरेक दिन बेलुका सुत्दा म भगवानलाई भन्छु, हे भगवान् ! मलाई कोरोनाबाट भोलि बिहानसम्म बचाऊ, जतिबेला पनि कोरोनाबाट मर्छु कि झैँ हुन्छ । केटाकेटी सबै विदेश छन् । घरी तिनीहरू मर्छन् कि भन्ने चिन्ता लाग्छ त घरी तिनलाई देख्न नपाई आफैँ मर्छु कि झैँ लाग्छ । हातगोडा फतक्क गल्छ । मुटु ढुकढुक हुन्छ । यो अरु केही नभएर मनको रोग मात्रै हो ।

यो मनोदशा यतिबेला प्रत्येक व्यक्तिको छ । त्यसैले, यसै कार्यक्रममा हाल अमेरिकामा रहनुभएका सुपरिचित लेखक डा.राजु अधिकारी भन्नुहन्छ, ‘जब सबै औषधीले काम गर्न छोड्छन्, त्यतिबेला काम गर्ने एकमात्र औषधी छ, त्यो हो: मनौषधी अर्थात् मनको औषधी । सत्सङ्ग प्रतिष्थान नेपाल, देवघाटले जुम प्रविधिमार्फत् सञ्चालन गरिरहेको सत्सङ्ग सन्ध्या आज हरेक सहभागीका लागि त्यस्तै औषधी बनेको छ ।

योग साधक एवम् प्रशिक्षक पवन नेपाल भन्नुहुन्छ, ‘सास र भावनाको गहिरो सम्बन्ध छ । ८० प्रतिशत भन्दा बढी विकार तत्त्व हामी सासका माध्यमबाट बाहिर फ्याँक्छौँ । सासबाट ऊर्जाशक्ति प्राप्त हुन्छ । त्यो ऊर्जा अर्थात् प्राण—शक्तिलाई ऊर्जा दिने कामलाई प्रणायाम भनिन्छ । यतिबेला यस्तो खालको विचार, चेतना र ज्ञानको आवश्यकता सम्पूर्ण मानव जातिलाई छ ।

यस्ता अत्यन्त विशिष्ट र वरिष्ठ व्यक्तित्वहरूको प्रवचन श्रवणले मात्रै पनि जीवनमा उज्यालो अनुभूति हुँदोरहेछ । ज्ञानी र सत्सङ्गी मनहरूबीच गरिने यो कार्यक्रम सबैको एउटा साझा चौतारीजस्तो भएको छ, जहाँ आएर सबैले निःशुल्क सत्सङ्ग गर्न पाउँछन् । यति राम्रो कार्यक्रमको संयोजन गरेर हामीबीच पु¥याइदिने सत्सङ्ग प्रतिष्ठान नेपालका अध्यक्ष एवम् सत्सङ्ग सन्ध्याका सञ्चालक आदरणीय लक्ष्मण भण्डारीज्यूप्रति धन्यवादको फूल जति वर्षाए पनि कम हुन्छ ।

‘प्रकृति एउटा खुला किताब रहेछ, जसले जे चाह्यो, त्यही लिन सक्छ । कसैलाई फूल चाहिए जतातै फूलको बगान छ । काडाँ चाहिए काँडा नै काँडा छ । पीडा चाहिए जताततै पीडा नै पीडा छ । खुसी खोजे हरेक पल खुसीले भरिएको छ । रहस्य खोजे प्रकृति जति रहस्यमय कोही छैन । हरेक पात—पतिङ्गर फरक खालका छन् । फरक बिशेषता भएका छन् । हरेक फलफूलमा आफ्नै स्वाद छ, बिशेषता छ ।

बोटबिरुवा पात—पतिङ्गर पनि हामीजस्तै जन्मन्छन्, हुर्कन्छन्, फल फलाउँछन्, फूलेर ढकमक्क हुन्छन् र अन्तमा ओइलाएर झर्छन् । अझै रमाइलो त के छ भने जसरी मानिसको औँठाको छाप र अनुहार कसैसँग मिल्दैन, त्यसैगरी, प्रत्येक बोट—बिरुवाहरु पनि फरक—फरक स्वभावका छन् । रहस्यको पर्दा जति तान्यो, त्यति ढाकिँदै जान्छ । त्यसैले, प्रकृतिले आफुलाई खुला छोडिदिएको छ : तिमी आफूलाई जे चाह्यौ, त्यो लिन सक्छौ’—मैले यो कार्यक्रमबाट सिकेको अर्को ज्ञान हो, यो ।

मैले करिब ९० प्रतिशत कार्यक्रममा सहभागिता जनाउने सौभाग्य पाएकी छु । सत्सङ्ग सन्ध्यामा सहभागी भएपछिको आफ्नै अनुभव अलिकति भन्न मन लागेको छ ।
जीवन आफ्नै गतिमा चल्दै थियो । त्यस्तो नयाँ केही थिएन । रोगलागे अस्पताल थियो । मिठो खाना खान मन लागे हामीले तयार गरेका अनेक खालका खाने कुरा हरू थिए ।

बजारबाट टप्प टिप्यो, ल्यायो खायो । एउटा गृहस्थ जिन्दगी थियो । साथमा कहिले रिसायो, कहिले खुसी भयो । आफन्त—इष्टमित्रसँग बेतुकका बिषयमा भलाकुसारी गर्‍यो, मन आत्तिएको कुरा गर्‍यो। बस्, त्यति मात्रै । अरु विशेष केही थिएन । न त जीवनको मूल्य थाहा थियो, न त आत्मज्ञान । अनेक प्रकारका समाचार सुन्यो, छटपटी बढायो, रात पर्‍यो, सुतिदियो अनि बिहान भयो, उठिदियो ।

यसरी सञ्चालन भएको एक प्रकारको अस्तव्यस्त जिन्दगीले यही कार्यक्रमपछि विश्राम पाएको छ, शान्ति महसुस गरेको छ । कार्यक्रम अवधिभर नेपथ्यमा बसेर सुनिरहँदा यस्तो लाग्यो, साँच्चै जीवनमा धेरै कुरा जान्न बाँकी रहेछ, धेरै कुरा छोड्न बाँकी रहेछ अनि धेरै कुरा ग्रहण गर्न बाँकी रहेछ । अब कुनै पनि कुरा खानको लागि तयार हुनुभन्दा अघि ,कुनै काम गर्नुभन्दा अघि अनि कुनै बिषयमा प्रतिक्रिया दिनुभन्दा अघि अलिकति सोच्ने थालेकी छु । कोरोना कहरबीच पनि हृदयमा खुसी फुलेको छ, अर्थात् मेरा धेरै आनीबानीहरू परिवर्तन भएका छन् । म त बदलिएँ, तपाई पनि बदलिन मन छ भने कार्यक्रममा जोडिनुस्, विलम्ब नगर्नुस् ।

जेठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्