दुई लाखमा किनेको जग्गा केही दिनमै १ करोड ६८ लाखमा बिक्री!

काठमाडौँ – अकुत सम्पत्ति आर्जनमा संलग्न व्यक्तिले अवैध आम्दानीलाई कसरी वैध बनाउने प्रयास गर्छन् भन्ने रोचक तथ्य फेला परेको छ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका क्रममा मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकालले अवैध आम्दानीलाई वैधानिक बनाउन एक लाख ९७ हजारमा किनेको जग्गा केही दिनमै १ करोड ६८ लामा बिक्री गरेको तथ्य फेला पारेको हो।

२०५४ सालमा अस्थायी शिक्षकका रुपमा सार्वजनिक सेवा प्रवेश गरेर हाल मातपोत अधिकृत रहेका ढकालले गत वर्ष असारसम्म १० करोड २७ लाख ५८ हजार रुपैयाँ अवैध आर्जन गरेको फेला परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अवैध आम्दानी फेला परेपछि अख्तियारले मंगलबार ढकालविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनी २०५५ असोज १६ गते नासु सेवामा प्रवेश गरेका तनहुँ, कास्की, डिल्लिबजार काठमाण्डौ, पर्सा मालपोत कार्यालयमा काम गरी हाल लगनखेल, ललितपुरमा कार्यरत थिए।

आयोगले अनुसन्धानका क्रममा ढकालले सालीको नाममा सवारी साधन खरिद गरेको र जेठान नाताका नवराज अर्यालका नाममा जनता बैकमा खाता खोली कारोबार गरेको पाइएको जनाएको छ।

आफ्नै परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा संचालित खाताबाट कारोबार नगरी अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैकमा नयाँ खाता खोली उक्त खाता खोलेकै दिनदेखि करोडै रुपैयाँको कारोबार गर्दै आएको तथ्य फेला परेको कोइरालाले जानकारी दिए।

उक्त खाताबाट उनले चार करोड २६ लाख ९९ हजार रुपैयाँ कारोबारसमेत गरेको देखिन आएको छ। ढकालले आफू तनहुँ मालपोत कार्यालयमा कार्यरत रहँदा डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी निज र निजको श्रीमतीसमेतका नाममा दर्ता कायम रहेका जग्गा कुनै किसिमको खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी आफ्नो नाममा ल्याएको पाइएको आयोगले जनाएको छ।

ढकालले उक्त जग्गाहरु डेकबहादुर गुरुङ्ग, उनीकी श्रीमती, गुरुङ्गका सहोदर दिदी, भिनाजु र बहिनीलाई हुँदै नभएको खरिद बिक्री कारोवारमा एक लाख ९७ हजार को लगानीमा लगानीको केही दिन र महिनाको अन्तरालमै एक करोड ६८ लाख आर्जन गरेको देखाएको आयोगले जनाएको छ।

ढकालले सेवा अवधिमा १४ करोड ५३ लाख ८२ हजार चार सय ९८ आर्जन गरेको र जसमध्ये वैधानिक आम्दानी चार करोड २६ लाख २४ हजार ३७ रुपैया) आय आर्जन गरेको अनुसन्धानबाट खुलेको छ।

जसअनुसार उनले सेवामा रहँदा दश करोड २७ लाख ५८ हजार चार सय ६१ रुपैयाँ अवैध आम्दानी गरेका हुन्।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्