दाङमा थपिएका आठ जना कोरोना संक्रमितमध्ये दुई जनालाई नेपालगञ्ज लगियो

दाङ– दाङमा कोरोना अस्पतालमा बेड अभाव भएपछि मंगलबार संक्रमण पुष्टि भएका आठ जनामध्ये दुई जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ। बाँकी ६ जनालाई आइसोलेसनमा भर्ना गर्न सकिएको छैन।

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जना कोरोना संक्रमितलाई अबेर मात्रै नेपालगञ्ज लगिएको हो।

बंगलाचुली गाउँपालिकाका ६ जना संक्रमितलाई झुलीडाँडा क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा संयोजक भगत केसीले बताए।

‘बेल्झुण्डीमा आग्रह गरिरहेका छौँ। केही जानकारी आएको छैन’, उनले भने, ‘हामीले गाउँपालिकामा बनाएको आइसोलेसन वार्ड मापदण्ड अनुसार पुग्दैन। वडा अध्यक्षसहित संक्रमित अहिले क्वारेन्टाइनमा हुनुहुन्छ।’

दाङमा कोरोना विशेष अस्पताल छ। यहाँ सबै बेड भरिएपछि संक्रमितको उपचार प्रभावित भएको छ। कोरोना विशेष अस्पतालमा अहिले ५० जना संक्रमितको उपचार भइरहेको छ। अहिलेसम्म दाङमा ५१ जना संक्रमित पुगेका छन्।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्